धुलिखेल । प्रहरी महानिरीक्षक बसन्त कुंवर प्रहरी संगठनमा शुद्धीकरण गर्ने अभियानमा लागेका छन् । उनले संगठन प्रमुख भएदेखि नै यो अभियानलाई अगाडि बढाई रहेका छन् । उनका हरेक भाषण र निर्देशनमा संगठन भित्र शुद्धीकरणको कुरा नै झल्कन्छ । यसबाहेक उनले अर्को थालेको अभियान दरबन्दीमा प्रहरी हुनुप¥यो । संगठन प्रमुख, अतिरिक्त प्रमुखदेखि प्रदेश प्रमुखसम्मले आफू अनुकूल काजमा पठाउने र अतिरिक्त आम्दानी हुने थाना चौकी पठाई आर्थिक फाइदा लिने परिपाटी नियन्त्रण गर्नकै लागि महानिरीक्षक कुंवरले दरबन्दी पठाउ अभियान चाले । तर उनको यो दुबै अभियान केही मात्रामा भए पनि धेरै मात्रामा मातहतका हाकिमले असफल पारेका छन् । यसको एउटा दृष्टान्त काभ्रे ट्राफिक प्रहरीमा समेत देखिएको छ ।
काभ्रे जिल्लाको पांचखाल ट्राफिक पोष्टमा कार्यरत हवल्दार सुधाकर ढुंगेल त्यही मध्येका एक हुन । उनको दरबन्दी धादिङ ट्राफिक हो । तर उनी कार्यरत काभ्रे ट्राफिक प्रहरीमा छन् । दरबन्दी धादिङमा नगएर उनलाई किन काजमा, कसले, के कारणले, के उद्देश्यले काभ्रे ट्राफिक प्रहरीमा राखिरहेको छ ? यो प्रहरी महानिरीक्षकको नीति विपरीत हो कि होइन ? प्रश्न उठेको छ । यी हवल्दारले ट्रिपर चालक हस्त तामाङसंग भन्दै थिए कि, म आइजिपीको मान्छे हो, मलाई कसैले काभ्रेबाट धपाउन सक्दैन । हो त उनी आइजिपीका मान्छे हुन नि किनकि प्रहरी संगठनको प्रमुख नै कुंवर भएको बेला सबै प्रहरी उनका हुन नै । दरबन्दीमा पठाउने संगठन प्रमुखको नीति कार्यान्वयन नगर्ने जिल्ला र प्रदेश ट्राफिक प्रमुख मात्रै होइन प्रदेश प्रहरी प्रमुख पनि दोषी त हुन नै ।
के बागमती प्रदेशको डिआइजी किरण राणाले एउटा हवल्दारलाई दरबन्दीमा पठाउन नसकेकी हुन त ? या त उनको संरक्षण हो ? अहिले यहाँ ट्रिपर व्यवसायी बताउँछन् । किनकि ट्रिपर व्यवसायी र चालकहरूलाई हवल्दार सुधाकर ढुंगेलले धेरै दुःख दिएका रहेछन् । ट्रिपर चालक चन्द्र तामाङ भन्छन्, मैले पाँचखाल ट्राफिकलाई मासिक १० हजार दिन्छु, तर फेरि ओभरलोड भयो भनेर जरिवाना काट्छ । ओभरलोडको जरिवाना यातायात कार्यालयमा तिर्नुपर्छ । अर्का ट्रिपर चालक हस्त तामाङ भन्छन्, यो लाइनमा चल्ने हरेक ट्रिपर चालकले पाँचखाल ट्राफिकलाई मासिक १० हजार अनिवार्य बुझाउनुपर्छ । त्यति रकम दिँदा पनि जरिवाना काट्छन् । हवल्दार ढुंगेलले असुलीको आंतक नै मच्चाएका छन् ।
झण्डै पाँच बर्षदेखि काभ्रे ट्राफिक प्रहरीमा कार्यरत ढुंगेल बीचमा धेरै बिवादमा तानिएपछि सिन्धुपाल्चोक ट्राफिकमा गएपनि तीन महिनामा फेरि काभ्रे ट्राफिकमा फर्केका थिए । उनी काभ्रे ट्राफिक मातहतका मालदार सबै ट्राफिक पोष्ट बसिसकेका छन् । रकम असुलीमा धेरै बिवादमा तानिएको भए पनि उनलाई अझै कारबाही त परैजावोस दरबन्दीमा पठाउने काम समेत भएको छैन ।