चीनद्वारा नेपाली भूमि अतिक्रमण गर्दा सरकारको मौनता किन ?

18.3k Shares

८ असोज, काठमाडौं । भारतले नेपालको कालापानी क्षेत्र अतिक्रमण गरेको र भौतिक संरचना समेत बनाउँदा प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीका साथ बोले । उनको देशभित्र र बाहिर समेत लोकप्रीयता बढ्यो । ओली वास्तवमै राष्ट्रवादी रहेको भनियो । उनले भारतको भूमि अतिक्रमण गर्ने प्रवृत्तिको कडा रुपमा विरोध गरे । नक्शा समेत बनाएर कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरे । यसरी ओली देशको भूमि रक्षामा जिम्मेवारपूर्वक प्रस्तुत भएको विषय उठ्यो । तर, ओलीले अर्को छिमेकी चीनले भूमि मिच्दा मौनता साँधेका छन् । 
चीनले हुम्लास्थित लाप्चा क्षेत्रमा नेपाली भूमि अतिक्रमण गरेको विषय खुलिसकेको छ । उक्त क्षेत्रमा ११ वटा भौतिक संरचना निर्माण गरिरहेको र केही निर्माण गरिसकेको विषय बाहिर आयो । यतिका समय चीनले भूमि अतिक्रमण गरी संरचना बनाउँदा ओली सरकार के हेरेर बस्यो ? यो गम्भीर विषय बनेको छ । ओली पनि यसबारे मौन छन् । उनको मौनता अर्थपूर्ण छ । परराष्ट्र मन्त्रालय अहिलेसम्म बोल्न मानेको छैन । देशको २ किलोमिटर भन्दा बढी भूमि अतिक्रमण भएको छ । चीन उक्त भूमि आफ्नै दाबी गरिरहेको छ । मङ्गलबार साँझ चिनियाँ राजदूतावासले विज्ञप्तिमार्फत् उक्त भूभाग चीनतर्फ रहेको प्रमाणित गरिएको दाबी गरेको छ । चिनियाँ दूतावासका प्रवक्तामार्फत् विज्ञप्तिमा भनिएको छ, मिडियामा उल्लेख गरिएका भवनहरु चीन नेपाल सीमा क्षेत्रको चीनतर्फ रहेको प्रमाणित गरिएको छ । 
चीनले हुम्लामा अतिक्रमित क्षेत्र मिडियाको मात्र खबरका रुपमा उल्लेख गरेको छ । तर, अतिक्रमित भूमिबाट चिनियाँ पक्षको निर्माण रोक्न पहल भइसकेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोली उक्त क्षेत्रमा पुगी अध्ययन तथा छलफल गरिसकेको छ । नाम्खा गाउँपालिका अध्यक्ष विष्णुबहादुर तामाङ चिनियाँ पक्षले निर्माण कार्य गरिरहेको क्षेत्र नेपालको रहेको स्पष्ट पारिसकेका छन् । उक्त क्षेत्रमा पिलरको खोजी समेत भइरहेको छ । 
चिनियाँ पक्षले भने नेपाली पक्षले पुनः प्रमाणिकरण गर्न सक्ने बताएको छ । चिनियाँ दूतावासले प्रेस विज्ञप्तिमा नेपालको सार्वभौमिकता र अखण्डताको सधै सम्मान गर्ने भन्दै कुनै सीमा विवाद नरहेको बताएको छ । 
तर, सरकारी तहमै अतिक्रमित भूमिबारे चासो बढेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी सुरक्षाकर्मीसहित उक्त क्षेत्रमा पुगेका छन् । हुम्लामा नेपालको भूमिको २ किलोमिटर क्षेत्रभित्र नौ वटा भवन बनाइसकेको खबर सार्वजनिक भइसकेको छ । चिनियाँ सैनिकले उक्त क्षेत्र चीनको भन्दै नेपालीलाई प्रवेश गर्न रोकेको छ । यसबारेको रिपोर्ट गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयमा समेत पुगेको छ । तर, परराष्ट्र मन्त्रालयले अतिक्रमित उक्त भू—भागबारे अहिलेसम्म केही बोलेको छैन । कैलाश मानशरोवर क्षेत्र स्पष्ट देखिने उक्त क्षेत्र भू—सामरिक दृष्टिले महत्वपूर्ण छ । 

सम्बन्धित समाचार