ट्राफिक प्रहरीको ‘बोली, व्यवहार र आर्थिक अनुशासन’माथि प्रश्न! सडकमा खटिने प्रहरी सुध्रिएनन् भने संगठनकै छवि संकटमा !

1.5k Shares

काठमाडौं । सडकमा ट्राफिक व्यवस्थापन गर्ने प्रहरी नागरिकले प्रत्यक्ष रूपमा भेट्ने राज्यका प्रतिनिधि हुन् । त्यसैले ट्राफिक प्रहरीको एउटा नम्र व्यवहारले प्रहरी संगठनप्रति विश्वास बढाउन सक्छ भने एउटा अशिष्ट बोली, अनावश्यक दुःख वा आर्थिक लेनदेनको आरोपले समग्र प्रहरी संगठनकै छवि धुमिल बनाउन सक्छ ।यही संवेदनशीलतालाई ध्यानमा राख्दै ट्राफिक प्रहरीको कार्यसम्पादनमा ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन’ अनिवार्य आधार बन्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

सडकमा नियम कार्यान्वयन गराउने नाममा नागरिकलाई अनावश्यक हैरानी दिने, सामान्य गल्तीमा समेत असहज व्यवहार गर्ने तथा ट्राफिक नियम उल्लंघन गर्ने व्यक्तिमाथि कानुनी कारबाही नगरी आर्थिक लाभ लिएर छाड्ने गरेको गुनासो समय–समयमा आउने गरेको छ । यस्ता गुनासो सत्य प्रमाणित भएमा त्यो व्यक्तिगत अनियमितता मात्र नभई प्रहरीको व्यावसायिकता र संस्थागत विश्वसनीयतामाथिको गम्भीर प्रश्न बन्न पुग्छ ।

नियम कार्यान्वयन कि ‘मिलेमतो’ ?

ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी सडकमा सवारी आवागमन व्यवस्थित गर्नु, दुर्घटना न्यूनीकरण गर्नु र ट्राफिक नियम पालना गराउनु हो । नियम उल्लंघन गर्ने सवारी चालकलाई कानुनअनुसार कारबाही गर्नु प्रहरीको दायित्व हो ।तर, कारबाही गर्नुपर्ने अवस्थामा आर्थिक लाभ लिएर छाडिएको गुनासो आउनु भनेको कानुन कार्यान्वयनको मूल उद्देश्य नै कमजोर हुनु हो । यदि कुनै चालकलाई नियम उल्लंघनबापत जरिवाना तिराउनुपर्ने अवस्थामा व्यक्तिगत रूपमा रकम लिएर छाडिन्छ भने त्यसले दुईवटा गम्भीर समस्या निम्त्याउँछ ।पहिलो, नियम पालना गर्ने नागरिकमाथि अन्याय हुन्छ । दोस्रो, पैसा तिरेर नियमबाट उम्किन सकिन्छ भन्ने गलत संस्कार विकास हुन्छ ।यसले सडक अनुशासन मात्र होइन, प्रहरी र नागरिकबीचको विश्वाससमेत कमजोर बनाउँछ ।

‘बोली’बाटै सुरु हुन्छ प्रहरीको छवि

ट्राफिक प्रहरी र नागरिकबीच प्रत्यक्ष सम्पर्क हुने भएकाले व्यवहारको विषय अझ संवेदनशील हुन्छ । सवारी चालकले नियम उल्लंघन गरे पनि प्रहरीको व्यवहार कानुनसम्मत, संयमित र सम्मानजनक हुनुपर्छ ।‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन’ केवल प्रशिक्षणमा भनिने शब्द नभई दैनिक कार्यसम्पादनमै देखिनुपर्ने आधारभूत गुण हुन् ।नागरिकलाई नियम सम्झाउने, गल्तीको प्रकृति स्पष्ट पार्ने र कानुनअनुसार कारबाही गर्ने प्रक्रिया सभ्य ढंगबाट अघि बढ्नुपर्छ । प्रहरीको अधिकार नागरिकलाई अपमान गर्ने, धम्क्याउने वा अनावश्यक दबाब दिने अधिकार होइन ।सडकमा केही मिनेटको भेटमा नागरिकले प्रहरी संगठनको मूल्यांकन गर्ने भएकाले ट्राफिक प्रहरीको व्यवहारलाई संगठनको ‘फ्रन्टलाइन इमेज’का रूपमा लिनुपर्ने अवस्था छ ।

आर्थिक अनुशासनमा शून्य सहनशीलता आवश्यक

ट्राफिक व्यवस्थापनमा आर्थिक अनियमितताको गुनासो सबैभन्दा गम्भीर विषय हो । नियम उल्लंघन गर्ने व्यक्तिबाट व्यक्तिगत लाभ लिने प्रवृत्तिले कानुनको समान कार्यान्वयनमाथि प्रश्न उठाउँछ ।त्यसैले ट्राफिक प्रहरीमा आर्थिक प्रलोभनप्रति शून्य सहनशीलता आवश्यक देखिन्छ । कारबाही गर्नुपर्ने भए कानुनी प्रक्रिया पूरा गर्ने, जरिवाना भए आधिकारिक प्रणालीमार्फत असुल गर्ने र व्यक्तिगत रूपमा रकम लिने अवस्थालाई पूर्ण रूपमा निरुत्साहित गर्नुपर्छ ।साथै, यस्ता गुनासोमाथि निष्पक्ष छानबिन हुने र दोषी देखिए विभागीय कारबाही हुने सुनिश्चितता पनि आवश्यक छ । केवल निर्देशन जारी गरेर मात्र समस्या समाधान हुँदैन; अनुगमन, गुनासो व्यवस्थापन र जवाफदेहिताको प्रभावकारी संयन्त्र आवश्यक हुन्छ ।

‘ट्राफिक प्रहरीका कारण दुःख पाएँ’ भन्ने गुनासो किन आउनु ?

सडकमा नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको प्रहरी इकाइ भएकाले ट्राफिक प्रहरीप्रतिको नागरिक धारणा समग्र प्रहरी संगठनकै धारणासँग जोडिन्छ ।त्यसैले अब प्राथमिकता स्पष्ट हुनुपर्छ—बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक सुशासन ।नियम उल्लंघन गर्नेलाई छुट दिनु होइन, कानुनअनुसार कारबाही गर्नु आवश्यक छ । तर कारबाहीको नाममा नागरिकलाई अपमान गर्नु पनि स्वीकार्य हुन सक्दैन ।ट्राफिक प्रहरीको उद्देश्य नागरिकलाई दुःख दिनु होइन, सडकलाई सुरक्षित र व्यवस्थित बनाउनु हो । त्यसका लागि प्रहरी आफैं अनुशासन, शिष्टता र पारदर्शिताको उदाहरण बन्नुपर्छ ।

अन्ततः ट्राफिक प्रहरी सुधारको मापन पक्राउ वा जरिवानाको संख्याले मात्र होइन, नागरिकले सडकमा प्रहरी देख्दा डर होइन, विश्वास महसुस गर्छन् कि गर्दैनन् भन्ने कुराले हुनुपर्छ । अब नागरिकले ‘ट्राफिक प्रहरीका कारण दुःख पाएँ’ भन्ने गुनासो होइन, ‘प्रहरीले नियम पनि बुझायो र सम्मानपूर्वक व्यवहार पनि ग¥यो’ भन्ने अनुभव सुनाउन सक्ने वातावरण निर्माण गर्नु नै वास्तविक सुधारको संकेत हुनेछ ।

सम्बन्धित समाचार