लमजुङ, २३ जेठ । लमजुङमा सञ्चालन गरिएको पहिलो फुटसल प्रतियोगिताकाे उपाधि बेसीसहर नगरपालिकाले जितेको छ । संघ, प्रदेश र स्थानीय तहबीचको प्रथम फुटसल प्रतियोगिताको उपाधि बेसीसहर नगरपालिकाले जितेको हो ।
पहिलो उपाधिका साथ नगरपालिका टिमले टिमले २६ हजार बारबरका खसी ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । प्रतियोगिता सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल(सिडेन)ले आयोजना गरेको हो । प्रतियोगितामा तनहुँ, लमजुङ र गोरखाका गरी कुल १० टिमले भाग लिएका थिए ।
प्रतियोगिताको फाइनल खेल बेसीसहर नगरपालिकाको टिम र बैंकर्स टिम लमजुङका बीचमा भएको थियो । प्रतियोगिताको फाइनल खेलमा शून्यका विरुद्धमा १० गोल गर्दै बेसीसहर टिम पहिलो भएको हो । बेसीसहरले पहिलो हाफमा पाँच र दोस्रो हाफमा पाँच गोल गरी १० गोलसहित जित हासिल गरेको हो ।
प्रतियोगितामा विजयीलाई नेपाली कांग्रेसका निवर्तमान सभापति भेषबहादुर पौडेल, सिडेन नेपालका निवर्तमान उपाध्यक्ष लक्ष्मण केसी, कांग्रेस गण्डकी प्रदेशको संगठन विभागका प्रमुख हरिप्रसाद बरालले संयुक्त रूपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
विजेता खेलाडीलाई २६ हजार रुपैयाँ बराबरको खसी तथा दोस्रो हुने टिमलाई १७ हजार रुपैयाँ बराबरको बोका, ट्रफी तथा मेडल र प्रमाणपत्र दिइएको सिडेनका जिल्ला अध्यक्ष इन्जिनियर दिपेन्द्र रावलले बताए ।