काठमाडौं– संसद् बैठक आह्वानका लागि प्रतिनिधिसभा, कार्य व्यवस्था परामर्श समितिको बैठक मंगलबार बस्ने भएको छ ।
सोमबार सिंहदरबारमा कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख डोल प्रसाद अर्यालले मंगलबार नै कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएर संसद् बैठक सञ्चालनको टुङ्गो लगाउने बताएका हुन् ।
सदन विपद्का कारण केही दिन स्थगित गरिएको भए तापनि अब तत्काल सञ्चालन गर्न आफूले सभामुखको ध्यानाकर्षण गराएको आङदेम्बेले बताए ।
जवाफमा सभामुख अर्यालले कार्य व्यवस्था परामर्शको बैठक पश्चात् संसद् आह्वान गरिने प्रतिबद्धता जनाएको आङदेम्बेले जानकारी दिए ।
उनले विपद् व्यवस्थापन, राहत वितरणमा हुने दोहोरोपना रोक्न र वास्तविक पीडितलाई राज्य भएको अनुभूति दिलाउन संसद् तथा संसदीय समितिहरूबाट सूक्ष्म निगरानी र निर्देशन हुनुपर्ने उल्लेख गरे ।
सत्तारूढ दलका सभापतिको आह्वानमा बसेको सर्वदलीय बैठकका निर्णयहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन संसदको भूमिका अपरिहार्य रहेको आङदेम्बेको भनाइ छ ।