काठमाडौं । पहिलो खेलमा ६ विकेटले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज जिम्बाब्वे ‘ए’विरुद्ध दोस्रो ट्वान्टी–२० क्रिकेट खेल्दैछ ।
तीन खेलको ट्वान्टी–२० शृङ्खला जोगाउन पनि आज नेपाललाई जित्नै पर्ने दबाब छ । पाहुना टोली जिम्बाब्वेले आजको खेल जिते २–० को अग्रता लिँदै शृङ्खला जित्नेछ ।
आजको खेल पनि र्कीतिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजे हुनेछ । नेपाललाई आज हारको बदला लिने मौका छ ।
आइतबार सम्पन्न पहिलो खेलमा नेपाल जिम्बावेसँग ६ विकेटले पराजित भएको थियो । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका लागि निम्त्याइ्एको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १८१ रन बनाएको थियो । १८२ रनको लक्ष्य जिम्बाब्वेले १८.५ ओभरमा चार विकेट गुमाएर पूरा गरेको हो ।
जिम्बाब्वेका मरुमानीले ४१ बलमा तीन चौका र तीन छक्कासहित ५६ रन बनाए । मुनयोङगाले २३ बलमा सात छक्कासहित ५० रनको योगदान गरे । इनोसेन्ट काइयाले ४७ रन जोडेका थिए ।
त्यसअघि नेपालका कुशल भुर्तेलले ४६, आसिफ शेखले ९, रोहितकुमार पौडेलले ३६, दीपेन्द्रसिंह ऐरीले २८, आदील आलमले ४७ रन बनाएका थिए ।
ट्वान्टी–२० शृङ्खलापछि नेपालले तीन खेलको एकदिवसीय शृङ्खला खेल्नेछ ।