कस्तो व्यायाम रोज्ने ?, कस्तो अवस्थामा नगर्ने ?

17.6k Shares

 राम्रो स्वास्थ्य, दृढ हाडहरु, दक्ष रक्त संचालन र उद्बेग विनाको नाडी मण्डलको विकास मानिसले तबसम्म गर्न सक्दैन जबसम्म उसले नियमित रुपमा सबै मांसपेशीहरु र जोर्नीहरु सम्मिलित हुने व्यायाम गर्दैन । त्यसैले शारीरिक तथा मानसिक स्वास्थ्य ठीक गर्न उचित व्यायाम गर्नुपर्छ ।

हामीले व्यायामको छनौट गर्दा शरीरका सबै अंगहरु, मांसपेशीहरु र जोर्नीहरुको संचालन हुने व्यायामको छनौट गर्नुपर्छ । सबै अंगहरु र जोर्नी संचालन हुने व्यायायाम गरेपछि सबै जोर्नीहरुको लचकता कायम रहन्छ । शरीर भरी सबैतिर रक्तसंचालन, स्वास संचालन र स्नायू संचालन सामान्य रुपमा भैरहन्छ । यदि मानिसले शरीरका सबै जोर्नीहरु र मांसपेशीहरु संचालन हुने परिश्रम गर्छ भने व्यायामको खासै जरुरत पर्दैन तर मानिसले गर्ने अधिकांश परिश्रमले शरीरको एउटा भाग मात्र बढी प्रयोगमा आउँने भएकोले प्रयोगमा नआउँने भागहरुको लचकता र क्षमतामा कमी हुन जान्छ । त्यहाँ स्नायू र रक्तसंचारमा गडबडी भई अनेकौ रोगको सिकार हुने, बढी मोटाउँने, शरीर कमजोर हुने समस्या आउँने गर्छ ।

सबै अंगहरु र जोर्नीहरु संचालनको लागि शरीरको लचकता कायम राख्नको लागि सुक्ष्म अंगव्यायामहरु र योगासनहरु उपयोगी हुन्छन् । सुक्ष्म अंगव्यायाम र योगासन गर्दा धेरै शक्ती पनि खर्च हुदैन र शरीरलाई लचिलो बनाउँने काम पनि हुन्छ । विभिन्न किसिमका बढी शक्ति खर्च हुने व्यायामले शरीरको तौल क्षणिक रुपमा घटेपनि, शरीरको आकार ठाउँमा आएपनि उचित आहार र उचित विचारको पथप्रदर्शन नहुने हुनाले पाचन ठिक नहुने र मनमष्तिस्क अस्वस्थ नै रहने समस्या देखिन्छ । त्यस्तै विभिन्न किसिमका मार्सल आर्ट, कुस्ति, भारोत्तोलन, मुक्केवाजी, कराँते, तेक्वाण्डो आदि पनि व्यायाम नै हुन् तर ती स्वास्थ्यको लागि भन्दा जित्नको लागि गरिने, प्रतिस्पर्धाको लागि गरिने व्यायाम हुन् । स्वास्थ्यको लागि जित्ने, धपेडी र प्रतिस्पर्धाबाट टाढै रहनु पर्छ । ती व्यायामहरुले उत्तेजना बढाउने हुनाले स्वास्थ्यको लागि उत्तेजित हुनु जरुरी नभएको मात्र होइन की हानिकारक समेत हुन्छ । मानिसलाई सधै चाहिने भनेको शान्ति र आनन्द हो । सुक्ष्म अंगव्यायामहरु र योगाआसन, व्यायामहरु शान्तसंग गरिन्छ । कसैलाई हराउँने र जित्ने उदश्य हुदैन, राखिदैन । सुक्ष्म अंगव्यायाम र योगआसन गर्दा शान्ति नै उत्पन्न हुन्छ । त्यसैले सबैभन्दा उत्तम व्यायाम नै सुक्ष्म अंगव्यायामहरु र प्राणायामको मेलसंग गरिएको होस् त्यो व्यायाम र प्राणायाम नै सर्बोत्तम व्यायाम हुन्छ ।

कस्तो अवस्थामा व्यायाम नगर्नेः

– महिलाहरुले महिनावारी भइरहेको अवस्थामा आफुलाई अफ्ठेरो भइरहेसम्म व्यायाम–आसन नगरी उचित आहार र पानी संगै आरामै रहनु बेस हुन्छ ।

– चर्को तिब्र रोगहरु जस्तै रुघा, झाडाबान्ता, निमोनिया, जण्डीस आदिमा व्यायाम गर्नु हुदैन ।

– युरिक एसिड तथा बाथका कारणले शरीरमा सुन्निने र दुख्ने अवस्था छ भने व्यायाम नगर्ने ।

– मेरुदण्डको भर्टेब्राहरु विचको डिस्क सिल्प भएर हुने चर्को दुखाईमा पनि व्यायाम बाट हानी हुन्छ ।

– रक्तचाप चर्को बढेको,  सुगर चर्को बढेको अवस्था, दमले च्यापेको अवस्थामा पनि व्यायाम नगर्ने ।

– पेट भित्र आन्द्रामा घाँउ भई आन्तरीक सुजन भई रक्तस्राब भएको अवस्था, मुटु सम्बन्धी समस्याको      तिब्र अवस्थामा पनि व्यायाम नगर्ने ।

– अत्यधिक तौल बढी हुने व्यक्तिले जटिल खालको व्यायाम नगरी हल्का मर्निङ वाक मात्र गर्ने ।

कुन अवस्थामा व्यायामले लाभ गर्छः

यी माथिका अवस्थाहरु बाहेक अन्य स्थितीमा व्यायाम आसनले लाभ नै गर्छ । अंग स्थितीको गडबडीको कारणले हुने मेरुदण्ड, हात खुट्टा देखि सम्पूर्ण शरीरमा हुने दुखाई, लामो समय देखि रहेको जिर्ण दुखाईमा उचित किसिमका उचित मात्रको व्यायाम आसनले लाभ नै गर्छ । सामान्य स्वस्थ अवस्थामा व्यायाम, आसन, प्राणायामले लाभ नै हुन्छ । प्रकृति प्रेमी, निरोगधामका सस्थापक डा. उमेश श्रेष्ठले एकघण्टे योगव्यायाम, प्राणायाम र ध्यानको सेट तयार गर्नु भएको छ । यो सेटको अभ्यास सुमेरु योग व्यायामशालाले हरेक विहान ५ः३० देखि प्रशिक्षण संचालन गर्दै आएको छ ।

व्यायाम आसनका लाभहरुः

– नियमित व्यायामले शरीरलाई लचिलो र फुर्तिलो बनाउँछ ।

– भोक र पाचन शक्तिलाई बलियो बनाउँन आवश्यक मर्म स्थलहरु ससक्त बनाउँछ

– मोटोपनबाट बच्न र यसबाट मुक्ती पाउँन पनि दैनिक व्यायाम गर्नुपर्छ ।

– व्यायाम आसनले अनिद्रा हटाउँन पनि सहयोग गर्छ ।

– नाडीमण्डल र मष्तिस्क स्वस्थ बनाउँन पनि व्यायाम गर्नुपर्छ ।

– शरीरका अन्तश्रावी ग्रन्थीहरुलाई नियन्त्रण गर्न सहयोग गर्छ ।

– रोगप्रतिरोधात्मक क्षमता बढाउँन पनि व्यायामले सहयोग गर्छ ।

– व्यायाम आसनको नियमित अभ्यासले प्राणायाम, प्रत्याहार, धारणा एंव ध्यानको लागि शरीरलाई स्थिर बनाउँने काम पनि गर्छ ।

त्यसैले स्वास्थ कायम राख्न उचित व्यायाम गर्नुपर्छ तर व्यायाम आसन नै सबथोक होइन । उचित आहार, विहार र विचार पद्धति स्वास्थ विज्ञानको समग्र हो भने व्यायाम भनेको मानिसकोे विहारको एउटा अंशमात्र हो । आहार, विहार र विचारका अन्य पक्ष उचित नभईकन व्यायामले मात्र स्वास्थ्य कायम राख्न सक्दैन । यस तथ्यको आधारमा कुनै पनि व्यायामले मात्र शरीरको कुनैपनि एक– दुईवटा अंगलाई मात्र लाभ पु¥याउने भन्ने हुदैन किनभने सबै अंगहरु एक आपसमा सम्बन्धित हुन्छन् । त्यसैले यो आसनबाट यी अंगको लाभ, हानी भनी चर्चा गर्नु टुक्रे कुरा मात्र हुन जान्छ ।

योगआसनका अधिकांश व्यायामहरु अधिकांश अवस्थामा लाभदायक नै हुन्छन् किनभने ती व्यायामहरु गर्दा क्यालोरी खर्च हुदैन । कम शक्ति खर्च हुने अवस्थामा मानिसले अति आहार गर्नुपर्छ भन्नेमा ध्यान जादैन बरु अति आहार जस्तै माछा, मासु, अण्डा, दुग्ध पदार्थ जस्ता बढी प्रोटिन प्रधान आहारको अति सेवन गर्दा  अपचभई हानी पनि हुन सक्छ । त्यसैले बढी शक्ति खर्च हुने व्यायाम मात्र गराउँने उचित आहार र विचार ढाँचा नसिकाउँने हो भने शारीरिक रुपमा स्वस्थ देखेपनि मानसिक रुपमा शान्त र आनन्दित रहन  सक्दैन तसर्थ राम्रो स्वास्थ्य र दिर्घ यौवन तथा जिवनको लागि उचित व्यायामको साथसाथै बेलामा सुत्ने, बेलामा उठ्ने, विहान व्रम्ह मुरतको स्वच्छ वायुपान गर्दै व्यायाम गर्ने, विहान सधै नुहाउँने, मेरुदण्ड सदा सोझो खुकुलो राख्ने, खाना सधै चपाएर खाने, परिश्रम पछि उचित आराम गर्ने, शरीरका विभिन्न वेगहरु नरोक्ने, चर्को रिस, चिन्ता, खुशी र थकाइमा नखाने । खाना साथ ननुहाउँने र नुहाउँनासाथ खाना नखाने र मुख्य कुरा कुनै पनि विहारमा अति नगर्ने । त्यस्तै मनमा चिन्ता, भय, ईष्या, लोभ, मोह, घृणा, प्रतिशोध, ठगी, प्रतिस्पर्धा जस्ता कुविचार त्यागी सदा उचित विचार अपनाउँदा मनमा सदा आनन्दले वास गर्छ । आफ्नो शरीरलाई मापदण्ड बनाएर उचित आहार, विहार, विचार गर्दा सदा निरोग र आनन्द कायम गर्न सकिन्छ ।

(डंगोल योग तथा उचित आहार विहार विचार प्रशिक्षक हुन्)

सम्बन्धित समाचार