उत्तर र दक्षिणको नेपालमा रणनीतिक प्रतिष्पर्धा

18.1k Shares

भारतमा विदेश सचिव फर्किएको भोलिपल्ट चीनबाट रक्षामन्त्री आउने अनि बँगलादेश र पाकिस्तानको भ्रमणमा जाने । यो संयोगमात्र होला तर पछिल्लो समय सैन्य र कुटनीतिक तहबाट भारत र चीनबीच प्रभाव बनाउने प्रतिष्पर्धा चलेको छ । केही समय भारतले संवाद नै बन्द ग¥यो । तर, उसैले फेरि शुरु गरेको थियो । भारतले रअका प्रमुख सामन्त गोयललाई काठमाडौं पठाएर प्रधानमन्त्री केपी शर्मा ओलीसँग महत्वपूर्ण कुराकानीलाई अगाडि बढायो । लगत्तै सेनाप्रमुख मनोज मुकुन्द नरवाणे आए । 
गुप्तचर प्रमुख र सेना प्रमुखको लगातारको भ्रमणलाई भारतले नेपाल मामलामा सैन्य कुटनीतिलाई बढावा दिएको अर्थमा बुझ्न सकिन्छ । हुनपनि सैन्य तहमा कुराकानीपछि नेपालमा भारतले बिग्रिएको सम्बन्धलाई पुरानै अवस्थामा ल्याउन केही सफलता हासिल गरेको विश्लेषण दिल्लीमा हुनथालेको छ । राजनीतिक तहमा भन्दा सैन्य तहमा छलफल भारतले बढाएको छ । भारतको यही रणनीतिका कारण चीनले पनि रणनीति बदलेको छ । चीनका विदेशमन्त्री नेपाल आउने भनिएकोमा अचानक रक्षामन्त्री आउने भएका छन् । 
भारतका विदेश सचिव हर्षवद्र्धन श्रृंगला आज नेपाल भ्रमणमा आउँदैछन् । उनी भोलि फर्कनेछन् । उनी फर्किएपछि पर्सि शनिबार चिनियाँ रक्षामन्त्री वेई फङ्गह १२ घन्टाका लागि नेपाल आउँदैछन् । उनले महत्वपूर्ण भेटवार्ता गर्ने तय भएको छ । यसरी उत्तर र दक्षिणबीच नेपालमा प्रभाव बढाउने प्रतिष्पर्धा नै चलेको छ । भारत अमेरिकासँगको महत्वपूर्ण सैन्य सम्झौतापछि उत्साही छ । चीनको प्रभाव र चुनौती बढेको भन्दै अमेरिकाले भारतसहित जापान र अष्ट्रेलियासँग छलफल गरी क्वाड समूहलाई सक्रिय पारेको छ । यी देशले संयुक्त सैन्य अभ्यास समेत गरेका छन् । उनीहरुको उद्देश्य चीनको प्रभावलाई रोक्न र एशिया प्यासिफिक क्षेत्रमा प्रभाव बढाउने रहेको छ । यो रणनीतिलगत्तै भारतले छिमेकमा सक्रियता बढाएको छ । सैन्य तहमै संवादहरु बढाएको छ । 
अमेरिका र भारत मिलेर सैन्य गतिविधि बढाउन थालेपछि चीनले पनि सक्रियता बढाएको छ । चिनियाँ रक्षामन्त्री नेपालबाट पाकिस्तान र बंगलादेश जाने तय हुनु अर्थपूर्ण छ । नेपाल आउन लागेका चिनियाँ रक्षामन्त्री वाङ्ग यी स्टेट काउन्सिलर पनि हुन् । उनी चीनको मन्त्रिपरिषदका पाँचजना स्टेट काउन्सलरमध्ये एक हुन् । भारतले विदेश सचिव पठाउन लाग्दा चीनले रक्षामन्त्री नै पठाउँदैछ । यी दुईको भ्रमणलाई निकै चासो दिइएको छ । 
नरवणे अघि भारतको गुप्तचर निकाय रअका प्रमुख सीमान्त गोयल नेपाल आएका थिए । उनी एक रात नेपाल बसेका थिए । गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा भेटेका थिए । प्रोटोकल मिचेर प्रधानमन्त्री ओलीले गोयलसँग भेटेको भन्दै उनकै दल नेकपाभित्र आलोचना भएको थियो । 
यसैगरी, भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगलाको नेपालमा व्यक्तिगत नातासम्बन्ध छ । उनको स्थायी घर दार्जिलिङ हो । श्रृंगला नेपाली भाषा स्पष्ट बोल्छन् । भारतमा बोलिने धेरै भाषा बोल्न सक्ने श्रृंगला अंग्रेजी, फ्रेन्च, भियतनामी भाषा पनि बोल्छन् । हर्षवद्र्धनकी आमा हरिदेवी बस्नेत नेपाली मूलकी भारतीय हुन् । उनका बाबु छिरिङ तेन्दुफुला हुन् । दुवै दार्जिलिङका हुन् । हरिदेवीको माइती ललितपुरमा हो । यसकारण हर्षवद्र्धनको मामाघर नेपाल हो । उनीहरुको परिवारको दार्जिलिङको मालरोडमा आइभनहो हाउस होटल छ । बाबु छिरिङ भारतको वैदेशिक व्यापार विभागका सहायक प्रमुख नियन्त्रकसम्म भएका थिए । उनी जागिरको सिलसिलामा विभिन्न राज्यहरुमा खटिन्थे । जागिरको सिलसिलामा दक्षिण भारतमा खटिँदा हर्षवद्र्धन श्रृंगलाको जन्म भएको थियो । हर्षवद्र्धन भारतको पहिलो महिला विदेशसचिव चोकिला ऐयरका नाताका हुन् । नाताले चोकिलाको हर्षवद्र्धन भतिजा हुन् । यसरी श्रृंगलाको मामाघर नेपाली हो । ललितपुरमा मामाघर भएका उनी बेला बेलामा हिमाली क्षेत्रमा घुम्न आइरहने गरेका छन् । 

सम्बन्धित समाचार