अमेरिकामा राष्ट्रपति चयनका लागि आज निर्वाचन, को बन्ला नयाँ राष्ट्रपति ?

14.2k Shares
वासिङ्टन ।  ४६ औँ  राष्ट्रपति छान्नका लागि आज अमेरिकामा राष्ट्रपतीय निर्वाचन हुँदैछ । विश्वको शक्ति राष्ट्र अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचनको विश्वको चासो छ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक बेहोरेको अमेरिकाले आगामी दिनमा स्वास्थ्य, आर्थिक र सामाजिक रणनीति कसरी तय गर्छ भन्ने विषयले यो चुनाव झन् महत्वपूर्ण भएको विश्लेषकको भनाइ छ ।
आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने राष्ट्रपतिको यो निर्वाचन र त्यसपछि आउने नेतृत्वलाई केवल वर्षको समयावधिसँग मात्र तुलना गरिँदैन । सन् १९१८ मा देखापरेको स्पेनिस फ्लुपश्चात् एक सय वर्षमा आइलागेको कोरोना भाइरस र यसले पारेको गम्भीर असरलाई दीर्घकालीन रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषय समेत यसै निर्वाचनसँग आएर जोडिएको छ ।
विगतका चुनावमा अनुदारवादी ठानिएको रिपब्लिकन र उदारवादी ठानिएको डेमोक्र्याट पार्टीबीच आप्रवासन, बन्दुक नियन्त्रण, बेरोजगारी, स्वास्थ्य बिमा जस्ता मुद्दामा पेचिलो बहस हुने गरेको थियो भने यसपटकको चुनावमा भने कोरोना भाइरस नै केन्द्रबिन्दुमा रह्यो । हुन पनि निर्वाचनको संघारमा आइपुग्दा आठ महिनाका बीचमा २ लाख ३० हजार अमेरिकीले कोरोना भाइरसका कारणले जीवन गुमाएका छन् भने ९० लाखलाई यो संक्रमणले गाँजेको छ ।
त्यति मात्र होइन, सप्ताहन्तमा मनोरञ्जनमा धक फुकाएर खर्च गर्ने अमेरिकीको बानीले विश्व अर्थतन्त्रलाई चलायमान बनाउँदै आएकामा अहिले यो चक्र झन्डै रोकिएको अवस्थामा आइपुगेको छ । त्यसैले यो निर्वाचनका अहिलेका एजेन्डामध्ये कोरोना र यस महामारीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा पारेको प्रभाव नै केन्द्रबिन्दुमा छ ।
आलोचकले कोरोना भाइरस नियन्त्रण र तत्काल आवश्यक कदम चाल्न ट्रम्प प्रशासन सक्षम नभएको भनेर टिप्पणी गरिरहेका छन् भने ह्वाइट हाउसले सम्पूर्ण संयन्त्र परिचालन गरिएको भनेर बचाऊ गर्दै आएको छ । कुल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको संख्या २४ करोड रहेको छ । अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ । हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट सुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था (अर्लि भोटिङ) मार्फत करिब ९ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्यांक सार्वजनिक भएको छ । यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । यो कुल मतदाता संख्याको ६२ प्रतिशत हो ।
आज हुने निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याट पार्टीको क्रम वर्चस्व रहेको सिनेट र कांग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ । एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याट को ४७ सिट रहेको छ । उता तल्लो सदन भनेर चिनिने कांग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिटसहित वर्चस्व रहेको छ । यसपटक सिनेटको ३३ सिट र कांग्रेसको ४३५ सिटको निर्वाचन हुँदै छ । सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने कांग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ ।
विगत वर्षमा सर्वेक्षणको नतिजालाई निकै विश्वसनीय मानिएको भए तापनि सन् २०१६ पछि यसमा पनि प्रश्न उठाउन थालिएको छ । तर, पनि सर्वेक्षण गर्दै आएका ठूला र मूलधार भनिएका सञ्चार माध्यमले पनि जो वाइडनको अग्रतालाई प्रचार गरिरहेका छन् तर यसपटक हरेक विषयमा भौतिक रूपमा भन्दा प्राविधिक रूपमा मतदाता र उमेदवारहरूबीच अन्तक्र्रिया भएकाले सर्वेक्षणमा पनि त्यसको प्रभाव परेको आँकलन गर्नेहरू पनि छन् ।
अमेरिकामा रहेका नेपाली अमेरिकनलाई पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा योपटकको निर्वाचनले प्रभावित पारेको छ । संख्यात्मक हिसाबले नेपाली भाषीको निर्वाचनका समयमा ठोस प्रभाव पार्न नसक्ने भए तापनि नेपाली मुलुकको जनघनत्व बढी भएको स्थानमा भने कोही रिपब्लिकन त कोही डेमोक्र्याट पार्टीका उमेदवारलाई आर्थिक सहयोग गर्नेदेखि चुनावी प्रचारमा होमिएको बताउँदै आएका छन् ।
टेक्सासमा रहेका नेप्लिज अमेरिकनहरूले साउथ एसियन रिपब्लिकन क्लब स्थापना गरेर आफ्नो विचारसँग नजिक रहेका रिपब्लिकन पार्टीका उमेदवारलाई सहयोग गर्दै आएका छन् । अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा जनताले प्रत्यक्ष मत दिएर मात्र पुग्दैन । यहाँको संवैधानिक व्यवस्थाअनुसार इलोक्ट्रोल कलेजको मत निर्णायक हुन्छ । कुल ५३८ इलोक्ट्रोन मतमध्ये २७० मत ल्याउने उमेदवार राष्ट्रपतिको पदमा निर्वाचित हुन पाउँछन् । कतिपय अवस्थामा यो व्यवस्थाले जनताको मत अत्यधिक पाएर पनि विजयी हुन नसकेका उदाहरण रहेका छन् ।
सन् २०१० को जनगणनामा आधारित भएर २०१२, २०१६ र २०२० को निर्वाचनमा कुल ५३८ इलोक्ट्रोल मत विभाजन गरिएको छ । त्यसमध्ये सबैभन्दा बढी इलोक्ट्रोल भोट ५५ जना भएको राज्य क्यालिफोर्निया हो भने सातओटा राज्यबाट तीन÷तीन भोटको गणना हुन्छ । यसरी इलोक्ट्रोल कलेजको गणना गर्दा हरेक राज्यको जनसंख्या, सिनेटरको संख्या र कांग्रेसनले डिस्ट्रिकको समानुपातिक मतका आधारमा चयन गरिन्छ ।
यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलोक्ट्रोल भोट निर्णायक हुनेछ । यी राज्यमा जुन उमेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जीत निश्चित हुनेछ ।
अमेरिकामा आज निर्वाचन भए पनि निर्वाचनको परिणाम आउन भने केही सातासम्म लाग्न सक्ने बताउँदै आइएको छ । सन् २०१६ मा एक सातामा सार्वजनिक भएको परिणाम यसपटक हुलाकमार्फत् गरिएको मतपत्र गणनाले केही बढी समय लिनसक्ने निर्वाचन कार्यालयहरूले जानकारी दिएका छन् ।
सम्बन्धित समाचार