काठमाडौं । प्रहरीको सरुवा र बढुवामा प्रत्यक्षरुपमा चासो बालुवाटारले राख्ने गरेको उदाहरणहरु धेरै छन् ।
प्रहरीमा वरीयता, कार्यकुशलता, व्यावसायिक क्षमता भनिए पनि बढुवा सूची तयार पार्दा बालुवाटार र सत्ता निकटकै चासो र उनीहरुकै चाकडीवाजहरुले बढुवा र सरुवा हुने गरेका कारणले पनि प्रहरी संगठनभित्रै इमान्दार प्रहरी अधिकृतहरुले असन्तुष्टि पोख्दै आइरहेका छन् ।
नेपाल प्रहरीमा अहिले १७ डीआईजीको दरबन्दी रिक्त छ । जसका लागि २७ जना एसएसपी प्रतिष्पर्धामा छन् । प्रतिष्पर्धामा वरीयता, कार्यकुशलता, व्यावसायिक क्षमता भनिए पनि बालुवाटारको सूचीमा पर्ने र सत्तारुढ दलका शीर्ष नेताहरुले च्यापेकै व्यक्ति डीआईजी बढुवामा पर्ने इमान्दार प्रहरी अधिकृतहरुले ठम्याएका छन् ।
इन्सपेक्टरबाटै डीएसपी बढुवादेखि आईजीपीको प्रतिष्पर्धासम्म प्रधानमन्त्री, उनी निकटका आफन्त, सत्तारुढ दलका नेता, गृहमन्त्री रिझाउन प्रहरी अधिकारी सक्रिय हुन्छन् ।
इमान्दार प्रहरी अधिकारीहरु भन्छन्, ‘बालुवाटार सकारात्मक नभएसम्म बढुवामै परिँदैन । अझ प्रधानमन्त्रीभन्दा पनि उहाँका स्वकीय सचिव, आफन्त रिझाउनुपर्ने बाध्यता छ । वरीयता, नम्बर केही हेरिँदैन । यस्तोमा इमान्दार अधिकृतहरु बढुवा, सरुवामा छुट्दै गरेको घटनाहरु धेरै नै छन् ।
प्रहरीमा बढुवा सूची बढुवा समितिले तयार गर्छ । तर त्यसले सूची तयार पारे पनि बालुवाटारबाट आएकै नामहरु सदर गर्नेमात्रै काम हुने प्रहरी अधिकारीहरुको जिकिर छ ।
बहालवाला उच्च प्रहरी अधिकारीहरु भन्छन्, ‘प्रहरीका अधिकांश अधिकारीहरु कुनै न कुनै नेताहरुसँग जोडिएका छन् । व्यावसायिकता ह्रास हुँदै गएको छ । नेताको चाकडी नगरे बढुवा नहुने भएपछि यस्तो अवस्था आएको हो । यसले प्रहरी कमजोर हुँदै गएको छ ।’
चाकडीबाहेक आर्थिक चलखेल पनि ठूलो हुने गरेको छ । जानकारहरुका अनुसार इन्सपेक्टरबाट डीएसपी हुँदै आईजीपीसम्मै चलखेल हुन्छ । चलखेल गर्न सक्नेहरु सफल हुने र नसक्नेहरुलाई जुनियर ब्याचले उछिनेको घटनाहरु थुप्रै छन् । यसअघि पनि आईजीपी शैलेश थापा क्षेत्रीको पालामा उनका ब्याचीहरु एसएसपी थिए भने जुनियर ब्याचीहरु डीआईजी र एआईजी भएका थिए ।
अहिले पाँच डीआईजीलाई एआईजी बढुवामा सिफारिस गरिएपछि नेपाल प्रहरीमा १७ डीआईजीको दरबन्दी रिक्त छ । रि क्त १७ डीआईजीका लागि २७ एसएसपीहरुको दौडधुप चलिरहेको छ । २७ एसएसपी मध्ये चार महिला प्रहरी अधिकृत पनि छन् । अहिले प्रदेश प्रहरीको नेतृत्व डीआईजीले गर्दै आएका छन् । १७ डीआईजीका लागि दुई ब्याचका एसएसपीहरू प्रतिस्पर्धामा छन् । बढुवामा पर्ने शक्तिकेन्द्र धाउन थालेका छन् । यसबाहेक उनीहरूले विभिन्न सम्पर्कसूत्र समेत प्रयोग गरिरहेका छन् ।
डीआईजीको प्रतिस्पर्धामा एसएसपीहरू उमेशराज जोशी, रामदत्त जोशी, सन्दीप भण्डारी, टेकप्रसाद राई, श्यामलाल ज्ञवाली, दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल, सुदीप गिरी, दुर्गा सिंह, टेकबहादुर तामाङ, वसन्तबहादुर कुँवर, भीमप्रसाद ढकाल, जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, अशोक सिंह, रवीन्द्र केसी, राजेशनाथ बाँस्तोला, किरण राणा, लालमणि आचार्य, यज्ञविनोद पोखरेल, चन्द्रकुवेर खापुङ, मीरा चौधरी, दुर्गा सिंह र किरण राना डीआईजीको प्रतिस्पर्धामा छन् ।
यसपटकको डीआईजी बढुवामा व्यापक आर्थिक र अन्य चलखेल भइरहेको प्रहरी प्रहरी अधिकारीहरुले खुलेरै बताउने गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकिकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले पनि डीआईजी बढुवामा चासो राखेको स्रोतको दाबी छ ।
अहिले एक नम्बर डीआईजी बन्ने व्यक्ति नै यही सत्ता समीकरण रहेको अवस्थामा आईजीपी बन्न सक्ने भएकाले एक नम्बरमा पर्न एसएसपीहरुको दौडधुप छ ।