सन्तोषजनक काम नगर्ने कमाण्डरलाई हटाइने आईजीपी खनालको चेतावनी

20.5k Shares

काठमाडौं । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले जस्तो सुकै चुनौतीको सामना गर्नका लागि तयार रहन मातहत कमाण्डरहरुलाई निर्देशन दिएका छन् ।

केही दिन अगाडि सरुवा भएका गणपति एवं तालिम शिक्षालयका समादेशकहरुलाई निर्देशन दिने क्रममा उनले व्यवसायिक चरित्र र उच्च अनुशासनमा काम गर्न निर्देशन दिएका हुन् । सन्तोषजनक काम नगर्ने कमाण्डरलाई तत्काल हटाउने महानिरीक्षक खनालको चेतावनी छ ।

कोभिड १८ का कारण उपत्यकामा उपलब्ध कमाण्डरहरुलाई प्रधान कार्यालयमा तथा अन्यलाई प्रदेश स्थित बाहिनीहरुमै सोमबार भिडियो स्ट्रिमिङ्ग मार्फत् निर्देशन दिँदै महानिरीक्षक खनालले राज्यले सशस्त्र प्रहरी माथी गरेको भरोषा र जनताले गरेको आशालाई तराईदेखि हिमालसम्म निरन्तर खटिएर उत्कृष्ट ढंगले पुरा गर्नुपर्ने वताए । बाहिनीपतिहरु समेतलाई उपस्थित सो निर्देशनमा खनालले व्यावसायिक चरित्र र उच्च अनुशासन प्रदर्शन गर्न जोड दिएका छन् ।

प्रत्येक तहका कमाण्डरलाई दिइएको जिम्मेवारीको निरन्तर अनुगमन तथा मुल्यांकन गरिने र काम सन्तोषजनक नभएमा विगतमा जस्तै कमाण्डबाट अलग गराउने कार्यलाई थप प्रभावकारी वनाइने उनको चेतावनी छ । सामुहिक भावना, सहयोग, सहकार्य र समन्वयमा कार्य गर्न उनको निर्देशन छ ।  निर्देशनको क्रममा महानिरीक्षक खनालले नम्बर ३४ गण कैलालिका गणपति सशस्त्र प्रहरी उपरीक्षक कमलप्रसादले उत्कृष्ट कार्य गरेको भन्दै उच्च प्रसंसा गरेका थिए ।

अन्य सुरक्षा निकाय तथा स्थानिय प्रशासनसँगको सहकार्यमा राज्य र संगठनले दिएको जिम्मेवारी पुरा गर्न निर्देशन दिँदै उनले आफू मातहतका कर्मचारीप्रति अभिभावकत्व लिँदै उनीहरुको कार्यप्रति हौसला र उत्प्रेरणा जगाउँदै जिम्मेवारी कुशलता पूर्वक पुरा गर्न र आफूसँग भएका श्रोत साधनको अधिकतम् प्रयोगबाट जस्तो सुकै परिस्थितिमा समेत त्रुटी रहित ढंगले उत्कृष्ट कार्य गर्ने गरी आफू र मातहत कर्मचारीलाई समेत तयार राख्न निर्देशन दिएका छन् । संगठन र संगठनले लिएको नीतिप्रति आँच आउने खालका कार्य सह्य नहुने बताउँदै उनले चेन अफ कमाण्डलाई अक्षरस पालना गर्न र संगठनले लिएको भ्रष्टाचार, मानव अधिकार उल्लंघन र लैंगिक हिंसा बिरुद्धको शुन्य सहनशिलतालाई पूर्ण पालना गर्दै अनुशासित, जिम्मेवार र कर्तव्यनिष्ठ भएर फिल्डमा देखिने र महसुस हुने गरी कार्य गर्नुपर्ने उनको भनाई छ । संगठनका गोप्य सूचनाहरु चुहावट गर्ने र संगठनलाई बद्नाम गराउने कार्यप्रति आगामी दिनमा समेत थप निर्मम भएर प्रस्तुत हुने उनको चेतावनी छ ।

सो अवसरमा मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. ले संगठनका गोप्य सूचना र डकुमेन्टहरुको दुरुपयोग गर्नेहरुको शुक्ष्म ढंगले निगरानी गरिरहेको र त्यस्ता कार्यमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गरिने वताए । संगठनबाट भएका नीति निर्देशनको अक्षरस पालना गर्न र आन्तरिक रुपमा कार्यालयलाई थप व्यवस्थित र परिस्कृत बनाउनुपर्ने उनको भनाई छ । यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायण वावु थापाले आफ्नो जिम्मेवारी र दायित्वलाई स्तरीय ढंगले पछिसम्म स्मरणिय हुने गरी कार्य गर्नुपर्ने वताए ।

कार्यक्रममा कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राम शरण पौडेलले प्राप्त जिम्मेवारीलाई पुरा गर्न सकारात्मक ढंगले आउन सक्ने विपद् लगायतका चुनौतीहरुको लागि तयार रहनुपर्ने वताए ।

सम्बन्धित समाचार