पृथ्वीनारायण शाहको फेरि जय जयकार !

18.5k Shares

काठमाडौं, २१ पौष । गणतन्त्र ल्याउने जनआन्दोलन २०६२/६३ पछि नेपालमा राजा महाराजाहरुको शालिक तोडफोड हुनथाल्यो । त्यस क्रममा नेपाल एकीकरणकर्ता पृथ्वीनारायाण शाहको पनि शालिक तोडियो ।
२७ पौष मा पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस सरकारका तर्फबाट मनाइँदै आइएकोमा रोक समेत लगाइयो । गणतन्त्र आएको भन्दै राजा महाराजाको जन्मदिन नमनाउने भन्दै रोक लगाइयो ।
अहिले फेरि पृथ्वी जयन्तीले महत्व पाउन थालेको छ । पृथ्वी जयन्ती मनाउन बलिउड नायिका मनिषा कोइराला, पूर्व डिआइजी रमेश खरेल, पर्यटन व्यवसायी भरत बस्नेतले मूल समारोह समिति नै बनाएर पृथ्वी जयन्ती मनाउने तयारी शुरु गरेका छन् । उनीहरुले आज पत्रकार सम्मेलन नै गरेर यसको जानकारी गराए ।
पृथ्वीनारायण शाहको जन्मदिन २७ पौषमा काठमाडौं आइपुग्ने गरी नेपाली सेनाको फौज गोरखाबाट प्रस्थान गरेको छ । पृथ्वीनारायण र उनको फौज हिंडेको बाटैबाटो काठमाडौं आउन सेनाको फौज बाँजागाँजासहित गोरखा दरबारबाट आज निस्किएको छ ।
त्यसो त प्रधानमन्त्री केपी शर्मा ओली पनि पृथ्वीनारायण शाहप्रति निकै सम्मान गर्छन् । उनले चन्द्रागिरी हिल्समा व्यवसायी चन्द्र ढकाललाई पृथ्वीनारायण शाहको शालिक राख्न सुझाव दिएका थिए । उनले केही वर्ष अघि चन्द्रागिरीमा पुगेपछि पृथ्वीनारायण शाहको जुङ्गा भएको शालिक राख्न भनेपछि ढकालले त्यस्तै गरेका थिए ।
नेपाल एकीकरणकर्ता पृथ्वीनारायण शाहको अपमानसम्मका गतिविधि भएपछि त्यसप्रति सर्वसाधारणमा आक्रोश समेत बढेको थियो । यसले पृथ्वीनारायणप्रति सम्मान र उनको जन्मदिन मनाउने उत्साह झन जागेको छ । फेरि पृथ्वीनारायण शाहको जयजयकार भएको छ ।
पृथ्वी जन्यती मनाउन सिपी र आरके मैनाली आए एकै ठाउँमा
मंगलबार दिउँसो जमलस्थित होटल यलो प्यागोडामा पृथ्वीनारायण शाहको जन्म जयन्ती कसरी बनाउने भन्नेबारे जानकारी दिन पत्रकार सम्मेलन थियो । बलिउड अभिनेत्री मनीषा कोइराला, पूर्वडिआइजी रमेश खरेल र पर्यटन/होटल व्यवसायी भरत बस्नेतले सोमबार नै निम्तो पठाएका थिए ।
कार्यक्रम सुरू हुँदा भने झापा विद्रोहका नेतृत्वकर्तामध्येका दुई जना राधाकृष्ण मैनाली र सीपी मैनाली  मञ्चमा देखिए । यी दुई दाजुभाइ लामो समयपछि एउटै कार्यक्रममा देखिएका हुन् । 
पत्रकार सम्मेलनमा बोल्दै नेकपा मालेका महासचिवसमेत रहेका सीपी मैनालीले  पृथ्वी जयन्ती मनाउने र देश जोगाउने अभियानमा मालेको साथ रहेको बताए । राधाकृष्ण मैनालीले  पृथ्वीनारायणलाई राजाका रूपमा मात्र बुझ्नु  अपुरो हुने बताए । 
'उहाँलाई देश निर्माण गर्ने अध्येताका रूपमा बुझिएन । गोर्खा राज्य विस्तार गरे पनि पछि त्यो राष्ट्र निर्माणको काम नै भयो,’ उनले भने । पृथ्वीनारायण शाहको जन्मजयन्ती मनाउन आज एकै ठाउँमा पुगेका आरके र सीपी मैनाली २०२६ सालको झापा विद्रोहका नेतृत्वकर्तामध्ये हुन् ।
राधाकृष्ण पञ्चायतकालमा उनी झन्डै १४ वर्ष जेल परेका थिए। जेलमा रहँदा उनी धेरै समय  केपी  शर्मा ओलीसँगै गोलघरमा थिए । २०४८ र २०५१ को निर्वाचन उनी झापाबाट सांसद चुनिएका थिए। २०५१ सालको मनमोहन अधिकारीको अल्पमतको सरकारमा उनी मन्त्री थिए।  २०५४ सालमा नेकपा एमाले फुट्दा उनी मालेमा गएका थिए । त्यसपछि पनि कांग्रेस नेतृत्वको सरकारमा सञ्चार मन्त्री भएका थिए । 
२०५९मा माले र एमाले एकता  भएपछि उनी एमालेमा फर्किए ।  जनकपुरमा भएको एमालेको सातौं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका उनी केही समयपछि  कारबाहीमा परेका थिए । २०६१ माघ १९ पछि राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनमा उनी शिक्षा मन्त्री थिए।  पहिलो संविधान सभाको निर्वाचनसम्म निष्क्रिय रहेका उनी  २०६५ सालपछि तत्कालीन माओवादीमा प्रवेश गरे।  माओवादीमा कुनै भूमिका नपाएपछि उनी पछि फेरि एमालेमा आए। एमालेमा पनि उनी लामो समय टिक्न नसकेका उनी पछिल्लो समय स्वतन्त्र रूपमा बसेका थिए ।  सीपी पनि झापा विद्रोहका नेतृत्वकर्ता हुन् । 
भूमिगतकालमा उनी  तत्कालीन  मालेको महासचिव थिए।  पञ्चायतकालमा उनी जेल तोडेर भागेका थिए ।  २०४८ र २०५१ को निर्वाचन उनी झापाबाट सांसद चुनिएका थिए।  मनमोहन अधिकारीका पालामा उनी पनि मन्त्री भए । 
एमाले फुट्दा उनी पनि मालेमा गए। तर एकता हुँदा उनी फर्किएनन्। पहिलो र दोस्रो संविधान सभामा उनी  समानुपातिक सांसद थिए । २०७२ मा संविधान जारी भएपछि केपी शर्मा ओली नेतृत्वको  सरकारमा उनी उपप्रधानमन्त्री बनेका थिए। उनी अहिले पनि मालेका महासचिव छन्।  आजको पत्रकार सम्मेलनमा पूर्वप्रधान सेनापति रूक्माङगद कटवाल पनि सहभागी थिए । 
 

सम्बन्धित समाचार