पोष्ट कोभिड रिहाब्लिटेशनमा फिजियो थेरापीको महत्वपूर्ण भूमिका हुन्छ

19.7k Shares

सामान्य भाषामा फिजियो थेरापी भनेको एक्ससाइज र केही विद्युतीय मेसिनको प्रयोगबाट गरिने उपचार पद्धति हो । यस अन्तर्गत थुप्रै पद्धतिहरू हुन्छन् । मेशिनबाट उपचार गर्ने थेरापीलाई इलेक्ट्रो थेरापी भनिन्छ । मेनुअली उपचार गरेको थेरापीलाई मेनुअल थेरापी भनिन्छ । फरक—फरक मेडिकल कन्डिसनमा फरक—फरक  एक्सरसाइजबाट उपचार गर्ने विधिलाई एक्सरसाइज थेरापी भनिन्छ । यसै पेरिफेरिमा रहेर डा. जितेन्द्र कुमार झासँग खोजतलास साप्ताहिकका लागि गरेको संक्षिप्त कुराकानी ः
० थेरापी भनेको कस्तो उपचार विधि हो ?
सामान्य भाषामा फिजियो थेरापी भनेको एक्ससाइज र केही विद्युतीय मेसिनको प्रयोगबाट गरिने उपचार पद्धति हो । यस अन्तर्गत थुप्रै पद्धतिहरू हुन्छन् । मेशिनबाट उपचार गर्ने थेरापीलाई इलेक्ट्रो थेरापी भनिन्छ । मेनुअली उपचार गरेको थेरापीलाई मेनुअल थेरापी भनिन्छ । फरक—फरक मेडिकल कन्डिसनमा फरक—फरक  एक्सरसाइजबाट उपचार गर्ने विधिलाई एक्सरसाइज थेरापी भनिन्छ ।
० कस्ता रोगका लागि फिजीयो थेरापी जरूरी छ ?
फिजियो थेरापीमा मुख्यतः हार्डजोनी र नशासम्बन्धी रोगको उपचार हुन्छ । उदाहरणको लागि कम्मर दुख्ने, गर्धन दुख्ने, घुँडा दुख्ने, मांशपेसीको दुखाई, जोर्नीको दुखाई, हड्डी मर्केको, भाँचिएको, नशा च्याप्पिएको, डिस्क बाहिर आएको, प्यारालाइसिस भएको, मुख बाँगिएको, आईसीयुमा भर्ना भएका विरामीहरुको, कार्डियो थोरेसिक अवस्थामा, हातखुट्टा झामझम हुने, पोल्ने, गल्ने अवस्थामा पनि फिजियो थेरापीबाट उपचार हुन्छ ।
० फिजियो थेरापीमा कस्ता—कस्ता मेशिनहरुको प्रयोग हुन्छन् ?
फिजियो थेरापीमा प्रयोग हुने मेशिनहरुमा अल्ट्रासोनिक मेशिन, आईएफटी मेशिन, टेन्स, मशल एस्टिमुलेटर, ट्रयाक्सन मेशिन, हाइड्रो कोलेक्ट्रल युनिट, लेजर थेरापीलगायतका मेशिनहरु प्रयोग हुन्छ । 


० यी मेशिनहरुको काम के के हुन् त ?
माथि उल्लेखित मेशिनहरुमध्ये अल्ट्रासोनिक मेशिनले मांशपेशीको दुखाई, मांशपेसी सुन्निएको अवस्थामा, हार्ड जोनीको जामलाई खोल्नको लागि यो मेशिनको प्रयोग हुन्छ । त्यस्तै, फिजियो थेरापीका लागि ट्रान्स इलोक्ट्रो नर्भ एस्टिमुलेशन (टेन्स) मेशनको पनि प्रयोग हुन्छ । यो मेशिनले खासगरी विरामीको कम्मरदेखि खुट्टासम्मको लामो दुखाई छ भने यो मेशिनको प्रयोग गरी थेरापी गर्दा सजिलो हुन्छ । त्यस्तै इन्ट्रा फेराइन्जियल थेरापी (आईएफटी) मेशिनको काम चाहिँ लोकालाइज दुखाई छ भने यो मेशिनको प्रयोग हुन्छ । त्यस्तै, फिजियो थेरापीमा प्रयोग हुने ट्रयाक्सन मेशिनको काम चाहिँ जसको डिस प्रोल्याप्सको कारणले नशा च्यापिएको छ भने यो मेशिनले धेरै प्रभावकारी काम गर्छ । त्यस्तै मशल एस्टिमुलेटर मेशिन जसको काम प्यारालाइसिस भएर हातखुट्टा चल्दैन त्यस्ता विरामीको हातखुट्टा चलाउन मद्दत पु¥याउँछ । अर्को हाइड्रो कोलेक्ट्रल युनिट मेशिनको काम चाहिँ जुन एरियामा दुखाई छ त्यस एरियामा तातो लगाएर सजिलो पार्ने काम गर्छ । अर्को लेजर थेरापी पद्धतिबाट पनि विरामीहरुको दुखाई कम गर्ने काम गर्छ । 
० औषधि र फिजियो थेरापी फरक हो ? 
औषधी सेवनबाट विरामीलाई दुखेको दुखाई तुरुन्तै ठिक हुन्छ, तर, तुरुन्तै दुखाई कमसँगै शरीरमा यसले नकारात्मक असरहरु पारिरहेको हुन्छ । यसले पछि गएर झन् समस्या निम्त्याउन सक्छ । तर, फिजियो थेरापीको माध्यमबाट उपचार गर्दा अलि समय लाग्छ तर यसले शरीरलाई नकारात्मक असर पार्दैन र दिर्घकालिन रुपमा विरामीको समस्या समाधान गर्छ । 
० योग र थेरापी एउटै हो ?
योग भन्नाले मान्छेले स्वस्थ रहनका लागि दैनिक गर्ने व्यायाम हो । तर थेरापी भन्नाले चाहिँ विरामीको अवस्था हेरी फरक—फरक एक्सरसाइजहरु गर्नुपर्ने हुन्छ । त्यही एक्सरसाइजबाट विरामीलाई परेको समस्याको समाधान गरिन्छ ।
० फिजियो थेरापी कतिको खर्चिलो हुन्छ ?
फिजियो थेरापी बास्तवमा कम खर्चमा उपचार गर्ने प्रविधि हो । यसमा विरामीले प्रत्येक दिन आधा घन्टादेखि ४५ मिनेटसम्म समय दिनुपर्ने हुन्छ । विरामीले कमसेकम पाँचदेखि सात दिन निरन्तर आउनुपर्ने हुन्छ । पछि आफैले घरमा डाक्टरको सल्लाह अनुसार एक्सरसाइज गरेको खण्डमा पनि विरामीले रोगबाट मुक्ति पाउन सक्छ । 
० मृगौला रोगीका विरामीहरुको लागि पनि फिजियो थेरापी उपयोगी हुन्छ ?
एकदमै उपयोगी हुन्छ । किनभने मृगौला पूर्णरुपमा काम नलाग्ने अवस्था भइसकेपछि डायलासिस गरिरहेको विरामीको अवस्थामा विरामीहरु एकदमै कमजोर भइरहेका हुन्छन् । उहाँहरुका लागि हातखुट्टाको एक्सरसाइज, मांशपेसीको एक्सरसाइज, स्वासप्रश्सासको एक्सरसाइज, मोविलिटी एक्सरसाइजहरु कमसेकम पन्ध्र मिनेटसम्म गराइयो भने विरामीको हकमा धेरै उपयोगी हुन्छ । 
० हड्डी फ्याक्चर केशमा थेरापीको भूमिका कस्तो हुन्छ ? 
कुनै हड्डी फ्याक्चर भएको अवस्थामा अस्पताल आयो भने त्यसको उपचारका लागि अर्थोपेडिकले हेर्छ, हर्थोपेडिकले उपचार विधि अप्नाई हड्डी जोर्ने काम गर्छ । त्यसपछि विरामीको हड्डी लामो समयसम्म नचलेको अवस्थामा विरामीलाई पहिलाको जस्तै गतिविधि गर्न गाह्रो हुन्छ । यस्तो अवस्थामा फिजियो थेरापीले जोर्नीलाई फरक—फरक विधिबाट एक्सरसाइज गराई जोर्नीलाई खुलाउने काम गर्छ । यस्तो अवस्थामा फिजियो थेरापीको महत्वपूर्ण भूमिका हुन्छ । 
० प्यारालाइसिसको विरामी पनि थेरापीबाट ठिक हुन्छ ?
हुन्छ, किन नहुने । प्यारालाइसिसको विरामीको अवस्था हेरी सोही अनुसार उपचार विधि अप्नाईन्छ । प्यारालाइसिसको विरामीको उपचार विधि लामै हुन्छ । पूर्णरुपमा ठिक हुन एक महिनादेखि ६ महिनासम्म लाग्न सक्छ ।
० महामारीको रुपमा रहेको कोराना भाइरसका विरामीहरुको हकमा चाहिँ फिजियो थेरापी उपयोगी हुन्छ त ?
उपयोगी हुन्छ । पोष्ट कोभिड रिहाब्लिटेशनमा फिजियो थेरापीको ठूलै भूमिका हुन्छ । कोभिडबाट पीडित विरामीहरुको अक्शिजन लेवल धेरै घटेको अवस्था हुन्छ । सास फेर्न गाह्रो हुन्छ । मांशपेशीहरु पनि धेरै कम्जोर हुन्छ । यस्तो अवस्थामा फिजियो थेरापीले फरक—फरक कार्डियो थोरायसिक एक्सरसाइज गर्दा विरामीलाई सजिलो महसुस हुन्छ । 
० कुन कुन एक्सरसाइज विधि गर्दा कोरोना भाइरस संक्रमित विरामीलाई सजिलो महसुस हुन्छ ?
कोरोना भाइरस संक्रमित विरामीहरुका लागि गरिने एक्सरसाइज विधिहरुमा ब्रिदिङ कन्ट्रोल एक्सरसाइज यो एक्सरसाइज विधि भन्नाले एउटा हात छातीमा र अर्को हात पेटमा राखेर नाकबाट लामो सास लिने जति रोक्न सक्नु हुन्छ रोक्ने र विस्तार नाकबाट छाड्ने । अर्को स्पाइरोमिटर एक्सरसाइज भन्नाले यो दुई थरी हुन्छ । एउटा साइटबाट फुक्ने र अर्को साइटबाट तान्ने गरिन्छ । माउथपिसलाई मुखभित्र हालेर विस्तारै लामो समयसम्म फुक्ने, कम्तिमा पनि २५ देखि ३० पटक फुक्ने । अर्को सास तान्ने बेलामा पहिला एकपटक बाहिर फु गरेर त्यसपछि विस्तारै २५ देखि ३० पटक तान्ने गर्नुपर्छ । यो एक—एक घन्टाको फरकमा गर्नुपर्छ । पस्र्डलिप ब्रिदिङ एक्सरसाइज यो एक्सरसाइज चाहिँ नाकले लामो समयसम्म सास लिने र सास फेर्दा सुसलेको जस्तोगरी विस्तारै सास फेर्ने । थोरायसिक सेगिमेन्टल एक्सपान्सन एक्सरसाइज यो एक्सरसाइज चाहिँ फोक्सोको फरक फरक ठाउँमा हातले थिचेर नाकबाट लामो सास लिने र विस्तारै छाड्ने गरिन्छ । थोरायसिक मोबिलिटी एक्सरसाइज भन्नाले चाहिँ दुईवटै हात सास लिने बेलामा माथि हात लाने र छोड्ने बलोमा सास मुखबाट छाडेर हात तल लाने । बेलुन फुक्ने एक्सरसाइज, थोरायसिक खुम्चने र तन्किने एक्सरसाइज, बलेको मैनबत्ती फुक्ने एक्सरसाइज माथि उल्लेखित सबै एक्सरसाइज १० देखि १५ पटक दुई—दुई घन्टाको अन्तरालमा गर्दा कोभिडका विरामीलाई धेरै नै राहत मिल्छ । 

सम्बन्धित समाचार