ललितपुर । विश्वमा माहामारी फैलिएको कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने निम्न वर्गलाई लक्षित गरी संचालन गरिएको ‘फुड बैंक’मा स्वयम् सेवकको कार्य गर्नेलाई नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग सचिव तथा नेका युवा नेता मीन कृष्ण महर्जनले कोरोना विमा गरिदिएका छन् ।
दुई हप्ता अगाडि गोदावरी नगरपालिका वडा नं. ११ बज्रबाराही मन्दिर प्रांगणमा महर्जनको पहलमा संचालित ललितपुर तरुण दल क्षेत्र नं. १ को सचिव अनिल श्रेष्ठको संयोजकत्वमा ‘फुड बैंक’ संचालन गरिएको थियो ।
सो फुड बैंक संचालनमा खटिएका ३० जना तरुण युवाहरुको महर्जनले कोरोना बिमा गराएका हु्न् । झण्डै दुई हप्ता अगाडि ‘हुनेले दिएर जाउ, नहुनेले लिएर जाउ’ नाराका साथ संचालित ‘फुड बैंक’ बाट दैनिक एक सयदेखि डेढसय सम्म दैनिक ज्यालादारी गर्ने, विपन्न परिवार, असाहयलगायतले राहत पाउँदै आइरहेका थिए ।
विश्वमा नै माहामारी फैलिएको कोरोना भाइरसका कारण निषेधाज्ञा जारी गरेको अवधिमा दैनिक ज्यालादारी गरी जिविकोपार्जन गर्ने निम्न वर्गलाई लक्षित गरी संचालित यस्तो पुण्य कार्यलाई समेत राजनीतिक पूर्वाग्रह राखी प्रशासनलाई दवाव दिई बन्द गराउनुले सिधै तल्लो वर्गको पेटमा लात हान्ने काम भएको पीडित लक्ष्मी तामाङले खोजतलासलाई बताइन् ।
चापागाउँबाट सुरुवात भएको ‘फुड बैंक’ राजनीतिक पूर्वाग्रहका कारण बन्द गराइए पनि ललितपुको लुभु, ठेचो, धापाखेल, हरिसिद्धि, महानगरपालिकाका विभिन्न वडामा संचालन हुँदै आइरहेको छ ।