गठबन्धनबीच यसरी हु“दैछ सिट बाँडफाँड

20.5k Shares

काठमाडौं । सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्दा २०७४ सालमा प्रत्यक्षतर्फ विजयी भएका दलले उक्त सिट छाड्नुनपर्ने भद्र सहमति पहिल्यै भइसकेको छ ।
बाहिर जे जस्ता क्रियाकलाप देखिएपनि यसअघि भएको भद्र सहमति अनुसार नै नेताहरु चल्ने हुन् । विश्वस्त स्रोतका अनुसार गठबन्धन बन्दा नै शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्न साथ दिने प्रत्यक्षतर्फ विजयी उम्मेदवारहरुको सिट भविष्यमा सुरक्षित हुने गरी भद्र सहमति भएको थियो । सहमति अनुसार प्रत्यक्षतर्फ नेपाली काँग्रेसका २३, नेकपा माओवादी केन्द्रले जितेका ३६, नेकपा एमालेबाट फुटेर बनेको नेकपा एसका १२, जसपाका ११ र राष्ट्रिय जनमोर्चाका १ सिट सम्बन्धित दलले नै पाउनेछन् । प्रभावशाली नेताहरु २०७४ सालमा चुनाव हारेको भए जित्ने उम्मेदवारलाई अन्यत्र व्यवस्थापन गर्ने गरी सिट बाँडफाँड मिलाउने सहमति पनि बनेको थियो ।
विगतको भद्र सहमति पालना भएमा १६५ सिटमध्ये ८३ सिटमा यसअघि चुनाव जितेकै दलले सिट पाउनेछ । बाँकी ८२ सिट मात्र बाँडफाँड मिलाउनुपर्ने हुन्छ । नेपाली काँग्रेसले एक सय सिट दाबी गरेको छ । माओवादीले ५० सिट दाबी गरेको छ । दाबी गरेपनि उनीहरुले सबै सिट नपाउने निश्चित नै छ । देउवा प्रधानमन्त्री बन्नुअघि भएको भद्र सहमति, २०७४ को चुनावको आधार र स्थानीय चुनावको परिणामलाई आधार मान्दा काँग्रेसले आधा र बाँकी दलले आधा सिट पाउने सम्भावना बलियो बनेको छ । यसमा सहमति नभए गठबन्धन नै धरापमा पर्न सक्छ ।
यसैगरी, पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सत्ता गठबन्धनबारे सिट बाँडफाँटको मोडालिटी प्रस्तुत गरेका छन् । उनले मङ्गलबार देउवालाई बालुवाटारमा भेटी २०७४ को निर्वाचनको परिणामलााई मुख्य आधार मानेर मोडालिटी बनाउनुपर्नेमा जोड दिए । खनालले स्थानीय निकायको निर्वाचन परिणामलाई पनि आधार मानेर सिट बाँडफाँडबारे कुराकानी केन्द्रित गरे । खनालले प्रत्यक्षतर्फ जुन दलको सांसदले जितेको हो उही दललाई उक्त सिटमा चुनाव लड्न दिने र अन्य ठाउँमा पछिल्लो चुनावी परिणाम र विगतको परिणामलाई आधार मानेर बढ्नुपर्ने पक्षमा छन् । खनालको प्रस्तावप्रति देउवा सकारात्मक भएको र सबैलाई न्यायोचित सिट बाँडफाँडको सुनिश्चितता प्रदान गर्ने बताएको बुझिएको छ ।
कसलाई समस्या
सत्ता गठबन्धनका प्रमुख नेताहरु तालमेल भएपनि टिकट पाउनेमा ढुक्क छन् । प्रत्यक्षतर्फ चुनाव नजित्ने अवस्था बनेमा कतिपय समानुपातिकको बन्दसूचीमा अगाडि नै अटाउने रणनीतिमा पनि छन् । टिकट पाउनेमा ढुक्क भएपनि गठबन्धनका प्रभावशाली नेताहरुलाई चुनाव सजिलो छैन । तीन दशकभन्दा लामो समययता एकै अनुहार देखेकाले मतदाता असन्तुष्ट छन् । विशेषगरी नयाँ पुस्ता नयाँ अनुहारको खोजीमा देखिन्छ । चुनावमा नयाँ अनुहार अगाडि आउन सजिलो भने छैन । पुराना अनुहारहरु अझै नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणका लागि तयार छैनन् ।
प्रभावशाली नेताहरु टिकटमा ढुक्क भएपनि चुनाव जित्ने सुनिश्चितताका लागि तालमेल र गठबन्धनमा जोडबल गरिरहेका छन् । तर, टिकट पाउने सुनिश्चित नभएपछि पछिल्लो पुस्ता तालमेलको विरोधी देखिएका छन् । विशेषगरी नेपाली काँग्रेसभित्र तालमेलको चर्को विरोध गर्नेमा तेस्रो र चौंथो पुस्ताका नेताहरु बढी देखिएका छन् । उनीहरुका लागि तालमेलले टिकट नै मुश्किल गरिदिने सम्भावना छ । एकातर्फ, चुनाव जित्न प्रभावशाली नेताहरु तालमेलमा जोड दिइरहेका छन् । अर्कोतर्फ, टिकट नपाउँदा पाँच वर्ष राजनीतिमा पछि परिने निश्चित हुने र भविष्यसम्म धकेलिने भएकाले विद्रोहका स्वरहरु पनि सुनिन थालेका छन् ।

सम्बन्धित समाचार