काठमाडौं, ३ फागुन । प्रतिनिधिसभाको बैठक भोलि (बुधबार) को लागि बोलाईएको छ । तर, कांग्रेस सांसदहरुले प्रधानमन्त्री एवम् संसदीय दलका नेता शेरबहादुर देउवासमक्ष भोलिको संसद् बैठक बस्ने या नबस्नेबारे निधो गर्न भनेपछि सभामुखलाई फोन गरेर भोलिको बैठक सुचारु गर्न भनेका छन् ।
आज कांग्रेस संसदीय दलको बैठक बसेको छ । उक्त बैठकको बीच प्रधानमन्त्री देउवाले सापकोटालाई फोन गरेर बुधबार संसद बैठक सञ्चालन गर्ने वातावरण बनाउन आग्रह गरेको जनाईएको छ । उता, कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालाले भोलिको बैठकमा एमसीसी टेबुल हुने प्रतिक्रिया दिएका छन् ।
कांग्रेसका अधिकांश सांसद अमेरिकी सहयोवग परियोजना (एमसीसी)को पक्षमा उभिएका छन् । नयाँबानेश्वरस्थित संसद भवनमा मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा धारणा राखेका अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका कांग्रेस सांसद कोइरालालले जानकारी दिए ।
‘आजको बैठकमा एमसीसीबारे छलफल भयो । अधिकांश सांसदले एमसीसी पारित गर्नुपर्ने सुझाव दिएका छन्,’ उनले भने । बैठकमा रामशरण महतले एमसीसी लागू गर्दा नेपालमा अमेरिकी सेना नआउने र देशकै हितमा रहेको बताएका कोइरालाले जानकारी दिए ।
उनका अनुसार एमसीसी अनुमोदनका लागि भोलि बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा पेस हुने सम्भावना बढी रहेको छ । ‘सम्भवतः भोलि बस्ने संसद बैठकमा एमसीसी पेस हुने सम्भावना बढी छ’, नेता कोइरालाले भने ।