काठमाडौं । राज बावा र रवि कुमार मिलेर ९ विकेट लिएपछि भारतले शनिबार राति इंग्ल्यान्डलाई ४ विकेटले हराउँदै आईसीसी यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ ।
टस जितेर ब्याटिङ गरेको इंग्ल्यान्डले ४४.५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनाएको थियो । १९० रनको लक्ष्य भारतले ४७.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो ।
भारतले पाँचौँपटक यू–१९ विश्वकपको उपाधि जितेको हो । भारत यू–१९ विश्वकपमा सबभन्दा धेरै उपाधि जित्ने टोली हो ।
राज बावाले ९.५ ओभरमा एक मेडनसहित ३१ रन दिएर ५ विकेट लिए । रवि कुमारले ९ ओभरमा एक मेडनसहित ३४ रन दिएर ४ विकेट लिए । राज बावा र रवि कुमारले उत्कृष्ट बलिङ गरेपछि इंग्ल्यान्डका जेम्स रेउबाहेक कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् ।
जेम्स रेउले १२ चौकासहित ८५ रन बनाए । जेम्स सेल्सले अविजित ३४ रन बनाउँदा ओपनर जर्ज थोमसले २७ रन जोडे । रेहन अहमद र एलेक्स होर्टनले समान १० रन बनाउनुबाहेक अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका राज बावा र रवि कुमारबाहेक कौशल ताम्बेले एक विकेट लिए ।
१९० रनको लक्ष्य पूरा गर्ने क्रममा भारतका शाइक रशीद र निशान्त सिन्धुले समान ५० रन बनाए । निशान्त ५० रनमा अविजित रहेका थिए । राव बावाले ३५ रन जोड्दा हार्नोर सिंहले २१ रन बनाए । कप्तान यास धूलले १७ र दिनेश बानाले अविजित १३ रन बनाए । इंग्ल्यान्डका जेम्स सेल्स, थोमस र जोशुवा बोइडनले २/२ विकेट लिए ।