किभ, ३० फागुन । युक्रेनी सरकारले रुसी फैेजले आफूले कब्जा गरेको क्षेत्रका अर्को मेयरलाई अपहरण गरेको आरोप लगाएको छ । युक्रेनका विदेशमन्त्री दिमित्री कुलेवाले ट्विटर मार्फत भनेका छन्, "दक्षिणी सहर निप्रोरुन्देका मेयर यभहेन मात्भेयेभलाई अपहिरण गरिएको छ । यो रुसको आतंककारी नीति हो ।"
यसअघि रुसले मेलितोपोल सहरका मेयरलाई अपहरण गरी उनको स्थानमा नयाँ मेयर बनाएको खवर सार्वजनिक भएको थियो ।
युक्रेनको राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो मुलुकलाई टुक्राउन रुसले 'नक्कली गणतन्त्रहरू' खडा गर्ने प्रयास गरिरहेको आरोप लगाएका छन् ।
हालै पदस्थापन गरिएकी मेलितोपोलका मेयर गालिना दानिल्चेन्कोले पहिलोपटक सार्वजनिक हुने क्रममा स्थानीय वासिन्दालाई 'अतिवादी कार्यमा' संलग्न नहुन आह्वान गर्दै आफ्नो प्रमख कार्य भनेको नयाँ वास्तविकता अन्तर्गत आधारभूत संयन्त्रहरू निर्माण गर्नु रहेको बताएक छन् ।
शनिबार पूर्व मेयर एभान फेदोरोभको रिहाइको माग गर्दै सिटीहल बाहिर सयौँ व्यक्तिले विरोध प्रर्दशन गरेका थिए । युक्रेनमा आक्रमण सुरु गरेको तेस्रो दिनमा सहर कब्जा गरेका रुसी फौजलाई सहयोग गर्न फेदोरोभले अस्वीकार गरेका थिए ।
फेदोरोभलाई पछिल्लोपटक शुक्रबार साँझ सहरको समस्याग्रस्त भागबाट टाउकोमा एउटा झोला बोकाई केही सशस्त्र व्यक्तिले घिसार्दै लगिएको अवस्थामा देखिएको थियो ।
युक्रेनी अधिकारीहरूले सो दृश्यको भिडियो सेयर गर्दे ती सशस्त्र व्यक्ति रुसी सेना भएको दाबी गरेका छन् । रुसी सरकारी निकायले फेदोरोभ बेपत्ता गरिएको आरोपबारे केही पनि प्रतिक्रिया जनाएको छैन । तर, रुसको सहयोग र समर्थनमा स्वाधीनता प्राप्त पूर्वी युक्रेनको लुहान्स्कको अदालतले भने उनलाई 'आतंककारी गतिविधिहरूमा संलग्न' रहेको आरोप लगाएको छ । बीबीसीबाट ।