पहिलो चरणमा चार र दोस्रोमा तीन प्रदेशमा निर्वाचन गर्ने मन्त्रिपरिषदको निर्णय

22.5k Shares

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्ले दुई चरणमा निर्वाचन हुने प्रदेशहरु र त्यसअन्तर्गतका जिल्ला छुट्याएको हो ।

वैशाख १७ मा प्रदेश २, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश अन्तर्गतका ४१ जिल्लामा निर्वाचन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ। त्यस्तै, वैशाख २७ गते प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेश अन्तर्गत ३६ जिल्लामा निर्वाचन हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्दै वैशाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचनको मिति तोकिएको थियो । तर, त्यस विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ चलिरहेकाले निर्वाचन हुने वा नहुनेमा आशंका छ । निर्वाचन आयोगले भने निर्वाचनको तयारी अगाडि बढेको बताउने गरेको छ ।

प्रतिनिधि सभा विघटनका विरुद्ध सडक आन्दोलन गर्दै आएका नेकपाकै एक पक्ष र अन्य कतिपय दल र नेताहरुले भने वैशाखमा निर्वाचन गर्ने सरकारको नियत नभएको र सम्भव नभएको बताउने गरेका छन् ।

यसैबीच, मंगलबार ११ बजे प्रधानमन्त्री केपी शर्मा निर्वाचन आयोग जाँदैछन् । उनले नेकपा विवादको विषय र निर्वाचन सम्बन्धमा मन्त्रिपरिषद्ले गरेका निर्णयका विषयमा पनि छलफल गर्ने बताइएको छ ।

कुन प्रदेशमा कहिले निर्वाचन गराउने भन्ने विषयमा सुरक्षा परिषद्ले तय गरेको थियो । सुरक्षा परिषद्को सिफारिशमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो ।

सम्बन्धित समाचार