थानकोटमा कुटिए होटल सञ्चालक, २ जना पक्राउ

16k Shares

काठमाडौं, ३० साउन । चन्द्रागिरी नगरपालिका–७ थानकोटमा रहेको राजु खाजा घरका सञ्चालक राजु केसीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका–५ का ३० वर्षीय सागर प्रकाश श्रेष्ठ र नुवाकोटको बिदुर नगरपालिका–५ का ३३ वर्षीय आकाश भनिने प्रमोद बोगटी छन्। उनीहरुलाई साउन २८ गते सानो भर्‍याङ र बाफलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता दिनेशराज मैनालीले बताए ।

साउन २४ गते दिउँसो १ बजेतिर खाजाघरमा प्रवेश गरेर दुई युवकले केसीमाथि फलामको पाइपले कुटपिट गरेर फरार भएका थिए । कुटपिटबाट श्रीमान् गम्भीर घाइते भएको भन्दै केसीकी श्रीमतीले प्रहरीलाई खबर गरेकी थिइन् ।

प्रहरी अनुसन्धानको क्रममा प्रदेश ३–०२–००५ प ३६४० नम्बरको मोटरसाइकलमा आएका व्यक्तिले कुटपिट गरेर फरार भएको खुलेको थियो । त्यसपछि कुटपिटमा संलग्नहरुको पहिचान गर्दै प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

करिब एक हप्ताअघि खाजा खान जाँदा केसीसँग विवाद भएको र त्यही रिसिइबीका कारण कुटपिट गरिएको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका दुबै जनाविरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित समाचार