काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा अबको छ महिनापछि सेवानिवृत्त हुन घर बिदामा बस्नेछन् । उनको बितेको कार्यकाल सेनाभित्र आन्तरिक शुद्धिकरणमा महत्वपूर्ण छलाङका रुपमा लिइएको छ । जर्नेल कर्णेलहरु पनि अनियमिताको कारबाहीमा परे । तर, पछिल्लो समय ठुला ठेक्कापट्टामा सेना विवादमा मुछिएपछि थापालाई दाग लगाउने गतिविधिहरु खुलेको छ ।
नेपाली सेनाले निर्माण व्यवस्थापनको जिम्मेवारी पाएको फाष्ट ट्रयाकमा निकै विवादास्पद कदमहरु चालिएको छर्लङ्ग हुँदै गएको छ । ठेक्कामा कानुनको छिद्र दुरुपयोग गर्दै योजनावद्ध तरिकाले चिनियाँ कम्पनीलाई नै काठमाडौं तराई मधेश द्रुतमार्गको निर्माणको जिम्मा लगाउने कदम चालिएको छ । त्यसका लागि प्रारम्भिक छनोट प्रक्रिया पूरा गर्दा नै गडबड देखिएको छ । ४ फागुनमा हतार हतार टेन्डर आव्हान गरिएको छ । द्रुतमार्गको तीन वटा सुरुङमार्गलाई दुईवटा प्याकेजमा ठेक्का आव्हान भएको हो ।
सेनाले ४ फागुनमा गोरखापत्रमा सूचना प्रकाशित गरी ठेक्का आव्हान गरिएको छ । जसमा प्रि क्वालिफाइड अर्थात् प्रारम्भिक छनोट भइसकेका कम्पनिहरुले मात्र प्रतिष्पर्धा गर्न पाउने उल्लेख छ । पहिलो ठेक्का अन्र्तगत चोक्रेडाँडा देखि धेद्रेखोला खण्डको दुई लेन एक्सप्रेस सुरुङमार्ग, पुलको निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ लिमिटेड, चीन र पोलि चाङ्डा इन्जिनियरिङ कम्पनि लिमिटेड, चीनले मात्र प्रतिष्पर्धा गर्न पाउनेछन् । यसैगरी, दोस्रो नम्बरको टेन्डरमा धेद्रेखोलादेखि लानेडाँडा खण्डको दुई लेन एक्सप्रेस सुरुङमार्ग, पुलको निर्माणका लागि पोलि चाङडा इन्जिनियरिङ कम्पनि लिमिटेड, चाइना मात्र प्रतिष्पर्धी रहेको छ । यसको अर्थ पोलि चाङ्डाले दुई वा एक खण्डको ठेक्का निश्चित रुपमा पाउने गरी योजनावद्ध तरिकाले सेटिङ भएको छ ।
बुधबार राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा फाष्ट ट्रयाकको ठेक्का प्रक्रियाको प्रारम्भिक छनोटको विषयमा रक्षा मन्त्रालय र नेपाली सेनालाई पत्र काटी बोलाइएको अवस्थामा त्यसको अघिल्लो दिन नै ठेक्का आव्हान गरियो । प्रारम्भिक छनोट प्रक्रियामा प्रतिष्पर्धी अन्य कम्पनीलाई असफल बनाएर वित्तिय प्रस्तावमा बढी मुनाफा आउने गरी सजिलो बनाइएको छ । प्रतिष्पर्धी अन्य कम्पनीलाई योजनावद्ध तरिकाले प्रारम्भिक छनोटमा समेत असफल बनाएर चिनियाँ कम्पनी निश्चित रुपमा छनोट हुने अवस्था बनाइएको थियो । बुधबार ठेक्का आव्हान गरेबाट यसमा सेटिङ भएको खुलेको छ ।
यसअघि खोजतलासले चिनियाँ कम्पनिलाई योजनावद्ध तरिकाले ठेक्का दिलाउन खोजिएको खुलासा गरेको थियो । चिनियाँ सेनासँग नजिक रहेर काम गर्ने पोली चाङडाले फाष्ट ट्रयाकको ठेक्का पाउने गरी सुनिश्चित गराउनुले राष्ट्रिय अन्तर्राष्ट्रिय चासो बढेको छ । रणनीतिक महत्वको सडकमा चिनियाँ सेना नजिकको कम्पनीलाई प्रवेश दिलाउन खोज्नुले सामरिक विषय उठेको छ । चिनियाँ कम्पनिलाई प्रारम्भिक छनोटमा पारेर अन्य कम्पनिलाई अयोग्य बनाउनुभित्र ठुलो स्वार्थ देखिन्छ । यसमा ऐनको छिद्रबाट काम गरिएको छ । नेपालको सार्वजनिक खरिद ऐन बमोजिम ठेक्का स्वीकृत गर्दा वित्तिय रुपमा सबैभन्दा कम प्रस्ताव गर्नेलाई ठेक्का दिनुपर्ने प्रावधान छ । यो प्रावधानलाई छल्न शुरुदेखि नै सेटिङ गर्दै ठेक्का मिलाउने गतिविधि चलेको छ ।
यसैगरी, सेनाले फाष्ट ट्रयाकको जिम्मा दिन लागेको दुवै चिनियाँ कम्पनिहरुले नेपालमा गरेको कामहरुबारे प्रश्न उठेको छ । उनीहरुमध्ये चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङले पोखरा बुटवल राजमार्गमा काम शुरु गरेको दुई वर्ष भइसक्दा पनि १० प्रतिशत पनि काम पूरा गर्न सकेको छैन । प्रारम्भिक छनोट भई टेन्डर आव्हानमा नामसहित उल्लेख गरिएका दुवै कम्पनि २०७५ मा प्रारम्भिक छनोटको चरणमा समेत प्रवेश गर्न सकेका थिएनन् । तर, उक्त ठेक्का प्रक्रिया रद्द गरिएको थियो । त्यसपछि नयाँ प्रक्रिया अन्र्तगत चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ लिमिटेड र पोलि चाङ्डा इन्जिनियरिङ कम्पनि लिमिटेडलाई ठेक्का पार्न सेटिङमै काम भएको देखिन्छ ।
फाष्ट ट्रयाकको प्याकेज १ र प्याकेज २ मा टेन्डर आव्हान गर्दा पहिलोमा २१ र दोस्रोमा २२ कम्पनिले प्रतिष्पर्धामा भाग लिएका थिए । तर, प्याकेज १ को सुरुङ निर्माणमा १९ वटा नाम चलेका कम्पनिहरु फालिए । यसबाट पनि प्रतिष्पर्धाविहिनताको अवस्था बनाएर कम्पनीलाई नियोजित रुपमा फाइदा दिलाएर राज्यलाई अरबौंको नोक्शानी पु¥याउन खोजिएको बुझ्न सकिन्छ । ५० अर्बको ठेक्कामा राज्यलाई अरबौंको नोक्शान पुग्ने देखिन्छ । ७२.६ किलोमिटर प्रस्तावित राष्ट्रिय गौरवको काठमाडौं तराई मधेश द्रुत मार्गमा ठेक्का प्रक्रियाका कारण सेना विवादमा तानिदै आएको छ ।
सेनाले १० पौषमा सुचना प्रकाशित गरी दुई चिनियाँ कम्पनिमात्र प्रारम्भिक छनोटमा योग्य भएको उल्लेख गरेको थियो । फाष्ट ट्रयाकको पहिलो चरणको निर्माण खर्च २५ अर्ब पर्ने अनुमान गरिएको छ । दोस्रो चरणको निर्माण खर्च २१ अर्ब लागत अनुमान गरिएको छ । दोस्रो चरणको ट्रयाकमा दुई लेनको सुरुङ, पाँच पुलहरु र चार लेन सडक छन् ।
नेपालमा खुल्दैछ भाजपा निकट हिन्दुवादी दल
काठमाडौं । विचारधारा हिन्दुवाद या हिन्दुत्व, उद्देश्य नेपाललाई हिन्दु राष्ट्र बनाउने, संगठन देशव्यापी योजनावद्ध तरिकाले देशभित्र हिन्दुवादी दल खुल्न लागिएको छ । उक्त दल भारतको सत्तारुढ भारतीय जनता पार्टीसँग नजिक रहने बुझिएको छ । विशेषगरी भाजपाको आधारस्तम्भ मानिने हिन्दुवादी राष्ट्रिय स्वयंसेवक संघसँग नयाँ खुल्न लागेको हिन्दुवादी दलको निकटता रहेको छ । उनीहरु देशभर संगठन बनाएर सक्रिय हुँदै आएका छन् ।
नेपालमा धर्मनीरपेक्ष घोषणा भएपछि हिन्दुवादी दल स्थापनाको लामो गृहकार्य हुँदै आएको विश्वस्त स्रोतले खोजतलासलाई बताएको छ । उनीहरु दुरदराजको गाउँसम्म पुगेर संगठन विस्तार गरेका छन् । धर्म, संस्कृति र राष्ट्रियताको मुद्दामा केन्द्रित रही संगठित हुँदै आएपनि राजनीतिक उद्देश्य विस्तारै खुलेको छ । अब उनीहरु निकट भविष्यमै पार्टीका रुपमा सार्वजनिक हुने तयारीमा छन् । विगतमा माओवादीले १० वर्ष भूमिगत भएर जनयुद्ध लडेको शैलीमा हिन्दुवादी दल खोल्न सक्रियहरु शान्तिपूर्ण तरिकाले सक्रिय थिए । विना हल्लाखल्ला संगठन विस्तारमा लागेका थिए । परिणामत संगठन देशव्यापी भई पकड बलियो रहेको निष्कर्षमा पुगेपछि निकट भविष्यमै पार्टी खोल्ने तयारीमा लागेका छन् । उनीहरुले धर्मको मुद्दालाई नै केन्द्रमा राखेर अगाडि बढ्ने नीति लिएको बुझिएको छ ।
यतिबेला देशमा धर्म संस्कृतिको मुद्दा जोडतोडले उठिरहेको छ । संविधानसभाले बनाएको संविधानमा नेपाल धर्मनीरपेक्ष उल्लेख छ । यसप्रति हिन्दुवादीहरुले असन्तुष्टि जनाउँदै आएका छन् । यही असन्तुष्टिले हिन्दुवादीहरुलाई दल खोल्ने ऊर्जा मिलेको बताइएको छ । भारतमा हिन्दुवादी पहिचान बोकेको भारतीय जनता पार्टी सत्तामा रहेको छ । यही अवस्थामा भाजपा निकट रहेर दल खोल्ने पहल हुनुलाई अर्थपूर्ण मानिएको छ । यो दलमा ठुलो संख्यामा युवाहरुको सहभागिता रहने बुझिएको छ ।
देशभर संगठन रहने गरी सनातन धर्म संस्कृतिको मुल मुद्दा रहने गरी खोल्ने पहल भइरहेको दललाई भारतीय जनता पार्टीको पनि सद्भाव रहने बुझिएको छ । तर, नयाँ खुल्न लागेको दल भारतभित्र नभई नेपालमै जन्मने बुझिएको छ । यो दल हिन्दुवादी विचारधाराबाट प्रभावित भई राष्ट्रवादलाई मुद्दा बनाएर चल्ने बुझिएको छ । धर्म, संस्कृति र राष्ट्रवादप्रति चिन्तनशील युवाहरुको ठुलो समूह दलमा रहने विश्वस्त स्रोतले जनाएको छ । उनीहरुले समाजका विभिन्न तह र तप्काका व्यक्तिहरुको समेत साथ रहेको बुझिएको छ ।
नेपालमा भाजपा निकट रहने हिन्दुवादी दल स्थापना हुन लागेको खुलासा विप्लव कुमार देवले गरेका छन् । उनी भाजपाका प्रभावशाली नेता हुन् र भारतको त्रिपुरा राज्यका मुख्यमन्त्रीका रुपमा रहेका छन् । विप्लवले भारतका गृहमन्त्री अमित साहले नेपाल र श्रीलंकामा भारतीय जनता पार्टीको सरकार गठन गर्ने बताएको विषयबारे बोलेका छन् । शनिबार रवीन्द्र सतवार्षिक भवनमा पार्टीको आन्तरिक बैठकमा भारतका गृहमन्त्री साहले नेपाल र श्रीलंकामा पार्टीको संगठन विस्तार गरी सरकार गठन गर्नुपर्ने विषयबारे बोलेको देवको भनाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन् । भाजपाको उत्तरपूर्वी क्षेत्रका सचिव अजय जम्वालले राज्य सरकारको अतिथि गृहमा कुराकानीका क्रममा भारतका अधिकांश राज्यहरुमा भाजपाले सरकार गठन गरेको उल्लेख गर्दा देवले साहको भनाई उदृत गर्दै अब श्रीलंका र नेपाल बाँकी रहेको । हामीले श्रीलंका र नेपालमा पार्टी विस्तार गर्दै सरकार गठन गर्नुपर्छ भनेको समाचारमा उल्लेख छ । विप्लव देवको भनाईले निकै अर्थ राखेको छ । उनले नेपालमा भाजपा निकट रहने दल खुल्न लागेको पुष्टि हुनेगरी बोलेका छन् ।
यसैगरी, विप्लव देवको बोलीप्रति कँग्रेस आई र भारतीय कम्युनिस्ट पार्टीले आपत्ति जनाएका छन । उनीहरुले यसबारे स्पष्ट पार्टी भाजपालाई भनेका छन् । नेपालले पनि यसबारे भारतीय पक्षसँग धारणा मागेको छ । तर, अमित शाहले नेपालमा भाजपा निकट रहने गरी दल खोल्ने र त्यो शासनसत्तामा पनि पुग्ने विषयबारे आन्तरिक बैठकमा बोलेको बुझिएको छ । सूचना चुहिएपछि नेपाली राजनीतिमा तरंग आएको छ ।
कुन दल कहाँ खुले
देशमा भारतीय जनता पार्टी निकट रहने दल खोल्ने तयारी हुनुमा विगतको अभ्यासले पनि भुमिका खेलेको छ । अहिलेका प्रमुख दल नेपाली काँग्रेस र नेपाल कम्युनिस्ट पार्टी भारतका दलहरुबाट प्रभावित भई भारतमै जन्मिएका थिए । समाजवादी विचारधाराबाट प्रभावित भई नेपाली काँग्रेसको जन्म भारतको बनारसमा भएको थियो । वीपी कोइरालाले २०१६ को असोजमा पटनाबाट प्रकाशित हुने द सर्च लाइट पत्रिका मार्फत भारतमा रहेका नेपालीहरुलाई संगठित गर्ने उद्देश्यले नेपालीहरुको अखिल भारतीय संगठन निर्माणका निम्ति गरेको आव्हानबाट काँग्रेसको जन्मको प्रारम्भ भएको पाइन्छ ।
१५ कात्तिक २००३ मा बनारसमा बस्ने नेपालीहरुलाई संगठित गरी देविप्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस बनारसमा स्थापना भएको थियो । पछि काँग्रेसको नेतृत्व वीपी कोइरालाले गरेका थिए । भारतको स्वतन्त्रता संग्रामका दौरान त्यहाँको परिवर्तनका लागि सक्रिय नेपाली युवाहरुले काँग्रेसको स्थापना गरेका थिए । जयप्रकाश नारायण, राम मनोहर लोहिया जस्ता समाजवादी विचारक नेताबाट प्रभावित भई काँग्रेसको स्थापना भएको थियो ।
यसैगरी, १० बैशाख २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भारतको कलकत्तास्थित श्यामबजारमा भएको थियो । पुष्पलाल श्रेष्ठ, निरञ्जन गोविन्द वैद्य, नारायण विलास जोशी र नरबहादुर कर्माचार्य मिलेर स्थापना गरेका थिए । माक्र्सवाद, लेनिनवाद र माओवाद विचारधाराको नेपाल कम्युनिस्ट पार्टी बंगालमा विकास भएको कम्युनिस्ट विचारधाराबाट प्रभावित भएर स्थापना भएको हो ।
भाजपासँग धेरै विचारधारा मिल्ने गरी खुल्न लागेको दल भने नेपालमै घोषणा हुने बुझिएको छ । भारतमा बढ्दो हिन्दुवादको मुद्दाबाट प्रभावित युवाहरु दलको महत्वपूर्ण पदहरुमा रहनेछन् । उनीहरुलाई देशको महत्वपूर्ण तह र तप्कामा रहेर काम गरिसकेकाहरुबाट दृश्य अदृश्य साथ र सहयोग हुने बुझिएको छ । दलले अर्को निर्वाचनमा ठुलो सफलता हासिल गर्नेगरी तयारी गर्ने बुझिएको छ ।