बिभुषण, अलंकार, तक्मा र पदकको केही अर्थ छ ?

19.5k Shares

हिजो केही प्रहरी साथीहरुले राज्यद्वारा पदक अलंकार पाउनुभयो । बधाई । तर के यसको केही तात्वीक अर्थ छ ? मेरो पालामा पनि  जब—जब प्रहरीमा कुनै तक्मा अलंकार पदक लगाउने समारोह हुन्थ्यो । मेरो श्रीमती पुजा कुवर पलेटी कसेर ती पदकहरुलाई विशेष केमीकल (ब्रासो)द्वारा मसँग रहेका पदकहरु टल्काइ रहेकी हुन्थिन् । म ऐनामा हेरेर ट्युनिक लगाउथें र उनी भुँइमा पलेटी कसी दुईवटा मलमलको टालो लिएर पदक सफा गर्दछिन् । मसँग कुनै महत्वपुर्ण तक्मा पदक थिएनन् तर पनि मेरो श्रीमतीलाई कुन पदक महत्वपुर्ण हुन् र कुन होइनन् ? भन्ने थाहा थिएन । सबै काम सकिए पछि उन्ले मेरो ट्युनिकमा तक्मा सिउरिन्थिन् र तक्मा छड्के पर्दथ्यो ।
पदकहरु लामो सेफ्टीपिन जस्तोले सीधा बनाएर भिर्नु पर्दथ्यो । तर तौलका कारण बाङ्गिएर छातीमा टेढो हुन्थ्यो । मेरो श्रीमती दुई तीन कदम पछि गएर फेरि पदक हेर्थिन् र अगाडि आएर फेरि मिलाउँथिन् । उनी तबसम्म त्यो काम गर्न छोड्थिनन् जबसम्म त्यो तक्मा छातीमा सीधा पर्थेन । सीधा भएपछि उनी खुसी हुन्थिन् र मेरो आँखामा हेरेर भन्थिन् ‘काजी गज्जब देखियो ।’ म फेरि एकपटक ऐनामा हेर्थें । मेरो श्रीमती मैले छातीमा भिर्ने अर्थहिन र थोरै—थोरै अर्थका ढ्याकजस्ता पदकको कुनै महत्व बुझ्थिनन् तर उनी त्यसबाट गौरबको महसुस गर्दथिन् । हरेक साल राज्यले दिने तक्माहरुको नाम आउथ्यो । मेरो नाम त कहिले आउथेन । नाम आउनेहरुलाई बधाई दिन्थें । नाम आउन पनि आक्काहरु चाहिन्थ्यो । त्यो तक्मा प्रहरी प्रमुख गृह सचीब, गृहमन्त्री, प्रधानमन्त्री र राजदरबारको कृपाबाट पाइन्थ्यो । यदाकदा कुनै काम गरेबापत पनि आउँथ्यो तर मुलत कृपा नै थियो । म त्यो कृपा पाउन कहिले सफल भइन तर पनि हाबादारी नै भए पनि ढ्याकहरुले छातीमा टिङरिङ्ग टिङरिङ्ग आबाज दिएको चाहीँ मलाई खुब मन पथ्र्यो ।
त्यस समय तक्माको पदोन्नती केही नम्बर पनि प्राप्त हुन्थ्यो । त्यसैले पनि मलाई एउटा तक्मा लगाउने रहर हुन्थ्यो । तर तक्मा रहर भएर पाइन्छ र ? आक्काहरुको सेवाबाट पाइन्थ्यो । बाठाहरुले त गृह र दरबारबाट सिधै तक्मा लगाइदिन्थे । लाटाहरु बर्षमा एक पटक रेडियो नेपालमा समाचार सुन्थे र आफ्नो नाम आउँदैन भनेर पनि पहिल्यै जानकार रहन्थे । जागीरमा छन् जेल अफिसरहरुले खुब तक्मा लगाए तर जागिर पछि सबले तक्मा लुकाए । मेरो पनि कतै लुकेको छ । म अहिले हेर्छु । महत्वहीन छन् । मलाई पनि कुनै समाहरोहमा त्यहाँ तक्मा लगाएर हिँड्न आँट आइरहेको छैन किनकी त्यस तक्माले मलाई गौरबको अनुभुती दिइरहेको छैन । प्रहरी पुनरमिलन समाहरोहमा म त्यो सानोतीनो तक्मा लगाई भिडमा जान खोज्छु तर आत्मा सम्मान उच्च हुँदैन । बरु नलाउँदा नै सजिलो महसुस गर्दछु । कतै जोकर त भइरहेको छैन ? भनेझै लाग्छ किनकी त्यो तक्माले मेरो जीबनमा कुनै गर्बको अनुभुती गरेकै रहेनछ । त्यो पाएको कुरालाई अरुले महत्व दिएका नै रहेनछन् । त्यस तक्माले मेरो सामाजिक हैसियत बढाएको पनि रहेनछ । त्यो तक्माले वरीपरीको साथीहरुमा मेरो इज्जÞत बढाएका पनि रहेनछ । त्यसले त खÞाली एउटा काम मात्र गरेको रहेछ कसैको कृपा र दयाँबाट पाइयो र छातीमा छिन्द्रिङ्ग छीन्द्रीङ्ग गरी संगीतको आवाज दिएर मनोरंजन दिने र फोटोमा सजाउने काम मात्र गरेको रहेछ ।
अँ सेल्फी  खिच्दा अली सुहाएको छ । त्यो तक्माले सबैभन्दा बढ़ी खुसी बनाएको छ बिचरी श्रीमतीहरुलाई । के आजको तक्मा र पदकको बृत्ति विकासमा केही अर्थ छ ? कि पछि जागिर गएपछि समाहरोहमा लाएर हिँड्न समेत आफैलाई लाज लाग्ने यो कुनै ढ्याक मात्र हो ? यसलाई हामीले के बनाएका छौ ? आफै बिचार गरौं । तक्मा पदक अलंकार पाए पछि त्यसको अर्थ पनि होस् । तक्मा पाउनु बृत्त विकासमा मात्र होइन उसको सामाजिक मर्यादामा र आत्मा विश्वास बढाउन पनि यसले मद्दत गरोस् । अबकाशपछि पनि त्यो भिरेर हिँड्दा इज्जत होस् । 
यदी त्यो हुन् सक्दैन भने यी कुरा ढ्याक बाहेक अरु केही होइनन् । मसँग पनि थुप्रै ढ्याकहरु छन् । आजकल म त्यसमा ब्रासो पनि लगाउदिन, न मेरो श्रीमतीलाई नै ब्रासो लगाउने र टल्कीले ती ढ्याक सफा गर्ने शौख छ । कमसेकम तक्मा पाएपछि त्यस बस्तुले जागिरमा बृत्त विकास र उनलाई हेर्ने सम्मानमा बृद्धि गरोस् र अबकाश पछि कुनै समाहरोहमा जाँदा त्यो पदक भिरेर जाँदा इज्जÞतपूर्बक मानिसले हेरुन् । यत्ति इज्जÞत त हुनैपर्दछ, राख्नैपर्छ पदक पाए पछि है ।

सम्बन्धित समाचार