कांग्रेसभित्र हिन्दु राष्ट्रको पक्षमा आवाज बुलन्द

18.2k Shares

काठमाडौं । नेपाली काँग्रेसभित्र हिन्दुत्वको मुद्दा बलियो बन्दै गएको छ । विशेषगरी सभापति शेरबहादुर देउवानिकट नेताहरु नै यो मुद्दा बुलन्द बनाउन थालेका छन् । केन्द्रीय सदस्य एनपी साउद यो मुद्दा उठाउन अग्रपंक्तिमा छन् । उनले त्यही अनुसारको कदमहरु परराष्ट्रमन्त्री हुँदा चालिरहेका छन् । डा. शेखर कोइराला र डा. सशांक कोइरालाले पनि यो मुद्दा उठाए विगतमा । तर, उनीहरु दुवै सुस्ताएका छन् । शंकर भण्डारीले भने निरन्तर यो मुद्दा उठाइरहेका छन् । उनलाई साथ दिने केन्द्रीय सदस्यहरु धमाधम थपिन थालेका छन् ।

त्यसो त नेपालमा सविधान जारी गर्दा नेपाली काँग्रस नै सरकारको नेतृत्वमा थियो । सविधानमा हिन्दुराष्ट्र हटाएर धर्मनिरपेक्षता राखियो । २०७२ सालको यो कदमविरुद्ध अहिले काँग्रेसभित्रै आवाज बुलन्द हुन थालेको छ । यतिबेला संसदमा सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको बैठकमा धर्मनिरपेक्षता खारेजीको माग उठेको छ । ६ दिनदेखि चलिरहेको केन्द्रीय समिति बैठकमा केही सदस्यहरुले धर्मनिरपेक्षता खारेजीको माग गरेका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले धर्मनिरपेक्ष खारेजीको माग गरेका छन् । उनले नेपाललाई हिन्दु राष्ट्र कायम गर्नुपर्ने माग समेत बैठकमा राखेका छन् । भण्डारीले भने, नेपालको पहिचान भनेकै हिन्दुराष्ट्र हो र धर्मनीरपेक्ष संविधानबाट हटाउन काँग्रेसले नै नेतृत्वदायी भूमिका निभाउनुपर्छ । उनले संघीयताको पनि विकल्प खोज्नुपर्नेमा जोड दिए । आफूले संविधान जारी हुँदा पनि धर्मनिरपेक्षता लाद्न खोजिएकोमा विरोध गरेको स्मरण गराए । उनले देशको अस्तित्वका लागि पनि हिन्दुराष्ट्र अनिवार्य भएको बताए ।

केन्द्रीय सदस्य चन्द्रबहादुर केसीले पनि हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग राखे । अर्का केन्द्रीय सदस्य भीम पराजुलीले ९४ प्रतिशत ओमकार परिवार रहेको देशमा धर्मनीरपेक्ष स्वीकार्न नसकिने बताए । उनले धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्मको पक्षमा काँग्रेस उभिनुपर्ने तर्क राखे । काँग्रेस, एमाले, माओवादीलगायत मुख्य दलहरु धर्मनीरपेक्षको पक्षमा उभिएका थिए । पछिल्लो समय ती दलहरुभित्र यसको विरोध बढ्दै गएको छ । माओवादीभित्र समेत हिन्दु राष्ट्रको मुद्दा उठ्नुलाई अर्थपूर्ण मानिएको छ । देशमा २०७८ मा भएको जनगणनाको रिपोर्टमा ८१ प्रतिशत हिन्दु धर्मालम्बी रहेको तथ्यांक छ । पछिल्लो समय हिन्दु राष्ट्रको पक्षमा आवाज बढ्दै गएको छ । कुनैपनि बेला ठूलै उथलपुथल आउने गरी राजनीतिक घटना विकास हुनसक्छ ।

सम्बन्धित समाचार