डिआइजी बढुवामा दिवसलाई न्याय 

15.8k Shares

काठमाडौं । सुनकाण्डमा फसेका एकजना क्षमतावान प्रहरी अधिकृतले बल्ल न्याय पाएका छन् । आइजीपी शैलेश थापा क्षेत्रीका ब्याची दिवस लोहनीलाई कुनैबेला आइजीपीको दाबेदारमध्ये मानिन्थ्यो । वरिष्ठतम एसएसपीका रुपमा उनको बढुवा त्यही रोलक्रम अनुसार मात्र भएको भएपनि उनी एआइजी हुन्थे । तर, ३३ केजी सुनकाण्डमा उनी मुछिए । सुन तस्करमाथि जाल हाल्दै पक्राऊका लागि पुग्दा उनी आफै जालमा परे । एउटा क्षमतावान र व्यवसायिक प्रहरी अधिकृतको करिअरमाथि नै धक्का पुग्यो । 
दिवस लोहनीको ब्याचीहरुको पटक पटक बढुवा भयो । शैलेश थापाको ब्याची एसएसपीबाट डिआइजीमा बढुवा हुँदा लोहनीमाथि अदालतमा मुद्दा चलिरहेकाले रोकिए । उनले सफाई पाउँदासम्म उनका ब्याची अर्को लटका एसएसपीहरुको पनि बढुवा भयो । उनीभन्दा जुनियर ब्याचका विश्वराज पोखरेलको समेत डिआइजी हुँदै एआइजीमा बढुवा भयो । तर, दिवसको बल्ल पालो आयो । यसपटक गृह मन्त्रालय र आइजीपीको कार्यालयले लोहनीलाई बल्ल न्याय गरेको छ । उनी बढुवाको सिफारिशको सूचीमा परेका छन् । 
नेपाल प्रहरीभित्र गृह मन्त्रालयले यसै हप्ता नौ जना एसएसपीलाई डिआइजी बढुवाका लागि सिफारिस गरेकोमा दिवस लोहनी पनि परे । बढुवा समितिको बैठकको निर्णय अनुसार बढुवा सिफारिश गरेको हो । बढुवा सिफारिश भएकामध्ये पहिलो नम्बरमा गणेशबहादुर ऐर छन् । ऐर विगतमा ललितपुरको समेत कमाण्ड सम्हालेका अधिकृत हुन् । उनी पनि बढुवामा ढिलो गरी परे । दोस्रो नम्बरमा पुरुषोत्तम कँडेल छन् । बढुवामा पर्नेहरुमा राजेशकुमार लाल कर्ण, डा. देवबहादुर बोहरा, दिवेश लोहनी, राम कृपाल साह, उमेश रन्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्य छन् । 
 

सम्बन्धित समाचार