एआई नियमन गर्न कानून बनाउने अस्ट्रेलियाकाे घोषणा

1k Shares

विश्व । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले कृत्रिम बुद्धिमत्ता अर्थात् ‘एआई’ प्रयोगका लागि मार्गदर्शन तय गर्न र रचनात्मक प्रतिलिपि अधिकारको रक्षा गर्न कानून बनाउने तयारीमा रहेको घोषणा गर्नुभएको छ ।

सरकारको नीति तथा कार्यक्रम निर्धारणसम्बन्धी भाषणमा उहाँले एआईलाई राष्ट्रिय हित प्रवर्द्धन गर्ने गरी अपनाउन सकिने बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

अस्ट्रेलियाले बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउन अरू देशहरूको नेतृत्व गरेको उल्लेख गर्दै प्रधानमन्त्री अल्बानिजले एआईलाई नियमन गर्ने चुनौती भने अझै ठूलो भएको उल्लेख गर्नुभयो ।

अमेरिकी स्टार्टअप ‘एन्थ्रोपिक’ ले एआई मोडेलहरूको प्रशिक्षणमा सहयोग गर्न प्रतिलिपि अधिकार कानून परिवर्तन गर्न अस्ट्रेलियाका अधिकारीहरूसँग समन्वय गरेको कुरा यस हप्ता बाहिर आएपछि अल्बनिजको घोषणा आएको हो ।

यसैबीच सङ्गीतकार, लेखक तथा प्रकाशकहरूले यस्तो दबावको प्रतिरोध गर्न र आफ्नो कामको रक्षा गर्न सरकारलाई आग्रह गरेका छन् ।

कुनै पनि कम्पनीले कलाकारको नियन्त्रणविना एआई निर्माण गर्न वा तालिम दिन अस्ट्रेलियाली पुस्तक, सङ्गीत, कला वा समाचार प्रयोग गर्न नहुने बताउँदै उनीहरूले कार्यहरू गौरकानूनी भएको बताएका छन् ।

सरकारी तथ्याङ्कअनुसार यस वर्षको मार्चसम्ममा देशको आर्थिक वृद्धिमा डाटा सेन्टरमा भएको लगानीले सबैभन्दा ठूलो योगदान पुर्याएको छ ।

प्रधानमन्त्री अल्बानिजले अस्ट्रेलियाको रोजगार बजारमा एआईको प्रभाव अहिलेसम्म नदेखिएको बताउनुभएको छ ।

सम्बन्धित समाचार