काठमाडौं । गौर नरसंहारलाई भौतिक पूर्वाधारमन्त्री रेणु यादवले फेरि स्मरण गराइदिएकी छिन् । उनले सीके राउतलाई धम्की दिने क्रममा गौर नरसंहारबारे बोलिन् जसमा उनकै दलका अध्यक्ष उपेन्द्र यादव मुछिएका छन् । यसले गौर नरसंहारलाई फेरि चर्चामा ल्याइदिएको छ ।
सशस्त्र जनयुद्धपछि देशले शान्तिको स्वास फेर्दै थियो । मधेशमा केही सशस्त्र समूहले हिंसा मच्चाइरहेका थिए । तर, एकैपटक ठूलो संख्यामा हत्याका घटना मधेशका सशस्त्र समूहबाट भएन । मधेशको अधिकारको लागि भन्दै उठेको तत्कालीन मधेशी जनअधिकार फोरमका कार्यकर्ताबाट भने एकैपटक २७ जनाको विभत्स हत्या भयो । ७ चैत्र २०६३ मा रौतहटको राइस मिल मैदानमा २७ जनाको केही घन्टामै कत्लेआम भएको थियो । यो कुनै घोषित सशस्त्र समूहबाट भएको थिएन । मधेशको अधिकारको लागि भन्दै जन्मिएको मधेशी जनअधिकार फोरमका कार्यकर्ताबाट भएको थियो । जुन राष्ट्रिय मानवअधिकार आयोगको रिपोर्टमा स्पष्ट उल्लेख छ ।
त्यो दिन विहानै देखि गौरको राइसमिलमा तनाव बढिरहेको थियो । तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेशी जनअधिकार फोरमले राइस मिलमा एकै दिन एकै समयमा कार्यक्रमको तयारी गरे । दुवै टसमस भएनन् । दुवैले कार्यक्रमको मिति र समय सारेनन् । माओवादीले राइस मिलको मैदानमा मञ्च निर्माण ग¥यो । मैदानको एक छेउमा फोरमले अर्को मञ्च निर्माण ग¥यो । सुरुमा मञ्च एकै ठाउँमा बनाउन लागेका थिए । तर, पहिले फोरमले गर्ने त्यसपछि माओवादीले गर्ने समझदारीमा केही मिटर दुरीमा मञ्च निर्माण गरेका थिए ।
मञ्च निर्माणको केही बेरमै फोरमका कार्यकर्ताले माओवादीको मञ्च भत्काइदिए । जवाफमा माओवादी कार्यकर्ताले पनि फोरमको मञ्च भत्काए । घटना योजनावद्ध नै थियो । फोरमका सशस्त्र जत्था लुकेर बसेका थिए । मञ्च भत्काएपछि उनीहरु निस्किएर माओवादी कार्यकर्तामाथि आक्रमण गर्न थाले । राइसमिलमा रगत बग्यो । माओवादीका वाइसिएल कार्यकर्ताको भागदौड मच्चियो । रौतहट बाहिरबाट लगिएका कार्यकर्ता पनि थिए । उनीहरुमध्ये महिलाको विभत्स हत्या भएको थियो । सयौं घाइते भए ।
घाइते प्रतिमा खातुत, रेखा परियार, उषा थापा र सरस्वती उप्रेतीलाई भालाले रोपेर जिउँदै आगो लगाएर हत्या गरेका थिए । महिलाको स्तन समेत काटेका थिए । जीवनका लागि हारगुहार गर्दा पनि विभत्स तरिकाले हत्या गरेका थिए । गौरदेखि पूर्वतर्फको बौधीमाई मन्दिरनजिक बाँसको फराठाले हानेर उनीहरुको हत्या गरिएको उल्लेख छ । माओवादीले बलात्कारपछि हत्या भएको भन्दै आएको छ । राइस मिलबाट पाँच किलोमिटर टाढा अर्को हत्या भएको थियो । भागिरहेका माओवादी कार्यकर्ताहरुलाई बागमती नदीबाट कब्जामा लिई हजमनिया बोधिमाई मन्दिरमा हत्या गरे । माओवादीको बली दिने भनी ११ जनाको विभत्स हत्या भएको थियो । गौर बजारमा रहेको गेष्ट हाउमा लुकेर बसेका माओवादी कार्यकर्तालाई घरबाहिर थुती गोली हानी कुटीकुटी मारेका थिए । मारिनेमा रौतहटकै दिपक पाण्डे, रेखा परियार पनि थिए । घटनामा रौतहटका ९, मकवानपुरका ८, बाराका ४, बाजुरा, सिन्धुली, पर्सा र दाङका एक एक गरी २७ जना मारिएका थिए ।
हत्यामा तत्कालीन फोरमका नेता उपेन्द्र यादवमाथि आरोप लागेको थियो । उनीविरुद्ध जोहरी समेत दर्ता भएको थियो । बबन सिंह खोजीमा परेर फरार भएका थिए । उनले फरार हुँदै गर्दा रौतहटबाट स्वतन्त्र उम्मेदवारका रुपमा प्रत्यक्षतर्फ चुनाव जितेर आश्चर्यमा पारेका थिए । घटनामा आरोपी बाबुलाल साह प्रदेशसभा सांसद भए । ललन सिंह, चन्द्रिका सिंह, भुषण सिंह, अजय गुप्ता, गौरीशंकर, गगनदेव बैठा, शम्भु साह, बलराम सिंह कुँवर, गणेशमान यादवलगायतको संलग्नताबारे रिपोर्टमा उल्लेख गरिएको छ ।
गौर नरसंहारमा मृत्यु भएका २७ जनाका परिवारले राज्यबाट प्रतिव्यक्ति १० लाख रुपैयाँका दरले राहत पाएका थिए । तर, अहिलेसम्म दोषीमाथि कारबाही भएको छैन । हालका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित ११३ जनाविरुद्ध कर्तव्य ज्यानको मुद्दा दर्ता भएको छ । तर, मुद्दा किनारा लागेको छैन । ७ चैत्र २०६३ सालमा २७ जना माओवादी कार्यकर्ताको विभत्स हत्या गरिएको घटनालाई रेणुले सम्झने बताइदिइन् । यो त्यही घटना थियो जसमा उपेन्द्र यादवविरुद्ध जाहेरी दर्ता छ । त्यतिबेला यादव मधेशी जनअधिकार फोरमका अध्यक्ष थिए । फोरमका कार्यकर्ताद्वारा वाइसिएल कार्यकर्ताको हत्या भएको थियो ।