ललितपुरको पाटन दरबार स्क्वायरस्थित व्यापारीहरुको आराध्यदेव भिमसेन मन्दिरको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् ।
प्रधानमन्त्ती देउवाले हामी आफ्नो सम्पदा आफैँ बनाउन सक्षम छौं भन्दै धार्मिक सम्पदा निर्माणमा नीजि क्षेत्रको सहयोग पनि अपरिहार्य भएको यो मन्दिर निर्माण कार्यले देखाएको उल्लेख गरेका थिए ।
प्रधानमन्त्री देउवाले स्थानीय तहलाई विकासको काममा जिम्मेवारी दिन आवश्यक रहेको उल्लेख गर्दै स्थानीय सरकारद्वारा निर्माण भएका विकास सम्बन्धी अधिकांश काम राम्रो, छिटो र गुणस्तरी रहेको बताए । उनले भने, ूस्थानीय तहलाई नै विकासको काममा जिम्मेवारी दिन अतिआवश्यक छ । अहिलेसम्म राम्रो काम भएको पनि छ । सबै ठाउँमा त भन्न सकिँदैन । ऐतिहासिक धाम र सांस्कृतिक दृष्टिकोणले भरिपूर्ण रहेका ललितपुर कला संस्कृतिको क्षेत्रले चिनिन्छ ।ू
पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिरको पुनःनिर्माण ललितपुर उद्योग बाणिज्य सङ्घको अगुवाइमा भएको हो र यसमा ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । ललितपुर उद्योग बाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछयोंले २०७२ सालको भूकम्पले क्षति पुगेको मन्दिर पाँच वर्ष लगाएर पहिलेकै शैलीमा निर्माण गरिएको जानकारी सो मन्दिर उद्घाटन कार्यक्रममा जानकारी गराएका थिए ।
अध्यक्ष न्याछयोंका अनुसार करिब चार करोड ९७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको मन्दिर स्थानीय व्याबसायी र दाताहरुको आर्थिक सहयोगमा भएको जानकारी गराए ।
पाटन दरबार क्षेत्रमा रहेको भीमसेन मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले पनि आर्थिक सहयोग गरेको थियो । फाइन आर्ट सिटीको नामले चिनिएको ललितपुरको पहिचान यहाँको सम्पदा हुन् । यो मन्दिर झण्डै तीन सय वर्ष अघि श्रीनिवास मल्लको पालामा निर्माण भएको हो ।
विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्प र पटक–पटक आएको पराकम्पनका कारण मन्दिरको माथिल्लो तलाको गारो थाम्ने थाम, दलिन र बिम भाँचिएर भित्तासमेत चिराचिरा परेको थियो । यस्तो अवस्थामा महानगरपालिका र हामी व्यापारीहरुको पहलमा चन्दा संकलन गरी आफैले भिमसेन मन्दिरको निर्माण कार्य सुरु गरेका हौं, र हामीले पहिलेकै अवस्थामा मन्दिर निर्माण सम्पन्न गर्न पनि सफल भएको ललितपुर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले जानकारी गराएका छन् ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण मन्दिर पुननिर्माण कार्यमा केही ढिला भए पनि हामीहरुको अथक प्रयासले मन्दिर पुननिर्माण कार्य पूरा गरी उद्घाटन गर्न सफल भएको निवर्तमान अध्यक्ष महर्जन बताउँछन् ।
मन्दिरको सबभन्दा माथि ३०० वर्ष पुरानो सुन लेपन गरिएको तामाकै छाना सफा गरी पुनः प्रयोग गरिएको, मन्दिरको माथिल्लो तलामा काठ हाल्ने कामदेखि लिएर मन्दिरको पुरानै गजुर प्रयोग गरी प्राचीन शैलीमा निर्माण गर्न सफल भएको महर्जनको भनाई रहेको छ ।
’हाम्रो सम्पदा हामी आफैं बनाऔं’ भन्ने नाराका साथ मन्दिर पुनर्निर्माणमा लाग्दा विदेशीसँग हात फैलाउन नपर्ने उदाहरण प्रमाणित गर्न सफल भएको संघका निवर्तमान अध्यक्ष महर्जन बताउँछन् ।
मन्दिर पुनर्निर्माणका निर्माणका लागि दाताबाट लगभग पाँच करोड रुपैयाँ आर्थिक सहयोगमा मन्दिर पुननिर्माण कार्य गर्न सफल भएको निवर्तमान अध्यक्ष महर्जनको उल्लेख गरेका छन् ।
भारत सरकाले पुनःनिर्माण गर्ने भनिएको यस मन्दिर भूकम्प गएको चार वर्ष बितिसक्दा पनि कसैले चासो नदेखाएपछि ‘हाम्रो सम्पदा हामी आफैं बनाऔं’ भन्ने नाराका साथ स्थायनीयबासी आफैं जुटेर आर्थिक संकलन गरी मन्दिर पुननिर्माणको अघि बढाइएको हो, सम्पन्न गर्न पनि हामी सफल भइयो । सो मन्दिर पुनःनिर्माणमा सुन लेपनदृेखि लिएर सम्पूर्ण खर्च पाँच करोड हाराहारीमा लागेको उनी बताउँन् ।
मन्दिर पुननिर्माणको कार्य थालनी अगाडि मन्दिरको गजुर, तामा र धातुको पातालगायत अन्य महत्पूर्ण वस्तुको जिम्मा पुरातत्व विभाग, स्मारक संरक्षक तथा दरबार हेरचाह कार्यालय पाटन दरबार सङ्ग्रहालयलाई दिएको थियो ।
चार शताब्दीभन्दा पुरानो इतिहास बोकेको मल्लकालीन भीमसेन मन्दिर उपत्यकाकै नमूना धरोेहरका रूपमा प्यागोडा शैलीमा निर्माण भएको छ ।
मन्दिरको माथिल्लो तल्लाको गजुर तथा धातुको छाना निकालेर मर्मत गरी पुनः राख्ने काम पाटन हौगल टोल निवासी कल्याणकृष्ण ताम्राकार र मन्दिरलाई चाहिने डाँची र इँटा दक्षिण बाराही ब्रिक फ्याक्ट्रीका हीराकाजी अनि तीर्थलाल महर्जनले सहयोग गरेको संघले जनाएको छ ।
भीमसेन मन्दिर रहेको पाटन दरबार क्षेत्रलाई विश्व हस्तकला परिषद्ले विश्वको ३५ औँ कला नगरी घोषणा गरिसकेको छ । पाटनका प्रसिद्ध धरोहरका रूपमा सो लगायत कृष्ण मन्दिर, चारनारायण, दरबार सङ्ग्रहालय, अशोक स्तम्भ तथा हिरण्यवर्ण महाविहार आदि रहेका छन् । पाटन परम्परादेखि चीनको खासा, ल्हासा र भुटानको थिम्पुसम्म हस्तकलाको व्यापार गर्ने व्यापारीको पुरानो थलो पनि हो ।
उक्त मन्दिर परिसरबाट आवतजावत गर्ने हजारौं स्वदेशी र विदेशीलाई दुर्घटना हुन नदिन मन्दिर पुनःनिर्माण अवधिभर ललितपुरवासी स्वयं अग्रसर भई मन्दिर पुननिर्माण कार्य सम्पन्न गर्न सफल भएको संघका निवर्तमान अध्यक्ष महर्जन बताउँछन् ।
मन्दिर पुनःनिर्माणमासम्पूर्ण प्राविधिक सहयोगको जिम्मा काठमाडौं भ्याली प्रिजर्भेशन ट्रष्ट (केभिपिटी) ले लिएको थियो भने नेपाल सरकार राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, पुरातत्व विभाग, मङ्गल टोल सुधार समिति, ललितपुरका जातीय समाजलगायत विभिन्न सङ्घसंस्थाहरु लागेकै कारण पनि चाँडै नै मन्दिर पुनःनिर्माण गर्न सफल भएको निवर्तमान अध्यष महर्जन बताउँछन् ।
पाँच पाण्डवका माइला भाइ भीमसेनको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास आम व्यवसायीको छ । पाँच पाण्डवमध्येका माइला भाइ भीमसेनलाई नेवार समुदायले आराध्य देवका रूपमा पुज्ने गरेको छ । भीमसेन मन्दिरको दर्शन र पूजाआजा गर्नाले व्यापारमा फलिफाप हुने विश्वास पाटनका व्यवसायीमा रहेको छ ।
व्यापारीहरुको आराध्य देवताको रुपमा रहेको भीमसेन मन्दिर पुनःनिर्माण व्यापारी सङ्घकै अगुवाइमा शुरु भएको हो । ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णलाल महर्जनको अध्यक्षतामा रहेको समितिमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, ललितपुर जिल्लाका सबै क्षेत्रका प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य र स्थानीय टोल सुधार समितिका पदाधिकारी रहेका छन् ।
भीमसेन मन्दिर भूकम्प र त्यसपछिका परकम्पनले गर्दा कुनै पनि समयमा भत्कन सक्ने हुँदा भत्काउन शुरु गरिएको समितिका अध्यक्ष महर्जनले बताए । मन्दिर भत्कँदा जनधनको क्षति हुनसक्ने भन्ने विज्ञको सुझावका आधारमा चाँडो सक्ने योजनाका साथ काम शुरु गरिएको उनले बताए । उनले भने, ूविज्ञले चाँडो मन्दिर भत्काउन नथाल्ने हो भने आफैँ भत्कन सक्ने बताएकाले जनधनको क्षति हुनबाट जोगाउन र पुनःनिर्माण कार्य थालनी गर्न सरकारको मुख नताकी हामी स्वयम्ले भत्काउन शुरु गरेका हौँ ।
मन्दिर निर्माणका लागि काठमाडौँ उपत्यकासँगै देशभरका व्यापारीसँग सहयोग सङ्कलन गरी मन्दिर पुनः निर्माण कार्य थालनी गरेको महर्जन बताउँछन् । मन्दिर पुनःनिर्माणको लागि भुकम्पले क्षतविक्षत पारेको मन्दिरलाई भत्काई पुरानै शैलीमा पुनःनिर्माण कार्यका लागि आर्थिक सहयोग संकलन गरी मन्दिर पुनःनिर्माण गर्न सफल भएको हो । मन्दिर भत्काउन सकिँदासम्म मन्दिरको पुनःनिर्माणका लागि आवश्यक रकम जुट्ने अपेक्षासाथ अगाडि बढेको र सोही अनुसार रकम पनि संकलन गर्न सफल भई चाँडै नै मन्दिर पुनःनिर्माण कार्य सम्पन्न गर्न सफल हुँदा निकै नै खुसी लागेको निवर्तमान अध्यक्ष महर्जन बताउँछन् । मन्दिर भत्काउने कार्य सुरु भएपछि मन्दिरका एक—एक सामाग्रीको विस्तृत अध्ययन गरी सामग्रीलाई सुरक्षित राखेर मन्दिर पुनःनिर्माण कार्य दुई वर्षमा सम्पन्न गर्ने योजनाका साथ अगाडि बढे पनि कोरोना भाइरसका कारण केही ढिला भए पनि हामीहरुले मन्दिर पुनःनिर्माण कार्य सम्पन्न गर्न सफल भएको निवर्तमान अध्यक्ष महर्जन बताउँछन् ।
यो मन्दिर यसअघि विसं २०६८ मा मर्मत भएको पाइन्छ । विसं १९९० को भूकम्पले क्षति नपुगेको मन्दिर विसं २०२३ मा पनि मर्मत भएको पाटन दरबार संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।
पाटन दरबार क्षेत्रमा रहेका अरु मन्दिरजस्तै भीमसेन मन्दिर काष्ठकलाले भरिपूर्ण रहेको छ । तीन तले मन्दिर निर्माण हुँदा झिङ्गटीकै छाना थिए । दाताको सहयोगमा माथिल्लो छाना र पहिलो तलाको झ्यालमा सुनको लेपन लगाएको पाइएको निवर्तमान अध्यक्ष महर्जनले बताए ।
नेपाल सम्वत् ८०१ मा राजा श्री निवास मल्लको पालामा मन्दिर निर्माण भएको मन्दिरको शिलालेखमा उल्लेख रहेको छ । पुरानो शान्तरुपी मूर्तिलाई विस्थापित गरेर राजा योगनरेन्द्र मल्लले नै पछि नयाँ मूर्ति राखेको भनाइ छ ।
मन्दिरमा अहिले रहेको मूर्ति कसरी निर्माण भयो भन्ने विषयमा रोचक किम्वदन्ती पाइन्छ । राजा योगनरेन्द्र मल्लले त्यतिबेलाका प्रख्यात कलाकारलाई भीमसेनको मूर्ति बनाउन लगाएका थिए । मूर्ति चित्त नबुझेपछि उनले दोस्रो पटक बनाउन लगाए । दुई पटकसम्म पनि आफूलाई चित्तबुझ्दो मूर्ति नबनाएपछि राजा निकै रिसाए । राजाको रिसाएको रुपलाई सम्झिएर कलाकारले मूर्ति बनाएको र त्यही मूर्ति राजालाई पनि मन परेको किम्वदन्ती पाइन्छ ।
वर्षेनी भाद्र कृष्ण त्रयोदशीका दिनमा भीमसेनको जात्रा हुने गरेको छ । भीमसेनको खट जात्रा गरेर नगर परिक्रमा हुने गरेको छ । नेपाल सम्वत् ८२२ मा राजा योगनरेन्द्र मल्लले नै जात्राको शुरु गरेका थिए ।