दुई चार महिनाको फरकमा हुने मौषमका कारण पनि बढी मानिसहरु नाक, कान र घाँटीको विरामी बन्दै आइरहेका छन् । विशेष गरी अन्य मौषमको तुलनामा जाडो मौशममा नाक, कान र घाँटीका विरामीहरु बढ्ने गर्छन् । चिसोका कारण एलर्जी, जमिनको सतहमा बढी मात्रामा हुने पराग कणहरुले गर्दा पनि जाडो मौषममा बढी मानिसहरु विरामी पर्ने गर्छन् । यो मौषममा दमको रोगीहरुमा पनि एलर्जीको, पिनास, फाइरान्जाइटीस, कानमा ढुसी आउने र चिलाउने समस्याहरु बढी देखिने गर्छन् । यसै विषयलाई लिएर पाटन अस्पताल, सुमेरु अस्पताल, सुमेरु सिटी अस्पतालमा नाक, कान र घाँटीको उपचारारत प्राध्यापक डा. अजित नेपालसँग खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः
० जाडो मौषम र प्रदुषणका कारण नाक, कान, घाँटीमा बढी समस्या देखिन्छ भनिन्छ ? कारण के होला ?
सही भन्नु भयो । अन्य मौषमको तुलनामा जाडो मौशममा नाक, कान र घाँटीका विरामी केही बढी हुने अवस्था हो । यसको कारण चाहिँ मुख्यतया चिसोको एलर्जी, प्रदुषणको तह पनि विशेषगरी जमिनको सतहमा बढी हुने तथा पराग कणहरुले गर्दा पनि बढी हुन्छ । जाडोमा विशेषगरी दमको रोगीहरुमा पनि एलर्जीको, पिनास, फाइरान्जाइटीस, कानमा ढुसी आउने र चिलाउने समस्या लिएर पनि विरामीहरु उत्तिकै आउने गरेका छन् ।
० नाक, कान र घाँटीको समस्याले दैनिक जीवनमा कस्ता असरहरु गछन् ?
वास्तवमा भन्ने हो भने नाक, कान र घाँटी हाम्रो शरीरको साह्रै सम्वेदनशील क्षेत्र हो । हामीले खाने, शास फेर्ने, बोल्ने र प्रायःजसो ज्ञानेन्द्रीयहरु यहीँ पर्छन् । त्यसैले घाँटी दुख्ने, मुख, घाँटी आदिमा मासु (क्यान्सर सहित) पलाउने, शास फेर्न वा बोल्ने ठाउँ सुन्निने वा मासु पलाउने अथवा भनौं नाकमा मासु पलाउने, पिनास आदि हुनु वा नाकको हड्डी बाँगो हुनु, सुँघ्ने क्षमतामा ह्रास आउनु वा कान पाक्नु वा श्रवण क्षमतामा ह्रास हुनु, रिंगटा लाग्ने, कान कराउने आदि अनेक समस्या यो क्षेत्रमा पर्छन् जसले गर्दा प्रत्यक्ष वा परोक्ष रुपमा हाम्रो दैनिकीलाई ठूलो असर त पर्ने नै भयो ।
० यस्तो समस्याबाट बच्न कस्ता उपायहरु अप्नाउनु पर्ला ?
नाक, कान र घाँटीको समग्र समस्याहरु धेरै भएकोले समस्यापिच्छे केही विशेष र केही नभलभचब िसावधानीहरु अपनाएमा केही हदसम्म केही समस्याबाट बच्न सकिन्छ । सबै त यहाँ वर्णन गरेर साध्य छैन । तै पनि सारांशमा भन्दाखेरी धुलो, धुँवा, चिसोबाट जोगिन सकेमा रुघा, पिनास, फाइराइन्जाटीस आदिबाट बच्न सकिन्छ । त्यस्तै चिल्लो, पिरो, अमिलो धेरै नखाएमा पनि अम्लले हुने एक प्रकारको घाँटीको दुखाईबाट बच्न सकिन्छ । यसैगरी नाक, कान नकोट्याउने, जस्तोपायो त्यस्तो पानी वा पोखरीमा ननुहाउने गरेमा नाक दुख्ने, रगत बग्ने वा कान दुख्ने, पाक्ने समस्याबाट केही हदसम्म बच्न सकिन्छ ।
० नेपालमा पछिल्लो समय नाक, कान र घाँटीका क्यान्सर रोगीहरु बढिरहेको पाइएको छ । यसको कारण के होला ?
धुम्रपान, स्ुर्तीजन्य पदार्थ, गुट्खा र मद्यपान आदिको सेवन नै प्रमुख रुपमा मुख, गिजा, घाँटी आदिको क्यान्सर बढ्नुको कारण हो । साथै, जंक फुड, पोलेको खानेकुरा खाने बानीहरुलाई पनि सहायक कारण मान्न सकिन्छ ।
० कस्ता—कस्ता लक्षणहरु यस्ता क्यान्सरहरुमा देखिन सक्छ ?
सामान्यतया, घाँटी दुख्नु, आवाज बिग्रनु, खकारमा रगत देखिनु, सास फेर्न गाह्रो हुनु, नाक वा मुखबाट रगत आउनु, गिजा दुख्नु, सुन्निनु वा दाँत हल्लिनु वा कहिले काँही कान डम्म हुनु वा घाँटीमा साह्रो गाँठोहरु पलाउनु अनि कुनै घाउ लामो समयसम्म निको नहुनु नाक, कान, घाँटीका क्यान्सरका प्रमुख लक्षणहरु हुन् ।
० घाँटीको क्यान्सरका रोकथाम र उपचार के—के होलान् ?
रोकथाम सबै हाम्रो नियन्त्रणमा त हुँदैन । तै पनि सामान्य हिसावमा भन्दाखेरी सुर्तीजन्य पदार्थ, मद्यपानबाट स्केसम्म टाढा रहन प्रयास गर्न सकिन्छ । केही क्यान्सर जेनेटिक तथा वंशानुगत कारणले हुनसक्छ, जुन हाम्रो नियन्त्रण बाहिर हुन्छ । मुख्य कुरा मैले माथि भने जस्तो क्यान्सरको केही लक्षण देखियो भने सुरुवाती अवस्थामै चिकित्सकको सल्लाह लियो भने क्यान्सर हो की होइन छुट्याउन सकिन्छ अनि सुरुवाती अवस्थामै क्यान्सर नै भए पनि पत्ता लगाउन सकियो भने उपचार सम्भव छ । त्यसैले सावधानी अनि चनाखो हुनु उत्तिकै जरुरी छ ।
० पिनास भनेको के हो र यो कसरी लाग्छ ?
सामान्य भाषामा भन्दा रुघा अलि लामो समयसम्म लाग्यो वा सामान्य उपचारले केही हप्तासम्म पनि ठीक भएन भने त्यसलाई पिनास वा -Sinusitis) भन्न सकिन्छ । पिनासको धेरै कारणहरु हुनसक्छ जस्तै धुलो, ध्ुवाँ, चिसोको एलर्जी, भाइरस, ब्याक्टेरिया, ढुसी, परागकण, गाईवस्तु वा अन्य पाल्तु जनावर जस्तै कुकुर, विरालो, चराहरुको भुत्ला, रौं आदिसँगको संसर्ग लामो समयसम्म भइराखेमा साथै कहिले काहिँ नाकको भित्री वनोटको गडबढ जस्तै हड्डी बाँगो हुनु वा लामो समयसम्म एलर्जीको पिनास आदि भएमा मासु पलाउने (Polyps, Fungal Sinusitis) आदि समस्या पनि हुन सक्छ ।
० पिनासको लक्षणहरु के के हुन सक्छन् होला ?
नाक लामो समयसम्म बन्द हुनु, पानी वा पहेँलो सिंगान बग्नु, हाँछ्यु धेरै आउनु, टाउको, आँखा वा नाकको वरीपरी वा निधारतिर दुख्नु अनि गन्ध वा वास्ना कम चाल पाउनु वा थाहै नपाउनु प्रमुख लक्षण हुन् ।
० पिनासको रोकथाम अनि उपचार कसरी गर्न सकिन्छ ?
मैले माथि उल्लेख गरेका केही बच्न सकिने कारणहरुबाट केही हदसम्म बच्न सकिन्छ । उपचारको सन्दर्भमा यदि सामान्य उपचार जुन नजिकको नाक, कान र घाँटीको विशेषज्ञको परामर्शबाट लिन सकिन्छ । यदि हप्तौंदेखि महिनौंसम्मको लामो समस्या भएमा नाकको इन्डोस्कोपीबाट सीटी स्क्यान गरेर हेर्नुपर्छ । यदि नाकमा मासु Polyps_ पलाएको छ, हड्डी बाँगिएको छ वा नाकको वरीपरी अनुहारको खोक्रो (हावा भरिएको) हड्डीहरुमा धेरै फोहोर जमेको छ भने बाहिर छालामा नचिरिकन दुर्बिनको प्रविधिबाट शल्यक्रिया -FESS_ गरेर पनि पिनासको निराकरण गर्न सकिन्छ ।
० कान नसुन्ने कारण के होला ?
कान नसुन्ने कारणहरुलाई धेरै भागमा विभाजन गर्न सकिन्छ । सामान्यतया साना नानीहरुमा जन्मजात वा कानको जाली पाछाडी पानी जमेर हुनसक्छ । अलि ठूला वा वयस्कलाई कान पाक्ने, कान भित्रका स—साना हड्डीहरु जाम हुने, जाली भित्र खिचिने वा कहिलेकाहिँ कानेगुजी जमेर पनि हुनसक्छ । त्यस्तै बृद्ध अवस्थाकालाई (६० वा ७० वर्ष कटेपछि) क्रमशः कानको नशा सुक्दै गएर कान कम सुन्ने पनि हुन्छ । तर, साना नानीहरुलाई पनि कहिलेकाहिँ मेनीजाइटिस, टाइफाइड वा हाँडे आदिले पनि कानको नशा सुकाउन सक्छ । यस्तै ध्वनी प्रदुषण वा कुनै कुनै औषधीले पनि कानको नशामा असर पार्न सक्छ ।
० नाकले कहिलेकाहिँ गन्ध नै थाहा पाउँदैन । कारण के होला ?
सामान्यतया एलर्जीको पिनास -Allergic Rninitis) वा नाकको मित्रको हड्डी कुहिने खालको एक प्रकारको पिनास -Atropic Rhinitis) मा गन्ध कम वा पुरै थाहा नपाउने हुन सक्छ । साथै नाकभित्र मासु -Polyps_ पलाएमा पनि गन्ध आउँदैन वा कम हुन्छ । अहिले त तपाईंले सुन्नु भएकै होला, समय समयसामयीक रोग Covid-19 (कोरोना भाइरस) को एउटा प्रमुख लक्षण पनि गन्धमा ह्रास आउने वा पुरै चाल नपाउने हुनसक्छ ।
० अरु पनि Covid-19 कोराना भाइरसको नाक, कान र घाँटी सम्बन्धी समस्या हुनसक्छ ?
अवश्य पनि हुन्छ । जस्तै गन्धको अलावा स्वाद पनि चाल नपाउनु, सुख्खा खोकी लाग्नु, घाँटी दुख्नु, सास फेर्न गाह्रो हुनु, टाउको दुख्नु, नाकमा सिंगान बगिरहनु, टन्सील सुन्निनु, ज्वरो आउनु आदि Covid-19 (कोरोना भाइरस)को नाक, कान र घाँटीसम्बन्धी प्रमुख लक्षणहरु हुन् ।