ललितपुर । ललितपुर महानगरपालिका वडा नं। ३ का वडा अध्यक्ष श्रीगोपाल महर्जनलाई प्रहरीले नक्कली कागजात खडा गरी अवैध रुपमा मिर्गौला प्रत्यारोपणका लागि सिफारिस दिएको आरोपमा पक्राउको विरोधमा आज महानगरपालिकाका वडाहरुको काम ठप्प पारेका छन् ।
स्थानीय तह कर्मचारी संघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी संगठन स्थानीय ललितपुर महानगरपालिका कार्यालय इकाइले वडा नम्बर ३ का अध्यक्ष महर्जनलाई प्रहरीले पक्राउ गरेको विरोधमा सोमबार ‘पेन डाउन’ गरी काम बन्द गरेका छन् ।
प्रहरीले वडाध्यक्ष महर्जनलाई नक्कली कागजात खडा गरी अवैध रुपमा मिर्गौला प्रत्यारोपणका लागि सिफारिस दिएको आरोपमा असार २७ गते पक्राउ गरेको थियो । कर्मचारी संगठनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘वडाध्यक्षलाई अनावश्यक रुपमा सोधपुछ गरेको प्रति महानगरपालिका कर्मचारी संगठनको ध्यानाकर्षण भएको छ । जनप्रतिनिधिलाई मुद्दा चलाउन तत्काल बन्द गर । दोषीउपर छानबिन गरी अनुसन्धान गर ।’ तर, प्रहरीले भने घटनाको अनुसन्धान भइरहेकाले यसबारे केही बोल्न नमिल्ने बताउँदै आएको छ ।