मृगौलो रोगी बढ्नुको कारण जनचेतनामूलक कार्यक्रम जनस्तरसम्म नपुग्नु नै हो

18.2k Shares

जापान सरकारको स्कलरसिपमा जापानमा पीएचडी गर्नुभएको डा. नविन बहादुर बस्नेतले भैरहवामा एमबीबीएस गरी सन् २०११ सालदेखि २०१३ सम्म किस्ट मेडिकल कलेज र राष्ट्रिय मृगौला रोग उपचार केन्द्रमा हालसम्म कार्यरत हुनुहुन्छ । डा. बस्नेतले २०१९ देखि २०२० सेप्टेम्बरसम्म एक वर्ष इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजीको फेलोसीपको ट्रेनिङ नयाँ दिल्लीको अपोला अस्पतालमा गर्नुभएको छ । धापाखेलस्थित सुमेरु अस्पतालको स्थापनाकालदेखि नेफ्रोलोजिस्टको रुपमा कार्यरत डा. नविन बहादुर बस्नेतसँग मृगौला रोग कसरी लाग्छ, मृगौला रोग लाग्न नदिने उपाय र उपचारका विषयमा खोजतलास साप्ताहिकले गरेको संक्षिप्त कुराकानी ः 
० मृगौला रोग कस्तो खाले रोग हो ? 
मृगौला रोग नराम्रो रोग हो । मृगौला रोग दुई किसिमका हुन्छन् । एउटा अक्युट किड्नी इन्जुरी हो । यो चाहिँ उपचारबाट ठिक हुनसक्छ भने अर्को क्रोनिक किड्नी डिजिज यो चााहिँ मृगौलाको दिर्घ रोग हो । यो रोग लागेका व्यक्तिको किड्नी पूर्ण रुपमा निको हुँदैन । चरणबद्धरुपमा बिग्रँदै जान्छ । मृगौला रोगीहरु नेपालमा दिनप्रति दिन बढ्दै गइरहेका छन् । यसरी मृगौलाको रोगी बढ्नुको मुख्य कारण भनेको जनचेतनामूलक कार्यक्रमहरु जनस्तरसम्म नपु¥याएकै कारण हो जस्तो मलाई लाग्छ । 
० यो रोग नियन्त्रण गर्ने उपायहरु के होलान् ? 
यो रोग नियन्त्रणका लागि मानिसको दैनिक जीवन शैली र खानपिनमा ध्यान दिनुपर्ने जरुरी छ । विशेष गरी सुगर, प्रेसर नियन्त्रणमा राख्नुपर्छ । जथाभावी पेन किलरजस्ता औषधीहरु प्रयोग गर्नु भएन । निरोगी व्यक्तिले पनि कम्तिमा वर्षको एक चोटी किड्नीको परिक्षण गराउने गर्नुपर्छ । 
० नेपालमा मृगौलो रोगीहरु बढ्ने क्रममा छन् भन्नुभयो के कारण यो रोग बढ्दै गएको होला ? 
मैले अघि नै भनिसकेको छु, पहिलो कुरा त दैनिक जीवन शैली, खानपिन, सुगर, प्रेसरका रोगीहरु, पेनकिलर जस्तो औषधीहरु डाक्टरलाई जानकारी नजराई खाने गरेको खण्डमा किड्नी रोग लाग्ने सम्भावना बढ्छ । 
० मृगौला रोगको उपचार बिधी महँगो भनिन्छ, के कारण महँगो भएको ? 
मृगौला रोग मानिसको अत्यावश्यक अंग हो । मृगौलाले गर्ने काम गर्न छाडेपछि औषधी प्रयोग, मृगौला प्रत्यारोपण अथवा डायलासिसको विधि नै हो । यी प्रविधिहरु महँगो छ । नेपाल सरकारले सरकारी अस्पतालमा मृगौला प्रत्यारोपण गरेको व्यक्तिको अवस्था हेरी विपन्न वर्गका मृगौला विरामीलाई ४ लाख रुपैयाँ बराबरको मृगौला फेर्न सहयोग दिन्छ । तर मृगौला प्रत्यारोपण गर्दा औषधीहरु झण्डै डेढ देखि दुई लाख रुपैयाँसम्मको औषधी प्रयोग गर्नुपर्छ । अरुको मृगौला दान स्वरुप आफ्नो शरीरमा राख्दा फेरि त्यो मृगौलालाई रिजेक्ट गर्ने सम्भावना भएका कारण दैनिक महँगो औषधी सेवन गर्नुपर्ने हुन्छ । सोही कारण पनि मृगौला रोगको उपचार महँगो भएको हो ।
० मृगौलामा पत्थरी हुनुका कारण के होला ?
मृगौलामा पत्थरी कम पानी खाने व्यक्तिमा यस्तो खाले समस्या बढी देखिन्छ । दैनिक खानपिनमा पनि भर पर्छ । युरिक एसिड, अक्सोलेट भएका खानेकुराहरु बढी खाएमा किड्नीमा स्टोन बढ्ने सम्भावना बढी हुन्छ । 
मृगौला रोग वंशानुगत हुन्छ कि हुँदैन ?
यो रोग वंशानुगत पनि हुन्छ । तर, वंशानुगत रोगहरु धेरै कम हुन्छ ।
० मृगौला रोग लाग्नुभन्दा पहिला कस्ता कस्तो लक्षणहरु देखा पर्छन् ? 
धेरैजसोको लक्षणै नदेखी लाग्न पनि सक्छ । लक्षण भयो भने कसैको गोडा सुन्निने, आँखाको डील सुन्निने, पिसावमा रगत वा फिँज देखिने, खानपिनमा रुचि नहुने, पिसावको मात्रा कम हुनेलगायतका लक्षणहरु देखिन्छ ।
० मृगौला रोगीहरुले सहजरुपमा डायलासिस गर्न सकिरहेको अवस्था छैन भनिन्छ नि ?
पहिला भन्दा अहिले नेपालमा डायलासिसको क्षमता बढी छ । सरकारले पनि किड्नी विरामीहरुको डायलासिस निःशुल्करुपमा पनि गराइदिएको छ । डायलासिस भनेको पनि दुई किसिमबाट गरिन्छ । पहिलो मेसिनबाट गरिने डायलासिस जुन (हेमोडायलासिस भनिन्छ) र अर्को पेरिटोनियल डायलासिस पनि उपलब्ध छ । पेरिटोनियल डायलासिसको लागि हामीहरुले बिरामीको सानो अप्रेशन गरेर पेटमा पाइप हालिदिन्छौं । पेरिटोनियल डायलासिस गर्ने पानी उपलब्ध छ । हामीले विरामी आफैलाई कसरी गर्ने पद्धति सिकाइदिन्छौं, सोही अनुसार विरामीले घरमै बसेर सुलभ रुपमा गर्न सक्छन् । डायलासिस गर्ने पानीको सम्पूर्ण खर्च पनि नेपाल सरकारले उपलब्ध गराउँदै आएको छ । यो काठमाडौं बाहेक अन्य दुर्गम ठाउँमा पनि बिरामी आफैले गर्न सक्छन् । त्यसैले अहिले डायलासिसको क्षमता बढी छ । नपुग भन्न मिल्दैन । विरामीले चाहेको खण्डमा घरमै बसेर पनि गर्न सक्ने अवस्था भएको छ भने अस्पतालमा पनि पहिलोको जस्तो समय लिन गाह्रो छैन । अहिले काठमाडौं बाहेक अन्य जिल्लाका अस्पतालहरुमा पनि यो सुविधा उपलब्ध छ । 
० हेमोडायलासिस मेसिन कस्तो खाले मेसिन हो ?
हेमोडायलासिस भनेको त्यो मेसिन हो जसले विरामीको शरीरबाट रगत निकालेर त्यो रगतलाई शुद्धिकरण गरेर बिरामीकै शरीरमा फिर्ता गर्छ । यो पद्धति बिरामीले हप्ताको दुई देखि तिन चोटी अस्पताल गएर चार घण्टा लगाएर गर्छन्, एक चोटी गरेको खर्च २५ सय रुपैयाँ लाग्छ । 
० पेरिटोनियल डायलासिस भनेको कस्तो डायलासिस हो ?
यो बिरामीले घरमै बसेर कम खर्चमा गर्न सकिने डायलासिस हो । यो डायलासिस गर्न हामीले विरामीको पेटमा सामान्य अप्रेशन गरेर पाइप राखिदिन्छौं । त्यो पाइपबाट डायलासिसको पानी राख्े र निकाल्न सिकाउछौं । यो सरल हुन्छ । विरामीले हामीले सिकाएजस्तै गरी घरमै बसेर यो विधि अप्नाउन सक्छन् । यसले विरामीलाई हप्ताको दुई तिन चोटी डायलासिस गर्न अस्पताल जानुपर्ने बाध्यताबाट मुक्ति मिल्नुका साथै अस्पतालमा फैलनसक्ने संक्रमणबाट पनि बच्न सकिने अवस्था भयो । यो विधि मृगौला रोगीहरुको लागि अति नै राम्रो विधि हो । यो पानी खरिदको लागि पनि सरकारले विरामीलाई निशुल्क रुपमा हरेक महिनाको लागि उपलब्ध गराउँदै आएको छ ।
० डायलासिस गरेको मृगौला रोगी कति वर्षसम्म बाँच्न सक्छन् ? 
यसको एकिन हुँदैन । विरामीले होसियार अप्नाएको खण्डमा वर्षौंसम्म पनि सहजरुपमा बाँच्न सक्छन्, हेलचेक्र्याई, स्वास्थ्यमा अरु रोगको समस्या पनि देखिएको खण्डमा भने चाँडै नै मृत्यु हुन सक्छ । डायलासिस गरेर २० वर्षभन्दा माथि बाँच्ने विरामीहरु पनि छन् । 
० मृगौला रोग उमेर अनुसार लाग्छ कि, जुनसुकै उमेरका लाई पनि लाग्न सक्छ ।
यो रोग जुनसुकै उमेर समुहका व्यक्तिलाई लाग्न सक्छ । जन्मिनादेखि नै मृगौला रोग लिएर पनि जन्मिन सक्छन्, विशेष गरी उमेर हद बढ्दै गएपछि मृगौलाले काम गर्ने क्षमतामा पनि ह्रास आउने भएका कारण ६० वर्ष काटेका व्यक्तिहरुमा यो रोग बढी लाग्ने गरेको पाइएको छ । 
० पिसाव इन्फेक्सनका कारण पनि मृगौलालाई असर गर्छ ?
गर्छ । पिसाव इन्फेक्सन विशेष गरी महिला, वृद्ध, सुगर रोगीहरुलाई बढी देखिन्छ । सुगर भएको व्यक्तिलाई सुगर कन्ट्रोल नभएका कारण संक्रमण भई मृगौलालाई असर गर्छ । पानी कम खाने, लामो समय पिसाव रोक्नेलाई पनि पिसाबको संक्रमण बढी देखिन्छ । 
० मृगौला स्वस्थ राख्न कस्ता उपायहरु अप्नाउनुपर्छ ?
सक्रिय जीवन जिउने, समयमा सुत्ने एवं उठ्ने, रगतमा चिनीको मात्रा सन्तुलनमा राख्ने, रक्तचाप ठीक राख्ने, पर्याप्त पानी पिउने, तौल सन्तुलित राख्ने, स्वस्थ खाना खाने, धूमपान, मद्यपान नगर्ने, जथाभावी औषधी सेवन नगर्ने, शारीरिक ब्यायामलगायतका गतिविधि गर्दा मृगौलालाई स्वस्थ राख्न सकिन्छ । आफ्नो मृगौलाको पोजिसन ठिक छ कि छैन भनेर वर्षमा एकपटक रगतमा क्रियटिनिन, मृगौलाको अल्ट्रासाउण्ड, पिसाबमा प्रोटिन र रगत जाँच गराउने गर्नुपर्छ ।
० कस्तो अवस्थामा मृगौला प्रत्यारोपण गरिन्छ ?
रोगीको दुबै मृगौला दिर्घ रोगको कारण काम गर्न छोडेको र बिना प्रत्यारोपण वा डायलासिस जीवन जोखिम हुने खण्डमा र रोगीलाई प्रत्यारोपण गर्न नमिल्ने अरु कारण, जस्तै क्यान्सर, मुटुको एकदम कम क्षमता नभएमा प्रत्यारोपण गरिन्छ । कानुनी प्रक्रिया पूरा गरेपछि मृगौला प्रत्यारोपणका लागि तयार गरिन्छ । दाताले दिएको मृगौला शल्यक्रियाबाट रोगीको शरीरमा प्रत्यारोपण गरिन्छ । यसरी प्रत्यारोपण गरिने मृगौला पूर्णरुपमा स्वस्थ हुनुपर्छ । अझै महत्वपूर्ण कुरा के हो भने मृगौला दाताको शरीरमा किटाणु छैन, कुनै संक्रमण भएको छैन र कुनै सरुवा रोग लागेको छैन भने प्रमाणित गर्नुपर्छ । यदि किटाणु वा कुनै संक्रमण भेटियो भने त्यसको उपचार पछि मात्र प्रत्यारोपण गर्न सकन्छ । यसरी प्रत्यारोपण गरिएको एउटा मृगौलाले पनि रोगीलाई सामान्य जीवनमा फर्काउन मद्दत गर्छ । मृगौला प्रत्यारोपणपछि स्वस्थ्य रहन भने निकै सावधानी अपनाउनुपर्छ । 
 

सम्बन्धित समाचार