११ जिल्लामा देखियो बर्डफ्लु, मानिसमा पनि जोखिम

21.7k Shares

काठमाडौं, ६ चैत । काठमाडौंको गोकर्णेश्वर नगरपालिका र चितवनको राप्ती नगरपालिकामा गएको माग २७ गते पहिचान भएको बर्डफ्लु देशभरका ११ जिल्लामा फैलिएको छ ।

पशु सेवा विभागका अनुसार ११ जिल्लाका कुखुराको नमुना परीक्षण गर्दा बर्डफ्लु पहिचान भएको हो । बर्डफ्लु देखिएका जिल्लामा काठमाडौं, भक्तपुर, ललितपुर, मोरङ, सुनसरी, उदयपुर, मकवानपुर, चितवन, सिन्धुली, पर्सा, धनुषा र कास्की छन् ।

यी जिल्लाका विभिन्न फार्ममा पालिएका व्यावसायिक कुखुराको नमुना त्रिपुरेश्वरस्थित केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लुको (एच ५ एन १ एभिएन एन्फ्लुएन्जा) प्रजाति पहिचान भएको हो । बर्डफ्लु पहिचान भएका स्थानहरूमा ६५ हजारभन्दा धेरै कुखुरालगायत घरपालुवा पक्षी नष्ट गरिएको छ ।

अहिले ती जिल्लामा संक्रमण नियन्त्रणमा आइसकेको पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकालले जानकारी दिए ।

मानिसमा देखिने बर्डफ्लुका लक्षणहरू

१. १००.४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउनु

२. सिँगान बगिरहने र नाक बन्द हुनु

३. घाँटी दुख्नु, रुघा लाग्नु

४. श्वासप्रश्वासमा समस्या आउनु

यसकारण मानिसमा जोखिम

नेपालमा अहिले देखिएको बर्डफ्लु मानिसमा पनि सर्न सक्ने भन्दै सजग रहन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । बर्डफ्लुको एच ५ एन १ एभिएन इन्फ्लुएन्जा प्रजाति मानिसमा पनि सर्न सक्ने भएकाले घरपालुवा पक्षीको हेरचाहमा खटिने व्यक्तिहरूले विशेष सावधानी अपनाउनुपर्ने मन्त्रालयले जनाएको छ ।

नेपालमा पहिलोपटक सन् २००९ मा बर्डफ्लु भित्रिएको थियो । २०१९ मा बर्डफ्लु संक्रमणबाट नेपालमा २१ वर्षीय एक युवकको मृत्यु भएको थियो ।

नेपालमा गएको वर्ष माघमा पनि बर्डफ्लु देखिएको थियो । सो समयमा एच ५ एन एट प्रजातिको बर्डफ्लु देखिएकाले मानिसका लागि त्यति घातक भएन ।

तर, योपटक देखिएको एचपीएआई एच ५ एन १ प्रजातिको बर्डफ्लु मानिसमा सरेमा यसको मृत्युदर ६० प्रतिशतसम्म हुने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुन बताउँछन् ।

उनका अनुसार एच ५ एन १ बर्डफ्लुका प्रजातिमध्ये सबैभन्दा घातक र संक्रामक भाइरस हो । यो संक्रमित पक्षीबाट मानिसमा पनि सर्छ र यसले प्रतिदशजनामध्ये ६ जनाको ज्यान लिन सक्छ ।

संक्रमित पक्षीको सम्पर्कमा आएका व्यक्तिहरूमा पक्षीको मुखबाट निस्कने छिटा, मलमूत्र, उडेका प्वाँखको माध्यमबाट एच फाइभ एन वान मानिसमा सर्दछ । कुखुरा, हाँसलगायत पक्षी व्यावसायिक रूपमा पाल्दै आएका कृषक, ढुवानीमा संलग्न श्रमिक, बजार तथा वितरणमा संलग्न व्यक्तिहरू र वधशालामा काम गर्ने श्रमिकहरू यो संक्रमणको प्रत्यक्ष जोखिममा रहने भएकाले विशेष सावधानी अपनाउनुपर्ने पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा. चन्द्र ढकाल बताउँछन् ।

बर्डफ्लु भित्रियो भन्नेबित्तिकै पक्षीको मासु र अन्डा खानु हुँदैन भन्नु गलत भएको डा. पुन बताउँछन् । कुखुरा, हाँस, टर्की आदिको मासु ७० डिग्रीभन्दा माथिको तापक्रममा पकाएर खाँदा हानि हुँदैन । अन्डा पनि राम्रोसँग पकाएर खाँदा कुनै असर गर्दैन । तर, हाफ बोइल भने खान नहुने डा. पुनको भनाइ छ ।

सम्बन्धित समाचार