देश गणतन्त्रको अभ्यासमा गएको १२ वर्ष भइसकेको छ । नयाँ पुस्ताका लागि राजसंस्था एकादेशको कथा भइसकेको छ । तर, अहिले एकाएक राजसंस्थाको मागसहित सडकमा प्रदर्शन हुनथालेको छ । त्यो पनि राजतन्त्र अन्त भई गणतन्त्र स्थापना भएको थाहा समेत नपाएकाहरू मोटरसाइकलमा चढेर नारा लगाउन थालेका छन् । कस्को कारण किन गणतन्त्रको नारा लागिरहेको छ ? यसको गम्भीर विमर्श हुन थालेको छ ।
राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै यसअघि नाम नसुनिएका विभिन्न संस्थाको नाममा आक्कलझुक्कल प्रदर्शन विगतमा पनि नभएका होइनन् । पछिल्लो समय प्रमुख शहरमै राजावादीको जुलुसमा संख्या थपिन थालेको छ । यही मौका छोप्न कमल थापाले गृहजिल्ला मकवानपुरमा केही सयको जुलुस बल्लतल्ल निकाल्न सके । उनले हिन्दुराष्ट्र र राजसंस्थाको पक्षमा आन्दोलनको शंखघोष भएको भन्दै सबैलाई राप्रपाको नेतृत्वको आन्दोलनमा गोलबन्द हुन आग्रह समेत गरे । त्यसको भोलिपल्ट झापामा राजावादीको भव्य जुलुस र सभा भयो । राप्रपाले देशभरमा एकमात्र सांसद राजेन्द्र लिङ्देनलाई त्यहाँबाट जिताउन सकेको थियो । गणतन्त्र ल्याउन महत्वपूर्ण भूमिका निभाएका काँग्रेसका कृष्णप्रसाद सिटौलालाई लिङ्देनले पराजित गरेका थिए । उनै लिङ्देनले नेतृत्व गरेको जुलुसमा हजारौं सहभागी भए । यसलाई सत्तारुढ नेकपाभित्र र बाहिर गम्भीरताका साथ विश्लेषण गर्न थालिएको छ ।
झापा लिङ्देनको मात्र नभई प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला पनि हो । प्रधानमन्त्रीकै गृहजिल्ला झापामा राजावादी उर्लिनुलाई हल्का रुपमा लिइएको छैन । यसले स्वयं प्रधानमन्त्री ओलीमाथि आशंका गर्ने ठाउँ दिएको छ । पार्टीभित्र अल्पमतमा परी राजीनामासम्मको दबाब झेलिरहेका ओलीले कुनै हाउगुजी देखाउन खोजेको चर्चा चलिरहेको छ । उनले नभन्दै मङ्गलबार सर्वदलीय बैठक डाकेर देशमा राजनीतिक अस्थिरता निम्त्याउन खोजिएकोले सबै एकजुट हुन आग्रह गरे । नेकपाभित्र विवाद बढेर बैठकमै नगएका ओलीले बालुवाटारमा भने सर्वदलीय बैठक डाके । त्यो पनि राजावादी सडकमा बढिरहेको र गणतन्त्र नै खतरामा पर्न सक्ने निहु देखाएर । यही निहु देखाएर तर्साउन समेत ओलीले शुरु गरिसकेका छन् । उनले आफूलाई सत्ताबाट हटाउन खोजे देश बर्बाद हुन्छ भनेका छन् । पार्टी स्थायी कमिटीमा लिखित पत्र पठाएर उनले यसो भनेका हुन् । आँखिर किन उनले आफू सत्तामा नरहे देश बर्बाद हुन्छ भने ?
लोकतन्त्रमा व्यक्तिभन्दा व्यवस्था र पद्धति मुख्य हुन्छ । कुनै एक व्यक्ति सत्तामा रहँदा वा नरहँदा केही फरक पर्दैन । काम गर्ने पद्धति र प्रणालीले हो । तर, ओलीले आफू नै देश हुँ जसरी अहिले सत्ता छाडेमा देश बर्बाद हुने भन्दै कुनै हालतमा राजीनामा नदिने पत्रमा लेखेका छन् । कुनै शक्तिसँग नझुक्ने भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कडा चुनौती दिएका छन् । उनले नेकपा इतिहासकै गम्भीर संकटमा रहेको पत्रमा लेखेका छन् । ओलीले पत्रमा लेखेका छन्, ‘नेकपा आज इतिहासकै गम्भीर संकटमा छ । यो संकट कुनै बाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरूको व्यग्र नेतृत्वमोह सत्तामोहका कारण निम्तिएको छ ।’ नेकपा मात्र नभई देश नै संकटमा पुग्न लागेको ओलीले देखाउन थालेका छन् । उनले यसो भनिरहँदा राजावादी झन् सक्रिय भएका छन् । विप्लवको गतिविधि झन् बढेर गएको छ ।
एकातर्फ राजावादी सडकमा र अर्कोतर्फ विप्लव भूमिगत रुपमा सक्रिय हुनथालेका छन् । ओलीका लागि यो परिस्थिति सत्ता जोगाउने कार्ड पनि हुनसक्ने देखिँदैछ । उनले यसलाई नै देखाएर आफूलाई साथ दिन पार्टीभित्र र बाहिर भन्न थालेका छन् । कुनै हालतमा राजीनामा नदिने अडान लिएका ओलीले त्यस्तो परिस्थिति आएमा कठोर कदम चाल्ने धम्की पनि दिएका छन् । प्रधानमन्त्रीको पदको दिनगन्ति शुरु हुन थालेपछि ओलीले नयाँ नयाँ कार्ड फाल्न थालेका छन् । जसमध्ये राजावादी र विप्लवबाट एकसाथको खतरा पनि देखाएका छन् । राजावादी उनकै गृहजिल्ला झापामा उर्लनुलाई रहस्यमय घटनाका रुपमा हेरिएको छ । अब उनले गणतन्त्र ल्याउन मुख्य भुमिका खेलेका प्रचण्डलाई त्रसित पार्ने हाउगुजी पाएका छन् । यो राजनीतिक प्रणालीको कसैलाई बढी माया छ भने त्यो प्रचण्डलाई मात्र छ । उनले यो व्यवस्था ल्याउन दश वर्ष जनयुद्धको नेतृत्व गरेका थिए । शान्ति प्रक्रियाको कठिन चुनौती पार गरेका थिए ।
प्रचण्डले गणतन्त्रका लागि संघर्ष गरिरहँदा ओली बालकोटमा बसेर गणतन्त्र कुनै हालतमा नआउने ठोकुवा गर्दै थिए । उनी संघीयताको पनि विरोधी थिए । संघीयताका पक्षधरहरूलाई व्यङ्ग्य गर्नमा अधिकांश समय खर्चन्थे । तर, राजनीतिको कुटिल चालहरूबाट यही राजनीतिक व्यवस्थामा दुई तिहाईको सरकारको प्रधानमन्त्री बन्न सके । बाघको छालामा स्यालको रजाईँ जसरी ओली सत्तामा मस्त छन् । अनेकन चालहरू चलेर पार्टी र राजनीतिक व्यवस्थालाई नै धरापमा पार्ने खेलमा लागेका छन् । आफ्ना लागि पार्टीभन्दा सत्ता र राजनीतिक प्रणालीभन्दा शक्ति नै ठुलो हो भन्ने गरी कदम चालिरहेका छन् । कुनैपनि बेला नेकपा फुटाएर जाने गरी तयारी समेत गरेका छन् । उनले मध्यावधि चुनाव र संसद बिघटनको कार्ड समेत देखाएर तर्साउन खोजेका छन् । संकटकाल लगाउने तयारी नगरेका होइनन् । ओलीले यस्तै आत्मघाती कदम चाल्नसक्ने बुझेर नेकपाभित्र कतिपय नेताहरू संयमता अपनाइरहेका छन् । उनको कुटिल चालहरू एकपछि अर्को गरी खुल्दै गएको छ । ओलीको कार्यकालमा गणतन्त्रविरोधी कसरी सक्रिय भए ? गणतन्त्र नै धरापमा पर्ने गरी राजावादीहरू कसरी सडकमा उर्लिए ? भन्ने प्रश्नहरू उठ्न थालेको छ । ओलीले विरोधीलाई कमजोर बनाउन जेसुकै हतकण्डा पनि अपनाउन थालेको देखिदैछ ।