आफ्नो कार्यक्षमता देखाउँदै इतिहासकै सफल आईजीपी बने कार्की

6.3k Shares

काठमाडौं । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सिर्जिएको अत्यन्त जटिल परिस्थितिमा नेपाल प्रहरीलाई जोगाउने निर्णय गरेका भन्दै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीको भूमिकाबारे अहिले व्यापक चर्चा भइरहेको छ । 
जाँचबुझ आयोगले केही प्रशासनिक सिफारिस गरे पनि घटनाको वास्तविक सन्दर्भले भने कार्कीको निर्णय प्रहरी संगठन जोगाउने रणनीतिक कदम भएको देखिएको छ ।
जेन–जी आन्दोलनका क्रममा देशभर हिंसात्मक अवस्था सिर्जना भएको थियो । प्रदर्शनकारीहरूले सिंहदरबार, नेपालको सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयलगायत राज्यका महत्वपूर्ण संरचनामाथि आक्रमण र आगजनी गरेका थिए । दुई दिनसम्म चलेको उक्त घटनामा ७६ जनाको ज्यान गएको थियो भने सुरक्षा निकायमाथि व्यापक दबाब परेको थियो ।
त्यतिबेला चार एआईजीहरु मध्ये कोहीले बिरामीको बहाना त कोहिले  उपत्यकाको कमाण्ड लिन नमानेपछि नेपाल प्रहरीको साख जोगाउन तत्कालीन एआईजी दानबहादुर कार्कीले उपत्यकाको कमाण्ड गरेका थिए । भदौ २४ गते विहान  ११ बजेबाट उपत्यकाको सुरक्षा कमान्ड सम्हालिरहेका तत्कालीन एआईजी कार्कीले प्रहरीको जनधन जोगाउने उद्देश्यले संयमित रणनीति अप्नाएका थिए । उनले ‘आफू सुरक्षित रहनू, हतियार जोगाउनू र अनावश्यक रूपमा गोली नचलाउनू’ भन्ने निर्देशन दिएका थिए । सुरक्षा विश्लेषकहरूका अनुसार उत्तेजित भीडमा गोली चलाइए ठूलो जनधनको क्षति हुने जोखिम भएकाले संयमता अप्नाउनु जिम्मेवार नेतृत्वको संकेत हो ।
प्रहरी ‘चेन अफ कमान्ड’ प्रणालीमा सञ्चालन हुने संस्था भएकाले कार्कीले तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग समन्वय गरेर निर्णय गरेका थिए । त्यसैले जाँचबुझ आयोगले पनि उनलाई मुख्य दोषी नभई सहायक जिम्मेवारीमा राख्दै सामान्य ‘नसिहत’को सिफारिस मात्र गरेको छ ।
बरु संकटका बेला प्रहरीलाई सुरक्षित राख्ने प्रयासमा कार्कीको भूमिका सकारात्मक देखिएको आयोगकै प्रतिवेदनमा उल्लेख छ । विशेषगरी महाराजगञ्ज प्रहरी कार्यालयमा आक्रमणपछि फसेका प्रहरीको उद्धारका लागि सेनाको हेलिकप्टर प्रयोग गरेर उद्धार गराउने काममा उनको सक्रिय भूमिका रहेको उल्लेख गरिएको छ ।
जेन–जी आन्दोलनपछि केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भई सुशीला कार्कीको नेतृत्वमा नागरिक सरकार गठन भएको थियो । सो सरकारले गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। 
सुरक्षा जानकारहरूका अनुसार अत्यन्त तनावपूर्ण अवस्थामा पनि प्रहरी संगठनलाई पूर्ण विघटन हुन नदिई संरचना जोगाउनु नेतृत्वको ठूलो उपलब्धि मानिन्छ । भीड नियन्त्रणका क्रममा गोली चलाउने निर्णय सजिलो भए पनि त्यसले ठूलो मानवीय क्षति निम्त्याउन सक्थ्यो । त्यसैले संयमित रणनीतिले ठूलो रक्तपात टार्न मद्दत गरेको धेरैको विश्लेषण छ ।
यसै कारण धेरै प्रहरी अधिकारी र सुरक्षा विश्लेषकहरूले आईजीपी कार्कीको निर्णयलाई संगठन र जनजीवन दुवै जोगाउने प्रयासका रूपमा लिएका छन् । कठिन परिस्थितिमा पनि संगठनको मनोबल जोगाउँदै रणनीतिक निर्णय लिन सक्ने नेतृत्वका रूपमा कार्कीलाई इतिहासकै सफल प्रहरी प्रमुखमध्ये एक मान्ने आवाजहरू पनि बढिरहेका छन् ।

सम्बन्धित समाचार