फ्रान्स र स्पेनमा कसले काट्ला फाइनलको टिकट

152 Shares

काठमाडौं । फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा मंगलबार फ्रान्स र स्पेन भिड्दै छन् जसलाई विश्वभर ’फाइनल अघिको फाइनल’ का रूपमा हेरिएको छ । उपाधिबाट अब दुई जित मात्र टाढा रहेका फ्रान्स र स्पेन मंगलबार पहिलो सेमिफाइनलमा आमनेसामने हुँदैछन् ।
विश्व फुटबलका शीर्ष राष्ट्रमध्येका यी दुई टोलीबीचको यो भिडन्तलाई ‘फाइनल अघिको फाइनल’ भनिएको छ । लगातार तेस्रोपटक विश्वकप फाइनल पुग्ने लक्ष्यमा रहेको फ्रान्स एकातिर छ भने १६ वर्षपछि फेरि विश्वविजेता बन्ने अभियानमा रहेको स्पेन अर्कोतिर ।
फ्रान्स प्रतियोगिताकै सबैभन्दा खतरनाक आक्रमण गर्ने टोलीका रूपमा देखिएको छ । कप्तान किलियन एमबाप्पेको नेतृत्वमा ओस्मान डेम्बेले, माइकल ओलिसे र डिजिरे डुएले विपक्षी रक्षापङ्क्तिमाथि निरन्तर दबाब सिर्जना गर्दै आएका छन् । प्रतियोगितामा सबैभन्दा धेरै प्रहार गर्ने टोलीमध्ये एक रहेको फ्रान्ससँग गोल गर्ने खेलाडीको विविधता पनि प्रशस्त छ ।
यता स्पेनले भने बल नियन्त्रणमा आधारित आफ्नो परम्परागत शैलीलाई यस विश्वकपमा अझ प्रभावकारी बनाएको छ । सबैभन्दा बढी समय बल आफ्नो नियन्त्रणमा राख्ने टोलीका रूपमा रहेको स्पेनले विपक्षीलाई बल नै नदिएर खेल नियन्त्रण गर्ने रणनीतिमा सफलता पाएको छ । रोड्री र पेड्रीको मिडफिल्ड नियन्त्रण, लामिन यामालको व्यक्तिगत कौशल र मिकेल ओयारजाबालको फिनिसिङ स्पेनका मुख्य हतियार हुन् ।
फ्रान्सलाई रोक्ने सबैभन्दा ठूलो चुनौती एमबाप्पे हुनेछन् । प्रतियोगितामा आठ गोल गरिसकेका उनी गोल्डेन बुटको दौडमा लियोनल मेसीसँग संयुक्त रूपमा शीर्ष स्थानमा छन् । तर स्पेनसँग उनको गतिलाई नियन्त्रण गर्न सक्ने संरचित टोली र बल नियन्त्रण गर्ने क्षमता छ । यही कारण धेरै विश्लेषकले रोड्री र यामालको प्रदर्शनलाई खेलको निर्णायक पक्षका रूपमा हेरेका छन् ।
स्पेनका लागि पनि यो आफ्नो वास्तविक स्तर देखाउने अवसर हुनेछ । समूह चरणदेखि नकआउटसम्म टोलीले लगातार जित निकाले पनि प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले अझै आफ्नो उत्कृष्ट लय पूर्ण रूपमा देखाउन सकेको छैन । युवा स्टार यामालले पनि अहिलेसम्म अपेक्षाअनुसार प्रभाव पार्न सकेका छैनन् । सेमिफाइनल जस्तो ठूलो मञ्चमा उनी चम्किने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार