काठमाडौँ, १५ चैत । प्रधानमन्त्री शेरबहादुर देउवा आगामी शुक्रबार तीन दिने औपचारिक भ्रमणमा भारत जाँदैछन् । नेपाल र भारतका परराष्ट्र मन्त्रालयले सोमबार दिउँसो एकसाथ भ्रमणको घोषणा गरेका हुन् । आठ महिनाअघि प्रधानमन्त्री नियुक्त भएयता देउवा पहिलो पटक भारत जान लागेका हुन् ।
देउवा स्थानीय चुनावको मुखमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा जाने भएका छन् । भारत सरकारका एक अधिकारीले नेपालको आउँदो चुनावलाई हेरेर प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लागेको बताए । ‘भारतले नेपालको चुनावलाई विशेष महत्वका साथ लिएको छ। अहिले देउवालाई डाकेर मोदीले चुनावबारे सल्लाह गर्न खोजेका हुन्,’ ती अधिकारीले भने ।
उनका अनुसार भारत कांग्रेस र माओवादीबीच चुनावी तालमेल होस् भन्ने पक्षमा छ। वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ भने प्रदेश र संघीय संसदको चुनाव पनि अबको एक वर्षभित्र हुनेछ ।