के नेपालमा चीनको बीआरआई आइसकेको हो ?

17.3k Shares

काठमाडौं । दक्षिण एशियाको पाकिस्तान, बँगलादेश, श्रीलंका र मालदिभ्समा चीनले बेल्ट एण्ड रोड इनिटिएटिभ बीआरआई कार्यान्वयनमा ल्याइसकेको छ । नेपालमा पनि उसले बीआरआई बढाउन भरमग्दूर कोशिश गरिरहेको छ । तर, नेपाल सरकारले बीआरआई अनुदान लिने ऋण नलिने जवाफ दिइसकेको छ । 
परराष्ट्रमन्त्री एनपी साउदले सोमवार सार्वजनिक रुपमा चीनको बीआरआई कार्यान्वयनमा नआएको स्पष्ट पारे । चीनले बारम्बार नेपालमा बीआरआई कार्यान्वयनमा आइसकेको बताइरहँदा साउदले त्यसको खण्डन गरे । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन जनवरी १ मा उद्घाटन कार्यक्रममा चिनियाँ राजदूत चेन सोङले विमानस्थललाई बीआरआई अन्तर्गतको निर्माण भनेका थिए । शनिवार पोखरामा आयोजित ड्रागन बोट फेस्टिभलमा पनि उनले त्यही दोहोराए । त्यसले नेपालमा ठूलै उलझन ल्यायो । सरकारको जवाफ खोजियो । 
यसअघिका परराष्ट्रमन्त्री डा. नारायण खड्काले बीआरआई अनुदान मात्र लिन सकिने बताएका थिए । त्यही बोली अहिलेका परराष्ट्रमन्त्री साउदले दोहोराए । दुवै नेपाली काँग्रेसका नेता हुन् । माओवादी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड बीआरआईबारे मौन छन् । चीन भने बीआरआईको बढाई चढाई गरिरहेको छ । 
चिनियाँ लगानीमा बनेको पोखरा विमानस्थलमा अहिलेसम्म चाटर्ड उडान मात्र भयो । नियमित उडान अझै हुन सकेको छैन । भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा पनि चिनियाँ कम्पनी नै संलग्न थियो । तर, दुवै विमानस्थलमा अन्तर्राष्ट्रिय उडान राम्ररी हुन सकेको छैन । विमानस्थल निर्माणको ऋणभारले नेपाललाई समस्या बढ्दै जाने देखिन्छ । यो विषय उठेपछि सम्भावित समस्यालाई छोप्न चीनले अनेकन प्रयास थालेको छ । उसले पोखरामा चाटर्ड भएपनि उडान भरेर अन्तर्राष्ट्रिय उडान सुरु गरेको छ । तर, एकपटक उडान भरेपछि फेरि कहिले उडान हुने हो टुंगो छैन । 

सम्बन्धित समाचार