९८ करोडको ‘अमेरिका सपना’ ठगी काण्ड ः  २५० नेपाली अलपत्र, दुबईबाट पक्राउ परेका बस्नेतसहित दुई विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा

2.4k Shares

काठमाडौं । अमेरिका पठाइदिने प्रलोभन देखाएर करिब २५० जना नेपालीबाट करोडौँ रुपैयाँ असुली गरेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ। अनुसन्धान प्रतिवेदनका आधारमा मंगलबार जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा अभियोग दर्ता गरेको हो।मुद्दा दायर हुनेमा रुकुमपश्चिम बाफिकोट गाउँपालिका–२ घर भई काठमाडौं बस्दै आएका कलबहादुर बस्नेत र रुकुमपूर्व सिस्ने गाउँपालिका–५ घर भई काठमाडौं बस्दै आएका अमित बस्नेत रहेका छन्। दुवैले मिलेर ठूलो संख्यामा व्यक्तिलाई अवैध बाटोबाट अमेरिका पठाउने भन्दै रकम उठाएको, कतिपयलाई विभिन्न देश हुँदै अलपत्र पारेको तथा कतिपयलाई गन्तव्यमा नपु¥याई सम्पर्कविहीन भएको आरोप छ।
दुबईबाट पक्राउ, डिल्लीबजार कारागारमा थुनामा
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार मुख्य योजनाकार मानिएका कलबहादुर बस्नेत हाल पुर्पक्षका लागि थुनामा छन्। उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन क्ष्लतभचउय ि(इन्टरपोल) को समन्वयमा गत भदौ महिनामा दुबईबाट पक्राउ गरी नेपाल ल्याइएको थियो। पक्राउपछि उनीविरुद्ध मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा चलाइएको छ र हाल उनी डिल्लीबजार कारागारमा थुनामा छन्।अर्का प्रतिवादी अमित बस्नेत भने फरार अवस्थामा रहेका छन्। उनलाई फरार अभियुक्तका रूपमा मुद्दा अघि बढाइएको जनाइएको छ। प्रहरी स्रोतका अनुसार उनको खोजी तीव्र पारिएको छ र आवश्यक परे अन्तर्राष्ट्रिय संयन्त्रमार्फत खोजी प्रक्रिया अघि बढाइने तयारी छ।
‘डंकी रुट’ र भिसा प्रलोभन
अनुसन्धानमा संलग्न अधिकारीका अनुसार आरोपितहरूले अमेरिका पठाउने नाममा ‘सेटिङ भिसा’, ‘स्टुडेन्ट भिसा’, ‘टुरिस्ट भिसा’ र अवैध ‘डंकी रुट’ जस्ता विभिन्न उपायको प्रलोभन दिएका थिए। प्रतिव्यक्ति ३० लाखदेखि ५० लाख रुपैयाँसम्म असुली गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।पीडितहरूलाई भारत, दुबई, कतार, टर्की, मेक्सिकोलगायत विभिन्न मुलुक हुँदै अमेरिका प्रवेश गराइने आश्वासन दिइएको थियो। तर कतिपय पीडितहरू बाटोमै अलपत्र परेका, केहीलाई विदेशी सुरक्षा निकायले नियन्त्रणमा लिएको तथा केही आफन्तको सहयोगमा स्वदेश फर्किएको विवरण प्रहरीसमक्ष आएको छ।
बैंक खातामा ९८ करोडभन्दा बढी ‘शंकास्पद’ कारोबार
प्रहरीले बैंक खाताको विस्तृत परीक्षण गर्दा चकित पार्ने तथ्य फेला पारेको जनाएको छ। कलबहादुर बस्नेतको खाताबाट ७० करोड ६० लाख ५३ हजार ७२२ रुपैयाँ बराबरको शंकास्पद कारोबार देखिएको छ। यस्तै अमित बस्नेतको खाताबाट २७ करोड ४५ लाख २९ हजार २८ रुपैयाँ बराबरको कारोबार भएको पाइएको छ।दुवैको संयुक्त रूपमा ९८ करोड ५ लाख ८२ हजार ७५१ रुपैयाँ बराबरको अवैध आर्थिक कारोबार पुष्टि भएको दाबी अनुसन्धान निकायले गरेको छ। सोही आधारमा बिगो कायम गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरअन्तर्गत पनि मुद्दा दायर गरिएको हो।अनुसन्धान अधिकारीहरूका अनुसार रकम विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको, केही रकम नगद झिकिएको र केही अचल सम्पत्तिमा लगानी गरिएको प्रारम्भिक संकेत भेटिएको छ। सम्पत्ति जफत तथा रोक्का प्रक्रियासमेत अघि बढाइएको जनाइएको छ।
मानव बेचबिखन र सम्पत्ति शुद्धीकरण दुबै आरोप
सरकारी वकिल कार्यालयले दुवै प्रतिवादीविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोग दर्ता गरेको जनाएको छ। मानव बेचबिखन ऐनअनुसार दोषी ठहर भएमा २० वर्षसम्म कैद र जरिवानासहित सजाय हुनसक्छ।सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा भने अवैध रूपमा आर्जित रकम जफत हुनुका साथै थप कैद सजायसमेत हुने कानुनी प्रावधान छ। यस प्रकरणमा ९८ करोडभन्दा बढी रकम बिगो कायम गरिएकाले अदालतबाट ठहर भएमा सम्पूर्ण सम्पत्ति जफत हुने सम्भावना छ।
२५० भन्दा बढी पीडितको बयान
मानव बेचबिखन अनुसन्धान ब्युरोले हालसम्म करिब २५० जनाको बयान लिइसकेको जनाएको छ। केही पीडितहरूले अमेरिका पुग्न नसकेको, केही महिनौँसम्म तेस्रो मुलुकमा बन्दीसरह राखिएको, खानबस्न समस्या भएको र थप रकम माग गरिएको गुनासो गरेका छन्।एक पीडितले प्रहरीसमक्ष दिएको बयानअनुसार “अमेरिका नपुगेसम्म घरपरिवारसँग सम्पर्क नगर्नू, सबै प्रक्रिया मिलिसकेको छ” भन्दै आश्वस्त पारिएको थियो। तर महिनौँसम्म विभिन्न देशमा घुमाइराखेपछि थप रकम मागिएको र अन्ततः आफू अलपत्र परेको उनले बताएका छन्।अनुसन्धान अधिकारीहरूका अनुसार यो प्रकरण केवल दुई व्यक्तिसम्म सीमित नभई संगठित सञ्जालको आशंका छ। विदेशस्थित एजेन्ट, ट्राभल डकुमेन्ट मिलाउने समूह, बैंकिङ माध्यम र स्थानीय एजेन्टहरूको भूमिका रहेको हुनसक्ने प्रारम्भिक निष्कर्ष छ।प्रहरीले अन्य संलग्न व्यक्तिहरूको खोजी र अनुसन्धान जारी रहेको जनाएको छ। आवश्यक परे थप व्यक्तिविरुद्ध पनि मुद्दा दायर गरिने संकेत दिइएको छ।
वैदेशिक रोजगारीको नाममा बढ्दो ठगी
पछिल्लो समय वैदेशिक रोजगारी र अमेरिका प्रवेशको आकर्षणलाई प्रयोग गरी ठगीका घटनाहरू बढ्दै गएका छन्। बेरोजगारी, आर्थिक अभाव र ‘अमेरिकन ड्रिम’ को मोहका कारण युवाहरू उच्च जोखिम मोलेर अवैध बाटो रोज्ने प्रवृत्ति बढ्दो छ।सुरक्षा निकायका अनुसार अवैध आप्रवासनसँग सम्बन्धित गिरोहहरू सामाजिक सञ्जाल र व्यक्तिगत सम्पर्कमार्फत ‘विश्वसनीय’ छवि बनाउँदै ठूलो रकम असुली गर्ने गरेका छन्। तर अन्ततः पीडितहरू कानुनी र आर्थिक दुवै समस्यामा फस्ने गरेका छन्।अब यो बहुचर्चित ९८ करोडको ‘अमेरिका सपना’ ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतको प्रक्रिया निर्णायक हुने देखिएको छ। अभियुक्तहरू दोषी ठहर भएमा यो पछिल्लो समयकै सबैभन्दा ठूलो मानव बेचबिखन तथा सम्पत्ति शुद्धीकरण काण्डमध्ये एक बन्ने अनुमान गरिएको छ।प्रहरीले भने सर्वसाधारणलाई आकर्षक प्रलोभनमा नपर्न, आधिकारिक प्रक्रिया र वैधानिक माध्यममार्फत मात्र विदेश जान आग्रह गरेको छ। साथै, यस्ता गतिविधिबारे जानकारी भएमा तुरुन्तै सुरक्षा निकायलाई सूचित गर्न अपिल गरिएको छ।२५० भन्दा बढी नेपालीको सपना र ९८ करोड रुपैयाँभन्दा बढीको आर्थिक लेनदेनसँग जोडिएको यो प्रकरणले वैदेशिक रोजगारीको नाममा हुने ठगीको भयावह रूप पुनः उजागर गरेको छ।

सम्बन्धित समाचार