भोटेकोशी बाढी पीडितका लागि राहत र पुन:र्निर्माण प्रभावकारी बनाउन सरकारसँग ओलीको माग

819 Shares

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारको राहत, पुनर्स्थापना र पुनर्निर्माणलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन्।

भोटेकोशी बाढीमा परी ज्यान गुमाएकाहरूको १३औँ पुण्यतिथिका अवसरमा सोमबार शोक वक्तव्य जारी गर्दै अध्यक्ष ओलीले मृतकप्रति पार्टी र व्यक्तिका तर्फबाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन्।

अध्यक्ष ओलीले बाढीबाट भएको अकल्पनीय क्षतिले सबैलाई स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन्। ओलीले प्रियजन गुमाएका शोकसन्तप्त परिवार तथा आफन्तप्रति गहिरो समवेदना व्यक्त गर्दै दुःखको यस घडीमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरेका छन्।

बाढीपछि बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका विभिन्न निकाय र संघसंस्थाप्रति उनले धन्यवाद व्यक्त गरेका छन्।

एमालेका स्वयंसेवक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, प्रदेश तथा स्थानीय सरकार, स्थानीय जनसमुदाय, विभिन्न सामाजिक संघसंस्था र अन्तर्राष्ट्रिय समुदायले पुर्‍याएको सहयोगप्रति ओलीले आभार व्यक्त गरेका हुन्।

‘हराइरहेका दाजुभाइ तथा दिदीबहिनीहरूको सकुशल उद्धारमा सफलता मिल्ने’ आशा व्यक्त गर्दै उनले खोजी तथा उद्धार कार्यलाई प्रभावकारी ढंगले निरन्तरता दिनुपर्ने बताएका छन्।

अध्यक्ष ओलीले बाढी तथा पहिरोबाट प्रभावित परिवारका लागि बाँकी राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सरकार र सम्बन्धित निकायसँग उनले पुनः जोडदार माग गरेका छन्।

सम्बन्धित समाचार