काठमाडाैं , ९ मंसिर । सहकारी संस्थाहरूविरुद्ध उजुरीको चाङ लाग्न थालेपछि काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूका लागि निर्देशन जारी गरेको छ ।
कोभिड-१९ को महामारीपछि ठूला राष्ट्रहरूबीचको युद्धका कारण विश्वमा आएको आर्थिक मन्दीले निम्त्याएको मूल्यवृद्धिले वित्तीय क्षेत्रमा तरलता अभाव सिर्जना भएसँगै सहकारी क्षेत्रमा गम्भिर संकट देखा परेको छ ।
थप ऋण दिन नसक्ने अवस्थामा सहकारी पुगेपछि ठूला निक्षेपकर्ताहरू निक्षेप झिक्न थालेको र सहकारीका सञ्चालकहरू सम्पर्कविहीन भएको उजुरी महानगरपालिकामा बढ्दै गएको महानगरपालिकाको सहकारी विभागले जानकारी दिएको छ ।
महानगरपालिकाले एक सूचनामा भनेको छ, ‘सहकारी क्षेत्रमा समेत गम्भिर असर परेको जानकारी हामीले कार्यालयमा दिनहुँ पर्न आएका लिखित र मौखिक उजुरीको चापबाट महसुस गरेका छौं ।
यस्तो संवेदनशील समयमा सहकारी संघ संस्थाहरूले आफ्ना काम कारबाहीलाई जिम्मेवार, इमानदानर, अनुशासित, पारदर्शी एवं विधिसम्मत तरिकाले सदस्य केन्द्रित भई सञ्चालन एवं व्यवस्थापन गर्दै सहकारी सुशासन कायम गर्न हुन निर्देशन सहित अनुरोध गरेका छौं ।’
यस्ता छन् सहकारी संस्थाहरूका लागि महानगरका १२ बुँदे निर्देशन :
१. सहकारी संस्थाहरूले यथाशीघ्र सबै सेयर सदस्यहरूलाई उपस्थित गराई साधारण सभा सम्पन्न गरी संस्थाको यथार्थ स्थिति र कारोबारबारे जानकारी गराउने । विश्वसनीयता र अपनत्व ग्रहण गराउनका लागि नियमित रूपले सेयर सदस्यहरूसँग सम्पर्क र संवाद बढाउने ।