झापा/जग्गाको नक्कली धनीपुर्जा दिएर मेचीनगर नगरपालिका–५ मेचीडाँडाका ६० परिवारसँग रकम असुली गरेको आरोपमा दुई व्यक्ति पक्राउ परेका छन् । आरोपीले पीडितसँग लाखौँ रकम असुलेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार जग्गाको नक्क्ली धनीपुर्जा बनाएर दिएको आरोप लागेका मेचीनगर–६ का ७५ वर्षीय भूपध्वज दाहाललाई प्रहरीले आज पक्राउ गरेको छ ।
अर्का आरोपी सोही वडाका ७३ वर्षीय ज्ञानबहादुर गिरी केही दिनअघि नै पक्राउ परेका थिए । वर्षौंदेखि ऐलानी जग्गामा बसोबास गर्दै आएका मेची डाँडाका सुकुम्वासी परिवारसँग जग्गाको धनीपुर्जा थिएन । धनीपुर्जा बनाएर घरमै ल्याइदिने भन्दै स्थानीय तीन जनाले रु १० हजारदेखि ७० हजारसम्म रकम असुली गरेको पीडितको भनाइ छ । आरोपीमध्ये फरार एक जनाको खोजी कार्य भइरहेको प्रहरीको भनाइ छ ।
छ महिनाअघि जग्गाधनीको फोटो टाँसिएको र रातो मसीले सही गरिएको सरकारी छापसहितको जग्गा धनीपुर्जा पाउँदा स्थानीय सुकुम्वासी दङ्ग थिए । तर, उनीहरूको यो खुसी लामो समय टिकेन । डेढ महिनाअघि केही जग्गाधनीले मेचीनगर–६ को वडा कार्यालयमा एकीकृत सम्पत्ति कर तिर्न जाँदा सो धनीपुर्जा नक्कली भएको खुलासा भएको थियो । वडामा जाँदा मात्रै सुकुम्वासीले धनीपुर्जाको नाममा ठगिएको पत्तो पाएका थिए ।
रकम असुलेर नक्कली धनीपुर्जा दिने व्यक्ति विरुद्ध पीडितले जिल्ला प्रशासन कार्यालय झापामा किटानी उजुरी दिएका छन् भने जिल्ला प्रशासनले घटनाको अनुसन्धान गर्न प्रहरी निकायलाई निर्देशन दिएको छ । ऐलानी तीन धुर जग्गामा बसोबास गर्दै आएकी मेचीनगर–६ की सरस्वती बरालले वडा कार्यालयमा तिरो बुझाउन जाँदा त्यहाँका कर्मचारीहरूले धनीपुर्जा नक्कली भएको जानकारी गराएको बताए । “गाउँकै भूपध्वज दाहाल र ज्ञानबहादुर गिरीले ‘रु ५० हजार दिनू, धनीपुर्जा बनाएर ल्याइदिन्छु’ भनेपछि रु ३५ हजार बुझाएको थिएँ”, ठगीको शिकार भएकी सरस्वती बरालले भने, “वडामा तिरो बुझाउन जाँदा पो धनीपुर्जा नक्कली हो भनिदिए । मेरो पैसा पनि गयो, धनीपुर्जा पनि कीर्ते प¥यो ।”
वडा कार्यालयका कर्मचारीले कम्युटरमा धनीपुर्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि पीडित बराल वडा कार्यालयमै केही बेर बेहोस भएका थिए । सो बस्तीका ५९ जनाले वडा कार्यालयमा गएर धनीपुर्र्जाको कित्ता नम्बर भिडाउँदा नभेटिएपछि गाउँमा बाँडिएका सबै धनीपुर्र्जा कीर्ते भएको प्रमाणित भएको थियो । हाल सो गाउँका पीडितको रुवाबासी छ । कतिले चर्को ब्याजमा ऋण काढेर धनीपुर्जाका लागि रकम बुझाएका थिए ।