स्विट्जरल्यान्ड र अर्जेन्टिना विश्वकप फुटबलको क्वार्टरफाइनलमा

3.7k Shares

काठमाण्डौ - स्विट्जरल्यान्डले फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा स्थान बनाएको छ । क्यानडाको बीसी प्लेस स्टेडियममा आज बिहान सम्पन्न अन्तिम प्रि–क्वार्टरफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी शुटआउटमा ४–३ ले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा पुगेको हो । 

खेलको निर्धारित समय र अतिरिक्त ३० मिनेटसम्म पनि दुवै टोलीले गोल गर्न नसकेपछि विजेताको टुङ्गो पेनाल्टी शुटआउटबाट भएको हो । पेनाल्टीमा कोलम्बियाका डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजको प्रहार असफल भयो । 

स्विट्जरल्यान्डका ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले पेनाल्टीमा गोल गरे । सन् १९५४ पछि पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्डका लागि विश्वकप इतिहासकै चौथो क्वार्टरफाइनल यात्रा हो । अब क्वार्टरफाइनलमा स्विट्जरल्यान्डले साबिक विजेता अर्जेन्टिनासँग खेल्नेछ ।

यस्तै फिफा विश्वकप फुटबलको अन्तिम–१६ अन्तर्गत गए राति भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले इजिप्टसँग पुनरागमन जीत निकाल्दै क्वार्टरफाइनलमा स्थान बनाएको छ । अमेरिकाको एटलान्टा स्टेडियममा भएको रोमाञ्चक प्रतिस्पर्धामा दुई गोलले पछि परेको अर्जेन्टिनाले अन्तिम १४ मिनेटभित्र तीन गोल फर्काउँदै ३–२ को जित निकालेको हो । 

इजिप्टले खेलको १५औँ मिनेटमा यासेर इब्राहिमको गोलबाट अग्रता बनाएको थियो भने दोस्रो हाफको ६७औँ मिनेटमा अर्को गोल थप्दै २–० को अग्रता बनाएको थियो । तर इजिप्टले यो अग्रतालाई जोगाउन सकेन । खेलको ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए । त्यसको चार मिनेटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गर्दै खेललाई २–२ को अवस्थामा पुर्‍याए । 

खेलको इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक हेडर गोल गरेपछि अर्जेन्टिनाले पुनरागमन जित निकाल्यो । 

यसैबीच रेफ्री र भिडियो सहायक रेफ्रीका निर्णय पनि विवादमा परेको छ । इजिप्टले गरेको गोल फाउलको आधारमा रद्द गरिएपछि टोलीले असन्तुष्टि जनाएको थियो । त्यस्तै अर्जेन्टिनाको निर्णायक गोल हुनुअघि मोहम्मद सलाहमाथि पेनाल्टी क्षेत्रभित्र फाउल भएको दाबी पनि इजिप्टले गरेको छ । 

इजिप्ट फुटबल सङ्घले अर्जेन्टिनाविरुद्धको खेलमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै फिफामा औपचारिक उजुरी दर्ता गरेको छ । यद्यपि, फिफाले उजुरीबारे अहिलेसम्म कुनै आधिकारिक निर्णय सार्वजनिक गरिसकेको छैन । 

विश्वकपमा क्वार्टरफाइनल समीकरण पनि पूरा भएको छ । अब सेमिफाइनलमा पुग्न फ्रान्स र मोरक्को, स्पेन र बेल्जियम, नर्वे र इंग्ल्यान्ड तथा अर्जेन्टिना र स्विट्जरल्यान्डले खेल्नेछन् ।

सम्बन्धित समाचार