काँग्रेसले छाड्न नमानेका यी क्षेत्र

17.9k Shares

काठमाडौं, ४ असोज । नेपाली काँग्रेसले मंसिर ४ को चुनावमा सत्ता गठबन्धनका दलहरुबाट साझा उम्मेदवार तय गर्दा कम्तिमा ९० सिटको अडान छाडेको छैन । काँग्रेसभित्र ८५ देखि ९० सिटमा चुनाव लड्नेहरुको सूची पनि लगभग तय भइसकेको बुझिएको छ ।

काँग्रेसका लागि केही चुनावी क्षेत्र निकै महत्वपूर्ण छन् । ती क्षेत्र उसलाई छाड्नु चुनावी धक्का लाग्नु जत्तिकै हुनसक्छ । काँग्रेसका प्रभावशाली नेताहरुले चुनावी क्षेत्र बनाएका ठाउँहरुमा माओवादी, नेकपा एस र जनता समाजवादी पार्टीको दाबी छ ।

कांग्रेसको ललितपुर जिल्लाको क्षेत्र नं. ३ पटक क्षेत्रको रुपमा लिइन्छ । ललितपुर क्षेत्र नं. ३ मा कांग्रेसको राम्रो पकड क्षेत्र भएकै कारणले पनि कांग्रेसले यो क्षेत्र छाड्न मानिरहेको छैन । यो क्षेत्रमा झिनो मतान्तरले माओवादीकी पम्फा भुषालले मदनबहादुर अमात्यलाई पराजित गरेकी थिइन् । त्यतिबेला भुषाललाई एमालेको समर्थन रहेको थियो ।

स्थानीय निर्वाचनको आँकलन अनुसार माओवादी ललितपुर क्षेत्र नं. ३ मा कम्जोर देखिएको छ । सोही कारण पनि ललितपुर क्षेत्र नं. ३ मा कांग्रेसले दावी गर्दै आइरहेको छ ।  

त्यस्तै, काँग्रेसले तनहुँ १, झापा १ र सिन्धुपाल्चोक १ निर्वाचन क्षेत्रलाई महत्व दिएको छ । यी क्षेत्रमध्ये झापा र सिन्धुपाल्चोकका निर्वाचन क्षेत्रबाट २०७४ को चुनावमा माओवादी जितेको थियो । तनहुँ १ बाट तत्कालीन नेकपा एमालेका किसान श्रेष्ठले जितेका थिए । तनहुँ १ मा काँग्रेस नेता रामचन्द्र पौडेलको दाबी छ ।

झापा १ मा काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दाबी छ । त्यहाँ माओवादीबाट राम कार्कीले जितेका थिए । सिन्धुपाल्चोक १ मा मोहनबहादुर बस्नेतले अडान कसेका छन् । बस्नेतले कुनै पनि हालतमा सिन्धुपाल्चोक १ छाड्न नमिल्ने भनेपछि पार्टी सभापति शेरबहादुर देउवाले सो क्षेत्रमा समेत कांग्रेसकै उम्मेदवार बनाउने अडान लिइरहेको बुझिन आएको छ । सो क्षेत्रमा सभामुख अग्नीप्रसाद सापकोटाले मोहनबहादुर बस्नेतलाई पराजित गरेका थिए । स्थानीय निर्वाचनको मतपरिणामलाई हेर्ने हो भने सो क्षेत्र कांग्रेसको राम्रो पकड क्षेत्रको रुपमा रहेको छ । सोही कारण पनि कांग्रेसले सो क्षेत्रमा पनि कांग्रेसकै उम्मेदवार उठाउन गठबन्धन दलहरुलाई दबाब दिँदै आइरहेको छ । माओवादीले २०७४ को चुनाव जितेको सोलुखम्बु, जाजरकोट, कालिकोट, गोरखा १, नुवाकोट १ मा पनि काँग्रेसले दाबी गरेको छ ।

डोटी १ मा नेकपा एसका बहालवाला सांसद प्रेमबहादुर आले रहेपनि काँग्रेसले वीरबहादुर बलायरका लागि दाबी गरिरहेको छ । रौतहट १ मा माधव नेपाललाई छाडेको खण्डमा काँग्रेसले काठमाडौं २ मा दाबी गर्ने गरी कुरा राखेको बुझिएको छ । दाङ १ र ३ मध्ये कुनै एकमा काँग्रेसको दाबी छ ।

यसैगरी, जसपाका बहालवाला सांसद रहेका बारा, सर्लाही, रौतहटलगायत तराईका जिल्लाहरुमा काँग्रेसले दाबी छाडेको छैन ।


सम्बन्धित समाचार