सखुहवा नाकाबाट कवाडी तस्करीको साम्राज्य

5.3k Shares

सर्लाही । सर्लाहीको सीमावर्ती क्षेत्रस्थित सखुहवा नाकाबाट पछिल्ला केही समययता कवाडी सामानको व्यापक तस्करी भइरहेको खुलासा भएको छ। स्थानीय स्रोतका अनुसार मोटरसाइकल, ठेला र पिकअप भ्यान प्रयोग गरेर दैनिक ठूलो परिमाणमा कवाडी सामान भारततर्फ अवैध रूपमा निकासी भइरहेको छ।

स्थानीय बासिन्दाहरूले दिएको जानकारीअनुसार यस तस्करी कारोबारमा कृष्ण यादव, रामु चौधरी र भारतको सितामढी घर भएका ललन चौधरी सक्रिय रहेको आरोप छ। उनीहरूले सीमामा खटिएका दुबै सुरक्षा निकायका केही प्रहरीलाई मिलाएर लामो समयदेखि कवाडी तस्करीको सञ्जाल सञ्चालन गर्दै आएको स्थानीयको दाबी छ।

सखुहवा नाकामा दिनहुँ मोटरसाइकल, ठेला तथा पिकअप गाडीमार्फत कवाडी सामान भारततर्फ लैजाने क्रम चलिरहेको स्थानीयले बताएका छन्। उनीहरूका अनुसार दिनको उज्यालोमै सीमाबाट कवाडीका बोरा तथा फलामजन्य सामग्रीहरू खुलेआम पार गराइन्छ।स्थानीय बासिन्दा भन्छन्, “दिनहुँ दर्जनौं मोटरसाइकल र ठेला कवाडी बोकेर सीमातर्फ जान्छन्। कतिपय पिकअप गाडीमा त ठूलो परिमाणमा कवाडी सामान लोड गरेर भारत पठाइन्छ। तर सीमा नाकामा खटिएका प्रहरी मौन देखिन्छन्।”स्थानीयका अनुसार सामान्य अवस्थामा यति ठूलो मात्रामा सामान सीमाबाट लैजान सम्भव नहुने भए पनि प्रहरीसँग मिलेमतो भएका कारण तस्करहरू निर्भीक भएर कारोबार गरिरहेका छन्।

स्थानीय स्रोतका अनुसार सीमामा खटिएका दुबै सुरक्षा संगठनका केही प्रहरीसँग मिलेमतो गरेर तस्करहरूले लामो समयदेखि यो धन्दा सञ्चालन गरिरहेका छन्। प्रत्येक खेप कवाडी निकासी गर्दा निश्चित रकम प्रहरीलाई बुझाउने व्यवस्था रहेको समेत स्थानीयको आरोप छ।एक स्थानीय व्यवसायीले भने, “यदि प्रहरी चाहेको भए यो तस्करी एक दिनमै रोक्न सकिन्छ। तर यहाँ त उल्टै तस्करहरूलाई संरक्षण भइरहेको जस्तो देखिन्छ।”उनका अनुसार सीमा नाकामा तैनाथ प्रहरीको मौनता नै तस्करहरूको मुख्य शक्ति बनेको छ।

स्थानीय बासिन्दाहरूले अर्को गम्भीर आरोप पनि लगाएका छन्। उनीहरूका अनुसार कवाडी सामानको बोरा र गाडीभित्र गाँजा समेत लुकाएर भारततर्फ तस्करी हुने गरेको आशंका छ।स्थानीयका अनुसार कवाडी सामानभित्र अन्य अवैध वस्तु लुकाएर लैजान सजिलो हुने भएकाले तस्करहरूले यही माध्यम प्रयोग गर्ने गरेका छन्।

एक स्थानीय युवक भन्छन्, “कवाडीको बोरा भित्र के छ भनेर कसैले जाँच गर्दैन। यही कारण केही समूहले गाँजा समेत तस्करी गर्ने गरेको चर्चा यहाँ धेरै छ।”यद्यपि यस विषयमा आधिकारिक रूपमा सुरक्षा निकायले कुनै पुष्टि भने गरेको छैन। तर स्थानीय स्तरमा भने यस्तो गतिविधि भइरहेको चर्चा व्यापक रहेको छ।

नेपालमा कवाडी सामान प्रशोधन गरेर नयाँ सामान उत्पादन गर्ने दर्जनौं उद्योग सञ्चालनमा छन्। ती उद्योगहरूले देशभित्रै संकलन हुने कवाडी सामग्री प्रयोग गरेर फलामजन्य वस्तु तथा अन्य सामग्री उत्पादन गर्दै आएका छन्।तर सीमाबाट अवैध रूपमा कवाडी निकासी हुने क्रम बढ्दै जाँदा ती उद्योगहरू कच्चा पदार्थको अभावमा पर्न थालेका उद्योगीहरूको भनाइ छ।एक उद्योगीका अनुसार, “यदि यही अवस्था जारी रह्यो भने धेरै उद्योग बन्द हुने अवस्थामा पुग्नेछन्। हजारौं श्रमिकको रोजगारी संकटमा पर्नेछ।”उनका अनुसार नेपालमै प्रयोग हुनुपर्ने कच्चा पदार्थ तस्करी भएर भारत पुग्दा स्वदेशी उद्योगहरू कमजोर बन्दै गएका छन्।

कवाडी सामानको अवैध निकासीका कारण राज्यले ठूलो मात्रामा राजस्व गुमाइरहेको छ। वैधानिक प्रक्रिया अपनाएर निर्यात गर्दा सरकारले राजस्व पाउने भए पनि तस्करीमार्फत निकासी हुँदा राज्यलाई प्रत्यक्ष घाटा पुगिरहेको सरोकारवालाहरू बताउँछन्।अर्थतन्त्र कमजोर भइरहेको वर्तमान अवस्थामा यस्तो तस्करीले राष्ट्रिय अर्थतन्त्रलाई समेत नोक्सान पु¥याइरहेको उनीहरूको भनाइ छ।

स्थानीयले सीमा क्षेत्रमा खटिएका प्रहरीको भूमिकामाथि पनि छानबिन हुनुपर्ने माग गरेका छन्।एक स्थानीय अगुवा भन्छन्, “सरकारले तत्काल छानबिन समिति गठन गरेर वास्तविकता बाहिर ल्याउनुपर्छ। दोषी जोसुकै भए पनि कारबाही हुनुपर्छ।”नेपाल–भारत खुला सीमाका कारण साना नाकाहरूबाट हुने तस्करी नियन्त्रण गर्न चुनौतीपूर्ण रहेको सुरक्षा निकायका अधिकारीहरू बताउने गर्छन्। तर स्थानीय बासिन्दाहरू भने इच्छाशक्ति भए यस्ता गतिविधि रोक्न कठिन नहुने बताउँछन्।

सम्बन्धित समाचार