काठमाडौँ, १८ बैशाख । सशस्त्र प्रहरी बलको मुख्यालयमा आज सोमबार संचारकर्मी र सशस्त्र प्रहरीबीच मैत्रीपूर्ण फुटबल आयोगजनापछि पत्रकारहरुसँग सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले परिचयात्मक कार्यक्रम राखेका थिए । सो कार्यक्रममा पत्रकारहरुसँग सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सङ्गठनमा राजनीतिक हस्तक्षेप नभएको बताएका छन् ।
सोमबार सशस्त्र प्रहरी मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै अर्यालले राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका हुन् । सशस्त्र प्रहरी नियमावली र कार्यविधि अनुसार सरुवा र बढुवा गरेको अर्यालले बताए । उनले भने, ‘योग्यता र क्षमता अनुसार सरुवा र बढुवा गरेका छौँ ।’ सशस्त्र प्रहरीको जनशक्ति कम भएको उल्लेख गर्दै आईजीपी अर्यालले थोरै जनशक्तिको बावजुद पनि सिमानामा बिओपीको संख्या थप्ने बताए ।
अर्यालले भने–‘जनशक्ति नथपिए पनि बोर्डर आउट पोस्ट थपेका छौँ ।’ संरचनात्मक कार्य अन्तर्गत सशस्त्र प्रहरीले सीमा सुरक्षा चौकीहरू थप गर्दै लाने योजना बनाएको छ । पछिल्लो समय झापा, बारा, दाङ, बर्दिया र दार्चुला लगायतका २१ ठाउँमा बिओपी स्थापना गरिएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालयका अनुसार बिओपीको संख्या २ सय ४९ पुगेको छ ।