काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि

18.5k Shares

काठमाडौ, ८ जेष्ठ ।  एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप आजदेखि सुरु हुँदैछ । खेल आज दिउँसो २ बजेबाट सुरु हुनेछ । खेलेको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नेछन् । भलिबल इतिहासमा नेपालमा अहिले सम्मकै ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना हुन लागेको हो । 

प्रतियोगितामा नेपालसहित ८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछ । खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा हुनेछ । प्रतियोगितामा सहभागी ८ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ए मा घरेलु टोली नेपालसहित भारत बंगलादेश र किर्गिस्तान छन् । त्यसतै समूह बी मा श्रीलङ्का, माल्दिभ्स, काजगिस्तान र उज्वेकिस्तान रहेका छन् । प्रतियोगितामा सहभागी हुने टोलीका लागि सबै व्यवस्थापन अन्तिम चरणमा पुगेको हो । 

आयोजक नेपालले उद्घाटन खेलमा किर्गिस्तानसँग खेल्नेछ । सोही दिन उज्वेकिस्तान र श्रीलङ्का, बंगलादेश र भारत तथा माल्दिभ्स र काजकिस्तानबीच खेल हुनेछ । नेपालले दोस्रो खेल जेठ ९ गते बंगलादेशसँग, र तेस्रो खेल जेठ १० गते भारतसँग खेल्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ टोलीले सेमिफाइनलमा र पुछारमा रहेका दुई टोलीले वरियताका लागि प्रतिस्पर्धा गर्नेछन् । कुल २० खेल हुने च्यालेन्ज कपमा उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल र समापन युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले गर्ने भलिबल संघले जनाएको छ । 

२ करोड ७१ लाख अनुमानित बजेट रहेको प्रतियोगिताका लागि आयोजकले विभिन्न समिति बनाएर तयारी गरेको बताइएको छ । यसअघि दुवै पटक बंगलादेश गएर खेलेको नेपाल यस पटक घरेलु कोर्टमा घरेलु समर्थकअघि खेल्न उत्साहित छ । 

सम्बन्धित समाचार