रियाललाई स्पेनिस सुपर कपको उपाधि

17.2k Shares

काठमाडौं । स्पेनिस महारथी रियाल मड्रिड कम्तिामा लगातार दोस्रो वर्ष उपाधिबिहीन नहुने भएको छ । गत सिजन जिनेदिन जिदानको प्रशिक्षणमा रियाल उपाधिबिहीन बनेको थियो । तर, यससिजन भने आइतबार राति रियालले साउदी अरबमा एथलेटिक बिल्बाओलाई २–० ले हराउँदै स्पेनिस सुपर कपको उपाधि जितेको छ । 

लुका मड्रिचले पहिलो हाफमा र करिम बेन्जेमाले दोस्रो हाफमा गरेको गोल रियाललाई उपाधि जिताउन पर्याप्त बन्यो । साउदी अरबको किंग फहद अन्तर्राष्ट्रिय रंगशालामा मोड्रिचले ३८औं मिनेटमा गरेको गोलबाट रियालले अग्रता लिएको थियो । ५२औं मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । 

८७औं मिनेटमा इडर मिलिटाओले रातो कार्डको सामना गरेपछि कार्लो एन्सेलोट्टीको रियाल दश खेलाडीमा सीमित बनेको थियो । राउल गार्सियाले हेड प्रहार मिलिटाओले हातले रोकेपछि रेफ्री सेसर सोटोले भिडियो सहायक रेफ्रीको सहायतामा सिधै रातो कार्डको दर्शन गराएका थिए । त्यसपछि प्राप्त पेनाल्टी अवसरमा गार्सिया चुकेपछि साविक विजेता एथलेटिक विल्बाओले पुनरागमनको राम्रो खेर फालेको थियो । 

‘‘खेलमा पुनरागमन गर्ने हाम्रो सम्भावनालाई कोर्टियसले पेनाल्टी बचाउ गरेपछि समाप्त भयो,’’ एथलेटिक बिल्बाओका रक्षक ओस्कार डी मार्कोसले भने, ‘‘यो लज्जास्पद भयो । तर हामीले गर्व गर्नुपर्छ । किनकी फाइनलसम्मको यात्रा तय गर्न सहज थिएन । हामीले राम्रो टोलीविरुद्ध प्रतिस्पर्धा गरेका थियौं ।’’

गत सिजन उपाधिबिहीन बनेको मड्रिडले जारी सिजन लिगमा चीर प्रतिद्वन्द्वी बार्सिलोनालाई दुई पटक र एट्लेटिको मड्रिडलाई एक पटक हराइसकेको छ । लिगमा आधा खेल सकिँदा रियाल १५ अंकको अग्रतासहित शीर्ष स्थानमा छ । रियाल च्याम्पियन्स लिगको पनि नकआउट चरणमा पुग्न सफल भएको छ । 

‘‘यो उपाधिले हामीलाई उत्प्रेरणा मिलेको छ,’’ रियाल प्रशिक्षक एन्सेलोट्टीले भने, ‘‘हामी यसरी जित्दै अघि बढ्न चाहन्छौं ।’’

रियालको यो १२औं सुपर कप उपाधि हो । जुन बार्सिलोनाभन्दा एकले कम हो । चौथो पटक उपाधि जित्ने एथलेटिक विल्बाओको सपना भने पूरा हुन सकेन । २०२० बाट साउदी अरबमा प्रतियोगिता सारेपछि रियालले सुपर कपको उपाधि जितेको यो दोस्रो पटक हो । रियालले साउदी अरबमा सरेपछिको पहिलो संस्करणमा एट्लेटिको मड्रिडलाई हराउँदै उपाधि जितेको थियो । कोभिड–१९ महामारीका कारण २०२१ मा भने प्रतियोगिता स्पेनमै गरिएको थियो । 

सम्बन्धित समाचार