भनिन्छ, जतिसुकै खराब चिजमा पनि केही न केही राम्रो गुण हुन्छ केबल त्यसलाई हामीले पहिल्याउन सक्नुपर्छ ।
सन् २०१९ को अन्त्यतिर चीनको वुहान प्रान्तमा पहिलोपटक देखापरेको कोरोना भाइरसले विश्वभरि नै महामारिको रुप धारण गरी मानवजातिलाई त्राहीत्राही पारिरहेको छ । खुल्ला आकाशमुनि स्वतन्त्र जीवनयापन गरिरहेका अर्बौं मानिसलाई आफ्नो दैनिक जीविकोपार्जनका कामकाज समेत ठप्प पारी घरभित्र थुनिएर बस्न बाध्य बनाएको छ ।
मानव जातिमा ठूलो संकट आइपरेको छ । कोभिड—१९ ले विश्वभरि नै तीन करोडबढी मानिस संक्रमित भइसकेका छन् ९ लाख ५७ हजार ६७० मानिसको मृत्यु भइसकेको छ । यो दर बढिरहेको छ ।
पछिल्लो समय नेपालमा पनि सङक्रमित हुनेको संख्या दैनिक बढिरहेको छ भने मृत्युका केसहरू पनि दैनिक रुपमा आइरहेका छन् । कोरोना फैलावटबाट रोक्नका निम्ति चीन, भारत साथै युरोपियन मुलुकहरूले जस्तै नेपालले पनि चैत ११ गतेबाट लामो समय देशव्यापी रुपमा लकडाउन घोषणा गरी अन्तर्राष्ट्रिय उडान र आवागमनमा रोक लगायो ।
देशमा आर्थिक, शैक्षिक गतिविधि समस्याग्रस्त छ । उद्योगधन्दाहरू, सानादेखि ठूला व्यवसाय, हाट, बजार, होटल, रेस्टुराँहरू बन्द हुँदा दैनिक ज्यालादारी गरेर हातमुख जोड्नेहरूमा धेरै ठूलो समस्या आइपरेको छ ।
वुहान प्रान्तमा देखिनुअघि कोरोनाको बारेमा कसैलाई पनि थाहा थिएन । परीक्षण, उपचार र व्यवस्थापनमा सुरुका दिनमा निकै जोखिम परे तापनि सरकारी साथै निजी क्षेत्रबाट सञ्चालित कोभिड—१९ परीक्षण केन्द्रहरूबाट देशभित्रै हाल दैनिक १० हजार बढी नमूना परीक्षण गर्न थालिएको छ ।
यस्ता महामारी अर्थात् प्राकृतिक विपदले विनाशमात्रै निम्त्याउँदैनन्, हालसम्म चल्दै आएका मानवीय क्रियाकलापलाई गहिरो रुपमा चिन्तन गर्दै त्यसलाई व्यापक रुपमा परिमार्जन गर्ने स्वर्णिम अवसर पनि हुन सक्छन् ।
लामो समयको बन्दाबन्दीले हाम्रा नियमित कामकाजलाई प्रभावित पारिदिएको छ । शिक्षा, स्वास्थ्यलगायत आर्थिक विकाशका पक्षहरू प्रत्यक्ष मारमा परेका छन् । सामूहिक कार्यक्रमहरू स्थगित गरिएका छन् । आफ्ना अत्यावश्यक कामकाजहरू साथै पठन—पाठनका कामहरूसमेत एकअर्काबाट टाढै रहेर घरमै सीमित भएका छन् । साथै यस्तै विकल्पको खोजी पनि हुन थालेको छ ।
यस्ता महामारी र विपदका बेला सर्वप्रथम मानिसले आफ्नो जीवन जोगाउने विषय प्राथमिकतामा पर्दछ । जीवन जोगिएपछि जीविका चलाउनका निम्ति पुनः आफ्ना कामकाजलाई नियमित सञ्चालन गर्नुपर्ने हुन्छ । पछिल्लो समय नेपालमा कोरोनाको संक्रमण दर निकै तीव्र गतिमा बढिरहेको छ । सबै हिसाबले सशक्त शक्तिशाली राष्ट्रहरूलाई त घुँडा टेकाइसकेको कोरोना भाइरसलाई हामीले सामान्य ठान्नु हुँदैन । बेलैमा आवश्यक सुरक्षा सावधानी अपनाएर नागरिक आफैं सचेत नभए भोलि यसले निम्त्याउने संकट व्यवस्थापनमा लाग्न निकै चुनौती आइपर्ने देखिन्छ ।
हरेक समस्याका दुई वटा पाटा हुन्छन् चुनौती र अवसर । नेपालमा पनि कोरोनाले थिलथिलो पारेको अर्थतन्त्रलाई माथि उकास्नका निम्ति निकै ठूलो चुनौती आइपर्ने छ । साथसाथै यसका लागि हामीले प्रविधि विकासमा जोड दिई देशभित्रै रोजगारी सिर्जना गरी आफ्नै गाउँठाउँमा बसेर नयाँ प्रविधिको प्रयोग गर्दै जीविकोपार्जन गर्ने सुनौलो अवसर समेत प्राप्त गर्न सक्दछौँ । जसका लागि केन्द्रस्तरदेखि स्थानीय स्तरसम्म आवश्यक समन्वय र सहकार्य गर्दै आफ्नो भूगोल हावापानी र वातावरण सुहाउँदो आर्थिक क्रियाकलापका कार्यक्रम ल्याउनुपर्दछ । यो महामारीसँगै वैदेशिक रोजगारीमा गएका हजारौं युवा गाउँ फर्किएका छन् । उनीहरूको सिप र क्षमतालाई बुझेर आफ्नै गाउँठाउँमा रोजगारीको अवसर र्सिजना गर्नुपर्दछ ।
सामूहिक खेतीका लागि प्रोत्साहन गर्नुपर्दछ । युगौंदेखि कृषिप्रधान देश भनेर नारा त लगायौं तर हालसम्म कृषिमा आवद्ध कैयौं नेपालीले वर्षभरि आफूलाई पुग्ने अन्न उत्पादन र भण्डारण गर्न सकेका छैनन् । उत्पादित वस्तुको भण्डारण र बजारीकरण नहुँदा केही ठाँउमा कुहिएर नष्ट भएर जान्छ भने अर्को ठाँउमा महंगो मूल्य तिरेर अन्य देशबाट आयतित वस्तु उपभोग गर्नुपर्ने अवस्था रहेको छ । जेनतेन खेती त लगाउँछौ तर त्यसका लागि आवश्यक बिउ हामीसँग हुँदैन । मल, औषधी, विषादीसम्म निर्भर रहनुपरेको छ । समयमा आपूर्ति नहुँदा उत्पादनमा ह्रास आउने समस्या छ । जसले गर्दा बिहान बेलुकाको छाक टार्न समेत अन्य देशसँग आश्रित हुनुपर्ने समस्या छ ।
अबका दिनमा यस विषयमा गम्भीर भएर सोच्नु जरुरी छ । हामीले विकसित राष्ट्रहरूले अवलम्बन गरेका नीति पछ्याउँदै कृषिमा आत्मनिर्भर हुनुपर्दछ । अत्याधुनिक प्रविधिको विकास गरी व्यावसायिक खेतीलाई प्राथमिकता दिनुपर्दछ र उत्पादित वस्तुलाई खेर जान नदिन शितभण्डार निर्माण र प्रशोधन केन्द्र निर्माणमा जोड दिनुपर्दछ ।
साना तथा मझौला उद्योग विकासमा जोड दिनुपर्छ । त्यस्ता उद्योग कम लगानी र स्थानीय स्रोतसाधनबाटै चल्न सकून् ।
हाल विद्युतको सुविधा बढेसँगै लोडसेडिङको अन्त्य भएको छ । अबका दिनमा औद्योगिक पूर्वाधारहरू, यातायात, सञ्चार र बजार पहुँचको विकास हुनुपर्छ । औद्योगिक लगानीले उत्पादन र उत्पादकत्व वृद्धि गर्ने छ । आफ्नै गाउँठाउँमा रोजगारीको र्सिजना भई स्थानीय सिपको प्रयोग, स्रोत र साधनको उपयोग भई आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनको मार्ग प्रशस्त हुन्छ ।
हाल कोभिड—१९ का कारण विद्यालय शिक्षामा समेत ठूलो क्षति पुगेको छ । सो क्षतिपूर्तिका लागि नेट—इन्टरनेटको माध्यमवाट वैकल्पिक शिक्षामा जोड दिइरहँदा भौगोलिक अवस्था र विकटतालाई देखाउँदै पन्छाउने गरिएको छ । सूचना प्रविधि विकासको निम्ति अपरिहार्य बन्दै गएको सन्दर्भमा यसबाट अलग रहेर उपलब्धि प्राप्त नहुने कुरा बुझ्न आवश्यक छ ।
कोरोनाले हामीलाई चिन्ने र बुझ्ने समय पनि प्रदान गरेको छ । अबका दिनमा विश्व स्वास्थ्य संगठनले निर्धारण गरेका स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई आफ्नो जीवनशैली र खानपानमा समेत सुधार ल्याउनु आवश्यक देखिन्छ । यस महामारीबाट सिर्जित समस्याहरूबाट खडा भएका चुनौतीलाई अवसरको रुपमा बदल्न सके विद्ममान आर्थिक र सामाजिक संकटबाट उठ्न सकिन्छ ।