युइएफए च्याम्पियन्स लिग २०२०-२१ को सिजनमा समूह चरणका खेलहरु मंगलबारदेखि सुरु हुँदैछ । युरोपका उत्कृष्ट ३२ फुटबल टोलीले प्रतिस्पर्धा गर्ने यो लिग अन्तर्गत आज ८ खेलहरू हुँदैछन् ।
नेपाली समय अनुसार राति १०:४० मा हुने खेलमा समूह ‘एफ’ मा रहेका जेनिट सेन्ट पिटर्सबर्ग र क्लब ब्रुगले एक अर्काको सामना गर्नेछन् । खेल पिटर्सबर्ग घरेलु मैदानमा हुनेछ । त्यस्तै समुह ‘जि’ मा रहेको डाइनामो किभले घरेलु मैदानमा युभेन्टसको सामना गर्नेछ ।
युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो आजको खेलमा उपलब्ध हुने छैनन् । कोरोना संक्रमण पुष्टि भएपछि हाल उनी सेल्फ आइसोलेसनमा छन् । च्याम्पियन्स लिगमा एन्डे पिर्लोको युभेन्टसका प्रशिक्षकका रुपमा डेब्यू हुँदैछ । १९९५ मा प्रशिक्षक मिरेका लुसेस्कुले मिडफिल्डर पिर्लोलाई सिरि ए मा डेब्यू गराएका थिए । २५ वर्षपछि अहिले प्रशिक्षकका रुपमा पिर्लो उनै लुसेस्कुको टिमविरुद्ध उत्रिँदै छन् ।
नेपाली समयअनुसार राति पौने एक बजे एकै साथ ६ खेल हुँदैछन् । समूह ‘एफ’ मा रहेको लाजियोले घरेलु मैदानमा बेरुसिया डर्टमन्डको सामना गर्नेछ ।
समूह ‘एच’ अन्तर्गतको खेलमा आरबी लाइप्जिङ र इस्तानबुल बसाकसेहिर एक अर्काको आमने सामने हुनेछन् । खेल लाइप्जिङको घरेलु मैदानमा हुनेछ ।
आजको बहुप्रतीक्षित खेलमा गत सिजनको उपविजेता पेरिस सेन्ट जर्मन (पिएसजी) र म्यानचेस्टर युनाइटेडले प्रतिस्पर्धा गर्नेछन् । समूह ‘एच’ अन्तर्गतको खेल पिएसजीको घरेलु मैदानमा हुनेछ ।
सन्तुलित टिम लिएर मैदानमा उत्रिने दुवै टोली आजको खेलमा जित हात पार्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने प्रयासमा हुनेछन् ।
समूह ‘इ’ अन्तर्गतको खेलमा रेनेसले घरेलु मैदानमा क्रास्नोडरको सामना गर्दा चेल्सीले पनि घरेलु मैदानमा सेभिल्लाको सामना गर्नेछ ।
समूह ‘जि’ अन्तर्गतको खेलमा बार्सिलोना र फेरेन्कभारोसले एक अर्काको सामना गर्नेछन् । खेल बार्सिलोनाको घरेलु मैदानमा हुनेछ ।
बर्सिलोना तुलनात्मक रुपमा कमजोर रहेको टोलीविरुद्ध सहज जित हात पार्दै प्रतियोगिताको सुखद सुरुवात गर्ने प्रयासमा हुनेछ । बार्सिलोना कप्तान लियोनल मेस्सीमाथि पनि विशेष ध्यान हुने छ । गएको सिजन सकिने वित्तिकै बार्सिलोना छाड्ने असफल प्रयास गरेका मेस्सी यो सिजन सोचेजस्तो गोलमा बढ्न सकिरहेका छैनन् । क्रिष्टियानो रोनाल्डो रहेको टिम युभेन्टससँग एउटै समूहमा रहेकाले पनि यो सिजन च्याम्पियन्स लिगको समूह चरण विशेष बनेको छ ।
कुन टिम कुन समूहमा ?
समूह ए - बायर्न म्युनिक, एथ्लेटिको मड्रिड, साल्सबर्ग, लोकोमोटिभ मस्को
समूह बी - रियल मड्रिड, शख्तर डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेग्लादबाख
समूह सी - पोर्टो, म्यानचेस्टर सिटी, ओलम्पियाकोस, मार्सेली
समूह डी - लिभरपुल, आयाक्स, एटलान्टा, मिड्जेल्याण्ड
समूह ई - सेभिया, चेल्सी, क्रस्नोडार, रेनेस
समूह एफ - सेन्ट पिटर्सबर्ग, बोरुसिया डोर्टमुन्ड, लाजियो, क्लब बर्ग
समूह जी - युभेन्टस, बार्सिलोना, डायनामो किभ, फेरेन्सबारोसी
समूह एच - पिएसजी, म्यानचेस्टर युनाइटेड, लाइपजिग, स्तानबुल बासाकेसिर