वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको प्रहरी चौकी अमरपटीका इन्चार्ज वरिष्ठ नायब निरीक्षक हरि चौहानले एक दर्जन भन्दा बढी ठुलोबडा ब्यापारीलाई तस्करी गर्न लाईन दिएका छन् ।
वरिष्ठ नायव निरीक्षक चौहानले सादा पोशाकमा घुमुवा वरिष्ठ हवल्दार शिवहरी अधिकारीलाई परिचालन गरेर गोप्य सूचना संकलन गरी अपराधिक गतिविधि नियन्त्रण गर्नुको सट्टा व्यापारीहरुसँगको घुस असुली र तस्करीका समान गन्तव्यसम्म पुग्न स्कर्टिङ समेत गराउने खुल्न आएको छ ।
वरिष्ठ सईको आदेश पाएपछि घुमुवा वरिष्ठ हवल्दार अधिकारीले सो क्षेत्रमा आतंक मच्चाएका छन् । प्रहरी चौकी अमरपटीका बरिस्ठ सई हरि चौहानले तस्कर नियन्त्रणको सट्टा ‘मासिक असुली’ गरेर तस्करीमा छुट तथा सुरक्षा दिई तस्करीका समान वारपार गर्न स्कर्टिङ समेत गरेर सघाउने गरेका आरोप सई चौहानमाथि लाग्ने गरेको छ ।
मुना नामक दुई जना, भोला र भुलन गरि ४ जना ब्यापारीले मोटो रकम बुझाएर मोटरसाईकलको माध्यमले कपडाको ठुलो लाईन पाएका छन् । सुनिलले राजनिवास र रजनीगन्धा तस्करी गर्न लाईन पाएका छन् भने बिनयले हार्डवेयरको तस्करी गर्न छुट पाएका छन् ।
कबाड तस्करी गर्न बिगा र संजयले लाईन पाएका छन् भने भुवन यादवले दुहुनो भैंसी तस्करी गर्न लाईन पाएका छन् । उनले नक्क्ली कागजात बनाएर नेपालको विभिन्न ठाउ पठाउँदै आएका छन् ।
यस्तै, पर्साको नामुदत तस्कर अनुपले कुखुराको चल्लाको ठुलो मात्रामा तस्करी गरिरहेको पाइएको छ । पर्सामा सञ्चालित अधिकांश कुखुरा फर्महरु यिनै तस्करीको माध्यमले भित्र्याएका चल्लाबाट संचालन भइरहेको स्थानीयको भनाइ छ । उनीहरुले भारतीय सिमावर्ती गाउँहरुमा पिकअपबाट झारेर रातीको समय मोटरसाईकल र पैदल भरियाको माध्यमले अमरपटी नाकाबाट पर्साका ग्रामीण भेगमा सञ्चालित कुखुरा फर्महरूमा कुखुराको चल्ला सप्लाई गर्ने गरेको प्रहरी स्रोत बताउँछ । अमरपटी, मधवल, झौवा, ईटियाहीलगायत इ चार गाउँमा मात्र ८० देखि १०० वटासम्म कुखुरा फर्महरु तस्करी कै कुखुरा चल्लाको भरमा संचालनमा रहेको स्रोत दाबी छ ।
टुना, अमरदेव, छोटेलाल र पिन्टुसहित चार जनाले भारतबाट नेपालतर्फ गहुँ र धान तस्करी गर्न लाईन पाएका छन । दिन र रात भरी भरिया लगाएर साईकलको माध्यमले तस्करी गरि भण्डारन गरेर ट्रेक्टरमा लोड गरी बहुअरवा र बिरगंज मिल पठाउने गरेको खुलेको छ ।
त्यहाबाट मोबिल नेपालतर्फ र नेपालबाट अपोलो लेखिएको गाडीको टायर भारततर्फ तस्करी हँुदै आएको छ । वरिष्ठ सई चौहानले खुल्याम रूपमा अबैध घरेलु मदिरा उत्पादन भट्टी संचालन र बिक्री बितरण गर्न मोटो रकम बुझेर मौखिक लाईसेन्स नै दिएका छन् ।
प्रहरी चौकी अमरपट्टीका इन्चार्ज वरिष्ठ सई चौहानले मुनासँग ८ हजार, ईन्दलसँग ५ हजार, राजकुमारसँंग ५ हजार र जिउतसँग ४ हजार बुझेर अबैध घरेलु मदिरा भठी संचालन गर्न छुट दिएका छन् । मुना भने भठी संचालक भारतीय नागरिक हुन र उनको त्यहा रहेको सबैभन्दा ठुलो भट्टी रहेको छ । भारतको बिहार सरकारले मदिरा निषेध गरेको कारण यहाँ उत्पादन भएका अबैध घरेलु मदिरा भारततर्फ प्रहरीको मिलोमतोमा तस्करी समेत हुने गरेको छ । अबैध घरेलु मदिरा उत्पादन भएपछि बच्चा देखी ठुलाबडासम्मले मदिरा सेवन गर्न भारत बिहारको विभिन्न स्थानबाट सेवनकर्ताहरु आउनेगरेको र मदिरा सेवन गरेर जथाभावी बोल्ने होहल्ला समेत गर्ने गरेको स्थानीयले जनाएका छन् । स्थानीयले सो गाउँमा बनिरहेको मदिरा तत्काल रोक्नु पर्ने बताए । खुल्याम रुपमा मदिरा बनेर बिक्री वितरण र भारततर्फ तस्करी भएपनि प्रहरी चौकी अमरपटी र जिल्ला प्रहरी कार्यालय पर्साले रोक्ने प्रयास समेत नगरेको स्थानियले गुनासो गरेका छन् ।
प्रहरीका घुमुवा नै चोरीको गाडी चढ्दै
चोरी, डकैती नियन्त्रण गर्ने प्रहरीले नै चोरीको मोटरसाईकल चढ्ने गरेको खबर प्राप्त भएको छ । प्रहरी चौकी अमरपटीका घुमुवा वरिष्ठ हवल्दार शिवहरि अधिकारीलेले प्रयोग गर्दै आएको कालो रंगको हिरो कम्पनीका स्प्लेन्डर प्लस मोटरसाईकल चोरीको रहेको स्रोतले जनाएको छ । वरिष्ठ हवल्दार अधिकारीले चढ्दै आएको मोटरसाईकलको आगाडि पछाडि दुबै साईडको नम्बर प्लेटमा मोटरसाइकल नम्बर नै उल्लेख छैन ।