काठमाडौं । बागमती प्रदेशको मुख्यमन्त्री बन्न नेकपा एमालेका सांसद किरण थापा मगरले आर्थिक चलखेल गरेको चर्चा बजारमा आएको छ । थापाले आफु मुख्यमन्त्री बन्नकै लागि राप्रपा संसदीय दलका नेता र सांसदलाई आफ्नो पक्षमा पार्न आर्थिक चलखेल गरेको चर्चा बजारमा आएको हो ।
आफु मुख्यमन्त्री बन्न संसदीय दलको नेता बन्नेदेखि राप्रपाका सांसदलाई आफ्नो पक्षमा पार्न थापाले आर्थिक चलखेल गरेपछि एमालेका इमान्दार नेता कार्यकर्ताहरुमा निरासा छाएको छ । गुण्डुमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई घरजग्गाको बन्दोबस्त गरेर प्रिय बनेका उनले त्यसैको आर्शिवाद स्वरुप निष्ठावान एवं लामो समय एमालेमा संघर्ष गरेका संसदीय दलका नेता जगन्नाथ थपलियालाई पाखा लगाउने प्रपन्च रचेका थिए । पार्टी सचिव महेश बस्नेतको साथ पाएका थापाले उनकै बलमा ओलीलाई रिझाएर थपलियालाई संसदीय दलको नेताबाट हटाउन हस्ताक्षर गराउने काम गरे । चौतर्फी दवावबीच थपलियालाई संसदीय दलको नेताबाट नहटाएपनि मुख्यमन्त्रीमा आफ्नो नाम सिफारिस गराउन सफल भए । थपलिया नेताहरुको दवाव खप्न नसकेर विरामी परे भने पार्टीको विवादलाई अघि बढाउँदा पार्टीलाई नै क्षति पुग्ने भन्दै इमान्दारीताका साथ चुप लागेर बस्न बाध्य भए ।
पार्टी भित्र मुख्यमन्त्रीको सहमति गराउन सफल भएपछि थापाले राप्रपाका संसदीय दलका नेता र सांसदहरुलाई आर्थिक र पदको प्रलोभनमा पार्ने काम अघि बढाए । फलस्वरुप राप्रपा केन्द्रको निर्णय विपरित राप्रपा बागमती प्रदेश संसदीय दलका नेता र केही सांसदलाई आफ्नो पक्षमा पारे । विगतमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका कार्यकर्ताको रुपमा रहेका राप्रपा संसदीय दलका नेता उद्धव थापाले दलभित्र सल्लाह नै नगरी आर्थिक र पदीय लोभमा पार्टीको लेटरप्याड दुरुपयोग गरी मुख्यमन्त्रीमा किरण थापा मगरलाई समर्थन गरेको पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको पत्र र संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङको पत्रले प्रष्ट पारेको छ ।
सिद्धान्त विपरित भएपछि राप्रपामा कारवाहीको तयारी

मुख्यमन्त्री बन्न किरण थापाले राप्रपाका प्रति सांसद २० देखि २५ लाख रुपैंयाको आर्थिक चलखेल गरेका छन् । त्यती मात्रै नभई उनले ३ जनालाई मन्त्री समेत बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । राप्रपाकै एक नेताका अनुसार मुख्यमन्त्री बन्न एमालेका किरण थापाले अहिलेको युगमा पनि भेडाबाख्रा खरिद गरेझै सांसदहरुलाई खरिद गरेको भन्दै आलोचना शुरु भएको छ । मुख्यमन्त्री बन्न थापाले राप्रपाका सांसदीय दलका नेतादेखि सांसदसम्मलाई खरिद गरेको भन्दै राप्रपाले केन्द्रीय बैठक बोलाईसकेको छ । बैठकले आर्थिक चलखेल र पदको लोभमा परेर पार्टीको लेटरप्याड दुरुपयोग गरेकोमा उनीहरुलाई कारवाही अघि बढाउने भएको छ । घुस खानु आमाको रगत खानु बराबर हो भन्ने सिद्धान्त बोकेर शपथ खाएका सांसदहरु आर्थिक चलखेलमा लागेपछि राप्रपा केन्द्रीय अनुशासन समितिले कारवाही गरेर सांसद पद चट पार्ने गरी अघि बढिरहेको छ । उसले कि सुध्रन कि पार्टी छोड्न भन्दै सांसदहरुलाई प्रष्ट निर्देशन दिएको जनाईएको छ ।

एमालेभित्र भुसको आगो, नेकपा पनि उस्तै अवस्थामा
एमालेभित्रै पनि मुख्यमन्त्री बन्न सांसद किरण थापाले गरेको चलखेलले ठूलो खैलाबैला मच्चिएको जनाईएको छ । लामो समयदेखि पार्टी निर्माणमा खटिएका पाका नेतालाई पाखा लगाउन साम, दाम, दण्डभेद प्रयोग गरेको भन्दै पैसाको प्रयोग पार्टीका लागि घातक हुने निष्ठावान नेता, कार्यकर्ताहरुले खुलेरै सामाजिक सञ्जालमा लेख्न थालेका छन् । राप्रपाबाटै एमालेमा आएकै छोटो अवधीमा उनको यो आर्थिक चलखेल र छलाङले एमाले बागमती प्रदेशलाई ठूलै धक्का लाग्ने चर्चा भईरहेको छ । अहिले यो विषय एमालेभित्र भुसको आगो जसरी फैलिएको छ । एमालेका सांसदहरु पनि किरण थापाले नैतिकता र इमान्दारिता नदेखाएपछि विश्वासको मतमा आफुहरुले पनि नैतिकता र इमान्दारिता देखाउन बाध्य नरहेको भन्दै आन्तरिक छलफलमा जुटेको स्रोतको दावी छ ।
उता सत्ता साझेदारीमा अघि बढेको नेकपाभित्र पनि किरण थापाको आर्थिक चलखेलले भुकम्प गएको छ । चलखेल गर्नेकै पछाडि इमान बेचेर लाग्न नसकिने भन्दै नेतृत्वलाई नेकपाका सांसदहरुले कोर्ष करेक्सनका लागि दवाव दिईरहेका छन् । थापाको पैसाको दम्भ र चलखेलले उनको मुख्यमन्त्री बन्ने अति महत्वकांक्षा देखाएको छ भने अन्य दलमा समेत निष्ठाको राजनीतिबारे प्रश्न उठिरहेको छ । यस्तोमा थापाको मुख्यमन्त्री पद समेत धरापमा पर्ने विश्लेषण शुरु भईसकेको छ ।